राजनीति

विप्लव नेकपा परित्याग गर्दै केन्द्रीय सदस्यदेखि दर्जनौं केन्द्रीय नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश (नामावलीसहित)

By मनासलु

April 14, 2022

देवीदत्त शर्मा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। आज बिहीबार खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरु, संविधान सभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जन बढी नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा श्रवण, मुक्ति, राप्ती, पूर्व जिल्ला इन्चार्च तथा व्यूरो सदस्य पुकार, घाइते अपांग योद्धा संघका पर्वत, पूर्व ब्यूरो सदस्य तथा संविधान सभा सदस्य आवश्यकता, पूर्व ब्यूरो सदस्य क्षितिज, पूर्व बटालियन कमाण्डर बिहानी, पूर्व कम्पनी कमाण्डर करण, सोपान, रविन, मोहित, वकिल जनक सिंह, पूर्व ब्यूरो सदस्य दोभान रहेका छन् ।

त्यसैगरी दलित मोर्चाका पूर्व अध्यक्ष कृष्ण बिक, शिक्षक संगठनका रण ब. भण्डारी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य दीपक भण्डारी, पूर्व कम्पनी भिसी तुफान, संगम, राजकुमार, जिल्ला सदस्य पार्टी भक्त वयक, पूर्व प्लाटुन कमाण्डर विष्णु तिमिल्सिना, सर्वजित रावल, ममता बोहरासहित कैलालीबाट १३ जना जिल्ला कमिटी सदस्यहरु इश्वरी चन्द, गंगा सिंह, जानकी तिमिल्सिना, राज बहादुर बुढा, धादिङका पूर्व जिल्ला सदस्य बुद्ध गुरुङ, रसुवा पूर्व जिल्ला सदस्य चेरोङ तामाङ, विशेष फोर्स सदस्य देवा लामा, नेकपा माओवादी केन्द्र समाजवादी पोलिटब्यूरो सदस्य ज्ञानु बम र केन्द्रीय सदस्य हरि नेपाली रहेका छन् ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले जनयुद्दकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको बताउनुहुँदै अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीति अन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए ।

पार्टीमा अन्तरविरोध भए पनि पार्टी विभाजन गल्ती भएको बताउँदै जनयुद्धको गौरव बोकेका सबै माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्टबीच ध्रुवीकरणको आवश्यकता रहेकोमा जोड दिनुभयो। जनयुद्दकालदेखिका कतिपय प्रसंगको चर्चा गर्दै प्रचण्डले यो ध्रुवीकरणले ठूलो सन्देश दिएको बताउँदै समाजवादी क्रान्तिका लागि अघि बढ्न परिवर्तकामी सबै कम्युनिष्टहरु ध्रुबीकरण हुन अपील गरे ।

अधुरो क्रान्ति पूरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीहरुको रिहाईका लागि आफूले पहल गर्ने समेत उहाँले बताउनु भयो। विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी लफ्फाजीको नाममा आन्दोलनलाई गोलचक्करमा फसाएको भन्दै नवप्रवेशीहरुले माओवादी आन्दोलनको केन्द्रका रुपमा रहेको प्रचण्ड नेतृत्वको माओवादीमा समाहित हुने निर्णय गरेको बताए ।  नव प्रवेशीहरुका तर्फबाट बोल्दै नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’ ले क्रान्तिमा विप्लव नेतृत्वले गरिरहेका गतिविधिले जनयुद्दकै उपलब्धि खोस्ने शक्तिहरुलाई लाभ पुग्ने आशंका उत्पन्न भएको बताए ।

 मेचीनगर एमाले छिन्नभिन्न

झापा । अध्यक्ष केपी ओलीको गृह जिल्ला र नेपालको पूर्वी नाका रहेको मेचीनगर नगरपालिकामा एमाले छिन्नभिन्न भएको छ। आन्तरिक गुटबन्दीको फाइदा उठाएर प्रदेश सांसदसमेत रहेका गोपाल बुढाथोकीले मेयरको टिकट उछिट्याउने देखिएपछि मेयरका प्रमुख दाबेदार डिल्लीराम घिमिरेले पत्रकार सम्मेलन गरी रुँदैरुँदै पार्टी छाडेका छन्। र, मेयरका अर्का प्रमुख दाबेदार निलकण्ठ तिवारीले समेत घिमिरेप्रति सहानुभूति दर्शाएका छन्।

पद्धति र स्थानीय नेतृत्वको मर्यादाक्रम अनुसार घिमिरेले नै मेयर टिकट पाउनुपर्थ्यो। २०७४ को स्थानीय चुनावमै घिमिरे मेयरको प्रमुख दाबेदार थिए। तर केपी ओलीको ठाडो निर्देशनमा बिष्णु प्रसाईंले टिकट पाए। त्यतिबेला घिमिरेलाई आगामी मेयर उमेदवारको वचन दिइयो। तर अहिले पनि प्रदेश सांसद बुढाथोकीलाई ल्याएर घिमिरेलाई माइनस गरियो।

