Breaking News

कतारकी राजकुमारी आस्मा मनास्लु हिमालकाे तेस्राे आधार शिविर पुगिन

By मनासलु

September 27, 2021

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले गोरखाको मनास्लु हिमाल आरोहण गर्ने  क्रममा तेस्राे आधार शिविर पुगेकि छन् ।  राजकुमारी आस्माले ८,१६३ मिटर अग्लो मनास्लु सोमबार आरोहण गर्ने  क्रममा अहिले मनास्लुको तेस्रो शिविरमा अभ्यास गरिरहेकाे  उनलाई आरोहण गराउने कम्पनी इलाइट हिमालय एड्भेञ्चरले जनाएको छ।

‘आस्मा अल थानी अहिले क्याम्प ३ मा हुनुहुन्छ। उहाँले सोमबार बिहान आरोहण गर्दै हुनुहुन्छ’, इलाइट हिमालय एड्भेञ्चरका कुशल बुढाथोकीले भने, ‘उहाँ लगायतका टिमको गाइडका लागि कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पा, निर्मल पुर्जा र मिङ्मा तेञ्जिङ शेर्पा खटिनु भएको छ।’ टिममा ३२ जना आरोही रहेको उनले बताए।

राजकुमारी अल थानी विश्वका सात महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्यसहित सगरमाथा आरोहणका लागि गत वसन्त ऋतुमा नेपाल आएकी थिइन्। मौसम प्रतिकूल भएपछि अहिले मनास्लु आरोहणको क्रममा रहेकी हुन्।

यसअघि उनले दक्षिण अमेरिकाको ६,९६९ मिटरको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५,८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरिसकेकी छिन् ।

याे खबर अन्नपूर्ण पाेष्टले लेखेकाे हाे ।