भर्खरै त, बिबशताको चितामा आफ्नै हातले, कलिला रहरहरुका काँचा दाउरा ठोसेर जिन्दगीका यी कहिल्यै नफर्किने यौबन र यौबनका कुमारी सपनाहरु जलाएर आएको छु यस्तो बेला तिमी नभन प्यारी मलाई फर्की आउ घर ।।
भर्खरै त, गाउँखाने कथा सुनाउँदै बहने गाउँको खोला छोडेर आएको छु, बाका आँखामा गरिबीको चन्द्रग्रहण देखेर आएको छु, आएको छु, आमाको मुहारमा दिर्घरोगका बादल बैनिको फाटेको फरियामा देशको बर्तमान फि तिर्न नसकेर कलेज छुटेको भाईको गोजिमा आधा उधि च्यातिएको देशको नक्सा बुझ पचाएर आएको छु तिम्रा फाटेका चोलिमा आबाराहरुका प्यासी आँखा भर्खरै त उम्लिएको मुटु साहुलाई बन्धक राखेर आएको छु रित्तो ज्यान लिएर परदेश ।
भर्खरै त, आँशुले भिजाएर आधा रोटि खान सिकेको छु घाम ओच्छ्याएर तातो बालुवामाथी अर्को सालसम्ममा घर छाउने पैसा जम्मा गर्ने योजना बनाउँदै छु घर फर्कँदा, थोत्रै भएपनि मोटरसाइकल किनेर तिमिलाई पछाडी राखेर ससुराली जाने सपना देख्दैछु । बाका आँखाका चन्द्रग्रहण, आमाका मुहारका बादल फारेर-उज्यालो घाम उदाउने सपना देख्दैछु छिमेकिले झै बैनिले लगाउनेछिन् कोरियन जिन्स् देशको नक्सा बदल्न भाइ जानेछ युद्धमोर्चामा ।
यति सपनाहरुका बिच भर्खरै त पहिलो महिनाको तलब बुझेर फर्कँदैछु मरुभुमिको अमुक शहरको अँध्यारो गल्लिमा
यस्तो समयमा तिमी नभन मलाई -फर्की आउ घर।
अहँ, म आउन सक्तिन मेरा यतिका सपना पूरा गर्न, खर्चिनु पर्नेछ मैले जवानी तुहाउनु पर्नेछ तिमिले पनि गर्भ- रंगिन सपनाको ।
गरिबिले मुड्कि बजारेथ्यो बाको छातिमा आमाको जवानीमा साहुले आँखाको शल्यक्रिया गरेथ्यो दाजुलाई सहिद बनाएथ्यो बर्गयुद्धको गोलिले प्यारी, पहरामा उम्रेको बुट्टयानले देख्नु हुन्न सपना गमलाको पहरामै फैलनु पर्छ, अभाबको पहाडमै फुलाउनु पर्छ जीबनको लालिगुराँस ।
हामी पहाडमै फुल्नु पर्छ, उकालाहरु नै चढ्नु पर्छ, खोलाकै पानी पिउनु पर्छ आफ्नै आँगनमा सुर्यमुखी झुलाउनु पर्छ आफ्नै संघर्षले घरमा बार्दली हाल्नु पर्छ, बार्दलिमै झर्नेछ जून जून टिपेर छोराले खेल्नेछ आफ्नै आँगनमा- बालसुलभ खेल
यति धेरै सपना पूरा गर्न म आएको छु युद्ध गर्न आफ्नै गरिबीसंग समयको अदलतले हेर त फैसला गरिदियो म जाउँ बिदेश, पोखुँ- बालुवामा आशा खेतिको भ्रुण जोतिँदा जोतिंदै घामको देशमा अस्ताउन पनि सक्छ मेरो जवानी या अस्ताउन पनि सक्छ तिम्रो आशाको जून प्यारी सक्छौ- पर्खी बस्नु सक्दिनौ- अर्को घरबार जोड्नु ।
तर सक्तिन म फर्की आउन घर भर्खरै त, म आफ्नै रहरहरुको मलामि गएर आएको छु । अजित क्षेेत्री पोखरा