Breaking News

सुत्केरी महिलाका लागि प्रदान गरिने पाेषण आहारकाे बजेट गाेरखा नगरपालिकाद्वारा कटाैती

By मनासलु

February 04, 2022

गोरखा ।  जिल्ला स्थित गोरखा नगरपालिका गोरखाको आठाैँ  नगरसभाले तय गरेका  बिभिन्न ७६ वटा योजनाको बजेट रकमान्तरण गरेको छ । स्थानीय तहकाे समयावधि सकिनै लाग्दा आयाेजना भएकाे नवाैँ नगरसभाले बर्थिङ सेन्टरमा सुत्केरी गराए बापत पौष्टिक आहार बितरणका लागि बिनियोजन गरिएको कार्यक्रमको बजेट रकमान्तर गरी आफ्ना पार्टीका शुभचिन्तकहरुलाइ दिने गरी बृतचित्र निर्माण गर्न नगरपालिकाले रकमान्तरण गरेको छ । त महिला सिप बिकास कार्यक्रमको बजेट पनि नगरपालिका बृतचित्र निर्माणका लागि रकामन्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नगरपालिकाको वडा नम्बर ४ मा २०७४ देखि ०७८ सम्म भएका कामको बृतचित्र निर्माणका लागि सुत्केरी षोषण कार्यक्रम र महिला सिप बिकास कार्यक्रमको बजेट समेत कटौती गरेको हो । नगर कार्यपालिकाले बिभिन्न योजनाबाट कुल १ करोड ८५ लाख ५३ हजार रुपैया बराबरको बजेट रकम रकामन्तरण गरेको पन्तले बताए। नगरसभामा नगरप्रमुख राजनराज पन्तले उक्त याेजना पेश गरेका थिए । एकल पार्टीकाे बहुमत रहेकाे कार्यपालिकाले ताली पड्काएर उक्त याेजनाहरु पारित गरिएकाे कार्यपालिका सदस्यले बताएका छन् ।

रकमान्तर गरिएका योजनाहरु दलित सिपमुलक कार्यक्रमदेखि लिएर सडकबाटो निर्माण, गोरेटो बाटो निर्माणका योजनाको बजेट रहेको नगरसभामा पेश गरिएको प्रस्तावमा उल्लेख छ । नगरसभाले नगरपालिकाको वडा नम्बर १ अन्तर्गत वडास्तरीय ४ वटा र नगरपालिका स्तरीय २ वटा योजनाको बजेट रकमान्तरण गरेको छ । त्यस्तै वडा नम्बर २ को वडास्तरीय ८ वटा, नगरस्तरीय १ वटा, वडा नम्बर ३ को वडास्तरीय ४ वटा, नगरस्तरीय २ वटा योजनाको बजेट रकामान्तर गरेको हो ।

वडा नम्बर ४ वडास्तरीय ९ वटा, वडा नम्बर ५ को नगरस्तरीय र वडा स्तरीय गरी दुई वटा योजना, वडा नम्बर ६ को वडास्तरीय ५ वटा र नगरस्तरीय एउटा योजनाको बजेट रकमान्तरण गरेको छ । नगरपालिकाले वडा नम्बर ७ को वडास्तरीय २ वटा, वडा नम्बर ८ को वडास्तरीय ८ वटा, नगरस्तरीय क्रमागत सहित ४ वटा, वडा नम्बर ९ को वडा स्तरीय ५ वटा, वडा नम्बर १० को वडास्तरीय र नगरस्तरीय गरी ३ वटा वडा नम्बर ११ को वडास्तरीय २ वटा र नगरस्तरीय क्रमागत एउटा योजनाको बजेट रकामान्तरण गरेको हो ।

वडा नम्बर १२ को वडास्तरीय ५ वटा, वडा नम्बर १३ को वडास्तरीय एउटा र वडा नम्बर १४ को वडास्तरीय ३ र नगरस्तरीय ३ वटा योजनाको बजेट रकमान्तरण गरेको हो । नगरसभाको तयारीका लागि बिहिबार बसेको नगर कार्यपालिकाको बैठकमा बिभिन्न ६ वटा वडाका वडाध्यक्षहरुले नगरप्रमुख राजनराज पन्तले एकलौटी रुपमा ८ औं नगरसभाबाट पारित योजनाहरु कटौटी गरी बजेट रकामान्तरण गरेको भन्दै बैठक समेत बहिस्कार गरेका थिए ।

रकमान्तरण गरिएको बजेट  टुक्रे तथा वितरणमुखी योजनामा बिनियोजन गरिएको हाे । थुप्रै नमुना सडकहरु निर्माणका लागि बजेट रकमान्तर भएकाे नगरपालिकाले जनाएकाे छ ।  यस अघिका सभाबाट बनेका अधिकाँश याेजनाहरु समेत कार्यकर्ता मुखि भएकाे, आफूलाइ भाेट नदिनेलाइ नगरप्रमुखले जनता नमानेकाे गुनासाे नगरपालिका भित्रका नागरिकहरुले गर्दै आएका छन् ।