बनियानी : नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनताको प्यारो हुन काङ्ग्रेसले काङ्ग्रेसलाई राम्रो देख्नुपर्ने बताउनुभएको छ । काङ्ग्रेस शिवसताक्षी नगर समन्वय समितिले आयोजना गरेको ‘दशैँ, तिहार एवं छठ पर्वको शुभकामना तथा ज्येष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रम’मा उहाँले काङ्ग्रेसले काङ्ग्रेसलाई राम्रो नदेखेसम्म जनताको प्यारो हुन नसक्ने बताउनुभयो । प्रवक्ता शर्माले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिले जसरी नै शेरबहादुर देउवा र रामचन्द्र पौडेल मिल्नुपर्नेमा जोड दिनुभयो । “एकअर्काको आलोचना नगरी टीम स्पिरिट बनाएर अघि बढे काङ्ग्रेस बलियो पार्टी बन्छ”, उहाँले भन्नुभयो । कार्यक्रममा १७० जना ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिएको थियो । नगर संयोजक पर्शुराम ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेस महासमिति सदस्य देउमान थेवे, भक्ति सिटौला, काङ्ग्रेस नेता ओम सरावगीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।