Breaking News

लाप्राकमा मकै विवाह सम्पन्न

By मनासलु

February 19, 2022

फागुन । विवाहकाे लगन माैका पारी गाेरखा जिल्लाकाे धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकमा मकै विहे पर्व मनाइएकाे छ । मकैकाे विहे नगरी बारीमा राेप्न नहुने धारणा यस क्षेत्रका नागरिकहरुमा रहेकाे छ । यस वर्ष समयमै मकै विहे भएकाे कारण चाँडाे गरी मकै राेप्नेहरुका लागि सहज भएकाे वडा अध्यक्ष राज गुरुङ बताउँछन् । मकै विहेमा गाउँभरीका नागरिकहरु जन्त जाने मकैबाट बनेका परिकारहरु खाने गर्दछन् । विधिवत रुपमा मकैकाे पूजा गरी विहे गरेपछि मकै राेप्ने कार्य सुरु हुन्छ ।

यस क्षेत्रकाे मुख्य बालिकाे रुपमा मकै रहेकाे छ । प्रकृति अर्थात वाेन धर्माबलम्बीहरुका पुजारीले मकै विहेमा पुजारीकाे काम गर्दछन् । विवाहका दिन सबेरै गाउँका मानिसहरु लाप्राक स्थित ठूलोआँगनमा भेला हुन्छन् ।  सिंगारिएका  बालकलाई डोलीमा राखेर ढ्याङ्ग्र्रो, मादल र झ्याली लगायतका बाजागाजासँगै जन्ती जाने गर्छन् । ठूलो आँगनबाट मनिडाँडा हुँदै केही पर जंगलमा बेहुली घरका रुपमा बनाएको अर्काको सानो झुप्रोमा कन्या राखेको ठाउँमा जन्ती पुग्छ ।

जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँ परिक्रमा गर्छन् । जन्ती जाने क्रममा प्रत्येक घरका मानिसहरुले घरमा रहेकाे सबै भन्दा ठूलाे घाेघा मकै लिएर जानुपर्दछ ।  जन्तीले ल्याएका मकैलाइ एकै ठाउँमा जम्मा गरेर चाेख्याइन्छ र साँँझ नाचगान गरी उक्त मकै भुटेर खाने चलन रहेकाे छ । पहिलेदेखि चलिएकाे सँस्कृति भएकाले बर्षेनी मनाउने गरिएकाे वडा अध्यक्ष गुरुङकाे भनाइ छ ।