मुक्तक-१
तिम्रो होस्टे मेरो हैसे लेख्दालेख्दै गीत बन्यो तिम्रै यादमा खसे मोती सिरानीमा शीत बन्यो कहाँबाट सुरु भयो कहाँ पुगि अन्त्य होला? शब्दसँग खेल्दाखेल्दै दुई अक्षरको प्रीत बन्यो!
मुक्तक-२
सिरेटोले सेकिरहँदा बोलीमा न्यानो घाम आउँदैन भने केका लागि साँचिराख्नु अफ्ठ्यारोमा काम आउँदैन भने यस्ता बनावटी सम्बन्ध जोगाउनु भन्दा त मास्नु नै जाती जटिल अवस्थामा सहानुभूतिको खाम आउँदैन भने!!
मुक्तक-३
भित्र सामान जस्तो होस् आकर्षक त खोल देखिन्छ तेलको चाहना भएपछि सपनामा पनि कोल देखिन्छ अस्वस्थ आलोचना गरेर उचाइ खोज्नेहरूले बुझ्नु खासमा साँघुरो दृष्टिकोणबाट सानै भूगोल देखिन्छ!
मुक्तक-४
आउने सबै समस्यासँग भिड्ने बानी छ बाटो छेक्ने तगाराहरू गिँड्ने बानी छ नदेखाउनु कुनै डर कमजोर सोचेर कसैले सिसामाथि खाली खुट्टा हिँड्ने बानी छ!!
मुक्तक-५
केही अधुरा होलान् तर केही भने पूरा पक्कै छ्न् कुनै हातमा चुरा छन्छन् कुनै हातमा छुरा पक्कै छन् नजिक हुनुको मतलब कहाँ हो र सबै बिर्सनु पनि दृष्टि साँघुरा हैनन् बिचमा निषेधित कुरा पक्कै छन्! मिना चौलागाईं काभ्रे- पाँचखाल