
गोरखा, ९ साउन । गोरखा जिल्लामा पहिलो पटक रेशमखेतीको सुरुवात भएको छ । जिल्लाको शहिदलखन गाउँपालिकाले व्यवसायिक रुपमा रेशम किरा खेती सुरुवात गरेको हो । गाउँपालिकाको वडा नम्बर ६ घैरुङ्ग स्थित ज्यामिस्वाँरामा ‘मनकामना रेशम खेती कृषि समुह’ ले रेशम किराको व्यवसायिक खेती गर्न सुरु गरेको हो ।
गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषकहरुको समुह मार्फत रेशम किराको खेती गर्न सुरु गरेको गाउँपालिकाका कृषिशाखाका ऋषि रोकाले जानकारी दिए ।
किसानहरुले पहिलो चरणमा पाँच किलोग्राम कोकुन उत्पादन गरेका छन् । धागो उत्पादन गरेर विक्री गर्ने योजना रहेको कृषिशाखा प्रमुख रोकाले बताए ।
फार्ममा ६० हजार रेशम किरा हालिएको थियो । ‘किराले २८ दिनदेखि नै कोकुन हाल्न सुरु गर्यो । ४० दिनभित्रमा सबै उत्पादन लिन सकिने अवस्थामा रहेको समूहका अध्यक्ष लिना थापा मगरले बताइन
थोरै जग्गाबाट पनि उत्पादन लिन सकिने रहेछ । ‘घाँस (किम्बु) खेतीका लागि धेरै जग्गा आवश्यक पर्ने उहाँको भनाइ छ । समहुले ९८ रोपनी जग्गा समुहले भाडा लिएर घाँस खेती गर्दै आएको थापाले बताइन।
जिल्लामा पहिलो पटक रेशम किराको खेती भएकोले अवलोकनका लागि आउने मानिसहरुको सँख्या समेत उल्लेख्य रहेको उनको भनाइ छ ।
किसानहरुले उत्पादन गरेका वस्तुको विक्रीका लागि गाउँपालिकाले पूणर् स्वामित्व लिने गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले बताए। सम्भावना हुने खेतीलाई हामीले प्रोत्साहन गर्दै आएका छौँ , किसानको सामग्रीको बजार सुनिश्चत गर्छौँ, किसानहरुलाई उत्साहका साथ काममा लाग्न उत्प्रेरीत गरेको पालिका अध्यक्ष थापाको दावी छ ।