आफ्नो ३९ बर्षीय राजनीतिक जीवनमा पार्टीले घात र धोका दिएको घिमिरेले महसुस गरेका छन्। ‘राजनीतिमा नैतिकता हुनुपर्छ। राजनीतिक क्रियाशिलताबीच जिम्मेवारी वा अवसर पनि खोजिन्छ। पार्टीमा जिम्मेवारी र अवसरहरूको ब्यबस्थापन गर्ने एउटा पद्धति हुन्छ। इमान, नैतिकता र पद्धति छाडेर गुटीय मनोमानी गर्नु मलाई पार्टीमा नबस् भन्नु हो। म पार्टीबाट स्वतन्त्र भएको छु।’ घिमिरेले भने।

चरम गुटबन्दी र दक्षिणपन्थी अवसरवादले ग्रस्त एमाले योजनावद्ध रूपमा गणतन्त्र, संघीयता र समावेशीता जस्ता उपलब्धि नै समाप्त पार्ने दिशामा अघि बढेको र त्यहाँ अन्तरसंघर्ष गरेर बस्नुको कुनै औचित्य नभएको घिमिरेले बताए। २०५४ मै तत्कालीन काँकडभिट्टा गाबिसको अध्यक्ष रहेका घिमिरे झापा एमालेका प्रभावशाली नेता हुन्। उचित जिम्मेवारी पाए उनी माओवादी केन्द्रमा आवद्ध हुन सक्ने स्रोतहरूले औंल्याएका छन्।

०५४ मा एमालेबाटै निर्वाचित तत्कालीन बाहुनडाँगी गाबिसका अध्यक्ष एवं अहिलेका मेचीनगर मेयरका अर्का दावेदार निलकण्ठ तिवारी पनि पार्टीले घिमिरेमाथि अन्याय गरेको स्वीकार्छन्। स्थानीय प्रभावका दृष्टिले लोकप्रिय नेता तिवारीले यो संवाददातासँगको संक्षिप्त संवादमा भने- ‘अगुवा नेताहरूले चरम गुटबन्दी गर्नुभएको छ। यो बिल्कुल चित्तबुझ्दो भएन।’

घिमिरेलाई पन्छाउनका लागि मेचीनगर एमालेभित्र एक-अर्कालाई कहिल्यै देखिनसहने बिपरित गुटहरूको एकत्व भएको थियो। पूर्व सांसद रबिन कोइराला र यसअघि मेयर पराजित ओलीका ‘एसम्यान’ बिष्णु प्रसाईंले कमिटीमार्फत् उमेदवार अनुमोदनको नाटक गरि मिलिभगतमै घिमिरेलाई पराजित गरेका थिए। ओलीले सधै दाहिना मान्ने प्रसाईं मेयर हारेर पनि बाग्मती प्रदेश प्रमुख बन्ने सौभाग्य पाइसकेका ब्यक्ति हुन् भने पार्टी अन्तरसंघर्षमा १० बुँदेवाला कोइराला ओलीको शरणागत भएर संघीय सांसद उमेदवार हुने दाउमा छन्।

 

नगरका सचेत नागरिक भने प्रदेश सांसद रहेका बुढाथोकीको मेयरमा आकर्षण हुनु अनि उनको पक्षमा ओली गुट र १० बुँदेवाला गुट एकै ठाउँमा देखिनुलाई रहस्यमय भन्ठान्छन्। राजनीतिका अलावा ब्यवसायिक ब्यक्तित्वको समेत छवि बनाएका बुढाथोकीले पक्कै कुनै न कुनै हिसाब किताब वा जोडघटाउ गरेरै मेयरमा आकांक्षा देखाएका हुन् भन्नेहरू धेरै छन्।

 

एमालेले बुढाथोकीसँगै हालकी उपमेयर मीना पोखरेल उप्रेतीलाई समेत मेयर उमेदवारमा सिफारिस गरेको छ। बढी चर्चा बुढाथोकीको भए पनि उप्रेतीले समेत दावी छाडेकी छैनन्। भनिन्छ, प्रतिगमनको शुरुवातीदेखि नै ओलीको अन्धभक्त रहेकी उप्रेतीले कुनै माथिल्लो पदको बिश्वासयुक्त आश्वासन नपाईकन दाबेदारी छाड्दिनन्। बाध्यताबस दाबेदारी छाडिन् भने त्यसले एमालेको भोट सन्तुलनलाई अझै नकारात्मक प्रभाव पार्ने छ।

 

एक अनौपचारिक भेटमा भने मेयरका मुख्य दाबेदार बुढाथोकीले बाध्यताबस उम्मेद्बारी स्वीकार्नुपरेको निरासायुक्त दाबी गरे। खासमा प्रभावशाली नेता घिमिरेले यही कारणले पार्टी छाड्छन् भन्ने कल्पना एमालेले गरेको थिएन। बुढाथोकीको निरासाको संकेत पनि त्यही हो। त्यसो त यो दुई हप्ताबीचमा प्रकाश खड्का, दीपक घिमिरे, तिलक दर्जी, मुक्ति पौडेल लगायतका स्थानीय हस्तीहरूले एमाले परित्याग गरिसकेका छन्। एकातिर गठबन्धन, अर्कोतिर पार्टीमा असन्तुष्टिले बुढाथोकी उम्मेदवारी अगाडि नै निरास र आतंकित भैसकेको अनुमान नगरभरि नै गर्न थालिएको छ।