Breaking News

मा‌ओवादीकाे घाेषणापत्र सार्वजनिक,कार्यकारी राष्ट्रपति सहितकाे शासन व्यवस्था

By मनासलु

October 31, 2022

नेकपा माओवादी केन्द्रले संसद्बाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी अबदेखि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जान प्रस्ताव गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने घोषणापत्रमा संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्थामा जाने प्रतिबद्धता जनाएको एक नेताले बताए ।

राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व, र समृद्धिको यात्रा तय गर्न राष्ट्रपतीय व्यवस्थामा जान माओवादीले जोड दिएको छ । संविधान निर्माणको प्रक्रियामा समेत नेपाली जनताले शासकीय पद्धति परिवर्तनको पक्षमा आफ्नो मत अभिव्यक्त गरी सकेकाले लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउन शासकीय पद्धति परिवर्तन गर्नुपर्ने बताइएको छ ।

सङ्घमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिनेगरी प्रस्ताव गरिएको छ । संसद्लाई पूर्ण रूपमा विधायन क्षेत्रमा केन्द्रित हुने गरी व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

यस्तै सातै प्रदेशमा संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा मन्त्रिमण्डल रहने र विधान क्षेत्रमा मात्रै केन्द्रित प्रदेश सभा गठन गर्ने प्रस्ताव गरिएको ती नेताको दाबी छ । स्रोतका अनुसार संघमा १६५ सिटको प्रतिनिधि सभा र ५५ सिटको राष्ट्रिय सभा र ३३० सिटको प्रदेश सभा बनाउने प्रस्ताव गरेको हो । संघमा २५ जना मन्त्री नबढाई र प्रदेशमा कुल सांसदको १५ प्रतिशत नबढाई मन्त्रीको सङ्ख्या बनाउने यसअघिकै व्यवस्था कायम गरिएको छ ।