Breaking News

रेडक्रसले गरायाे ५५ वर्षपछि पारिवारिक पुनर्मिलन

By मनासलु

October 06, 2021

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाका गंगबहादुर गुरुङको ५५ वर्षपछि परिवारसँग पुर्नमिलन भएको छ ।

बि.स. २०२३ मा २० बर्षको उमेरमा घर छाडेका ७६ वर्षीय गुरुङ घर फर्किएपछि परिवार र आफन्तमा खुसीयाली छाएको छ । कैलालीको चुरे गाउँपालिका–३ मत्स्य भन्ने ठाउँमा बस्दै आएका गुरुङलाई भतिज शेरबहादुरले मंगलबार जन्मथलोमा ल्याएर आएका छन् ।

सामाजिक सञ्जाल ‘फेसबुक’मा ठूलो बुवाको तस्बिर देखेपछि करिब दुई महिनाको प्रयासपछि पहिचान गरेर घर ल्याएर आएको शेरबहादुर बताए । “फेसबुकमा तस्बिर देखेपछि हराएका ठुलोबुवालाई पहिचान गरेर ल्याएर आएको हो,” शेरबहादुरले भन्नुभयो “हामी नजन्मदै घर छाडेर जानुभएका ठुलोबुवालाई जिबितै भेटाउँदा खुसी छौ ।”

भरिया काम गर्ने क्रममा बुटवल पुगेका जंगबहादुरको पुर्व–पश्चिम राजमार्ग निर्माण कार्यमा मजदुरको रुपमा काम गर्दै डडेलधुरा सम्म पुग्नुभयो । डडेलधुराको पहाडमा सडक निर्माण गर्दा गुरुङले बिस्फोट गराउने बलास्टरको काम गर्नुभएको थियो । उहाँ सानै देखि डकर्मी पेशामा सिपालु थिए

“सडक आयोजनाको काम सकिएपछि अलपत्र परेको थिए । यस क्षेत्रको एक्लो भएकाले त्यतीबेला घर फर्कने मेसो आएन्,” उहाँले भन्नुभयो “कैलालीका नरबहादुर शाहीका परिवारले संरक्षण गरेर राखे।” अत्तरीयामा ब्यवसाय गर्दै आएका शाही परिवारले गुरुङलाई पहाडको घर र खेतबारीको संरक्षण गर्ने जिम्मेवारी दिएका थिए  ।

त्यसअघि गुरुङलाई सात वर्ष आश्रय दिएका नरबहादुरका आफन्तले नागरिकता समेत दिलाईदिएका थिए । बुढेशकाल लागेपछि आफ्नो घर जाने र आफन्तलाई भेट्ने इच्छा राखेपछि मत्स्य गाउँका चक्रबहादुर खत्रीले गत साउन अन्तिम सातातिर सामाजिक सञ्जालमा गुरुङको तस्बिर र बिबरण सार्वजनिक गरेका थिए

रेडक्रस सोसाइटीको खोज तथा उद्धार केन्द्र मार्फत म्याग्दीमा गंगबहादुरको परिवार खोजी गरिएको थियो । सम्पर्कमा आएका आफन्त र गंगबहादुरबीच पहिलो चरणमा टेलिफोनमा कुराकानी गराइएको थियो ।

करिब ६० वटा आफन्तको नाम, पारिवारिक पृष्ठभूमि, तत्कालिन गाउँको अवस्था, छिमेकी आदीका बारेमा सोधेको प्रश्नमा जंगबहादुरले दिएको जवाफ मिलेपछि एकिन गरिएको थियो । थामडाडाका स्वर्गीय बलबिर गुरुङका चार भाई छोरा मध्य गंगबहादुर माइला हुनुहुन्छ ।

नेपाल रेडक्रस सोसाइटीको म्याग्दी र कैलाली शाखाको समन्वयमा गुरुङलाई परिवारमा पुर्नमिलन गराइएको म्याग्दी शाखाका सभापति लेखबहादुर हमालले बताउनुभयो । “यस्तो अनौठो पारिवारिक पुर्नमिलनको घटना बिरलै हुने गर्छ,” उहाँले भन्नुभयो “गंगबहादुरलाई कैलाली लिन जान र फर्कदाको खर्च ब्यवस्थापन गरेका छौ ।”

गंगबहादुरलाई मत्त्य गाउँका वडा अध्यक्ष लगायत जनप्रतिनिधी र गाउँलेहरुले कार्यालयमै औपचारिक कार्यक्रम गरेर बिदाई गरेका थिए । मत्स्य गाउँका सबैको घरमा पुगेर बिदाई भएका गुरुङले अत्तरीया पुगेपछि आफूलाई आश्रय दिने शाही परिवारलाई नभेटी आउन मान्नुभएको थिएन् ।

भतिजले शाही परिवारलाई धन्यवाद दिएर बिदाई गराएपछि मात्रै बेनी आउन मानेको बताउनुभयो । गंगबहादुरले बिवाह गर्नुभएको छैन् । विवाह गर्ने इच्छा राखे गराउन सकिने उनले बताए ।  ठूलोबुवालाई आफ्नै घरमा स्याहार सुसार गरेर पाल्ने शेरबहादुरले बताए ।

रेडक्रस म्याग्दी शाखाका अधिकृत धनञ्जयकुमार श्रेष्ठले रेडक्रसले बिभिन्न कारणले हराएका ब्यक्तिहरुको खोजी गरेपनि बिरलै घटनामा सफलता मिल्ने र पारिवारिक पुर्नमिलन भएको बताउनुभयो । रेडक्रसले समयम सोधखोज गरेकाले गुरुङले जिबनको अन्तिम क्षणमा भएपनि आफन्त र जन्मथलोमा आउन पाएका श्रेष्ठले बताए ।