गाेरखाका आकाश अन्तराष्ट्रिय व्यापारमा अब्बल

बुधबार, भदौ २७, २०८०

काठमाडौं(मस)  । नेपाली जनशक्ति मात्र होइन नेपाली उत्पादन पनि विदेशमा गइरहेको छ । दैनिक २ हजार नेपाली युवायुवती रोजगारका लागि देश छोडेका मात्र छैनन्, नेपाली हस्तकला तथा स्वदेशी उत्पादनहरु विदेशमा बिक्रि वितरण पनि भइरहेका छन् । नेपाल बाहिर नेपाली हस्तकला बिक्रिवितरण हुँदा नेपाली मन मख्ख पर्छ । विदेशी भूमीमा नेपाली उत्पादनहरु विदेशीको हातमा पुग्दा हरेक नेपाली खुशी हुन्छन् ।

नेपाली हस्तकला तथा स्वदेशी उत्पादनलाई विगत १२ बर्षदेखि विदेशी बजारमा बिक्रि वितरण गरिरहेका छन् गोरखाका आकाश बञ्जारा । हङकङलाई कर्म थलो बनाइरहेका आकाश जहाँ गए पनि नेपाली हस्तकलालाई बजारीकरण गरिरहेका छन् । पहिला ताइवानमा कर्मथलो बनाएका आकाश विगत ६ बर्षदेखि हङकङमा आफुलाई स्थापित गरिरहेका छन् । नेपाल बाहिर नेपाल चिनाइरहेका छन् आकाश । हङकङमा विभिन्न स्थानमा शोरुम खोलेर नै नेपाली हस्तकला तथा स्वदेशी उत्पादन बिक्रि वितरण गरिरहेका आकाशको प्रयास दिनदिनै सफलता तिर लम्किरहेको छ ।

उनी भन्छन्–‘मैले विगत १२ वर्षदेखि नेपाली हस्तकलालाई नै प्रोमोट गरिरहेको छु । म जहाँ गएपनि नेपाली हस्तकलासँगै लिएर हिडिरहेको छु ।’ उनले नेपाली हस्तकलालाई हङकङमा अफिसहरु राखेर लोकल बजार र विश्वबजारमा पनि पठाइरहेका छन् । नेपालमा बनेका थान्का, मुर्ती, हस्तकला तथा र अन्य ज्वेलरीका सामानहरु उनले मुख्यरुपमा विक्रि वितरण गरिरहेका छन् । काठबाट बनेका सामाग्रीहरु धेरै रुचाइने उनको बुझाई छ ।

आकाशको अर्को विशेषता भनेको उनी योगा तथा साउण्ड हिलिङ ट्रेनर हुन् । उनी योगा तथा साउण्ड हिलिङको ट्रेनिङ दिनका लागि हङकङमा मात्र होइन एसियन मुलुकमा पुगिरहन्छन् । शनिवार र आइतबारको लागि उनको समय लिनेहरुको लाइन नै लाग्ने गर्दछ ।

आकाशले नेपालमा सिंगिङ बउलको उत्पादन आफै गर्दै आएका छन् । नेपालबाट विश्व बजारमा उनले सिंगिङ्ग बउल पठाइरहेका छन् । उनी भन्छन्–‘पछिल्लो समय मैले सिंगिङ बउलको प्रोडक्सन गरिरहेको छु । यसको फिडब्याक धेरै राम्रो आइरहेको छ ।’ विश्वबजारमा अहिले मेडिटेशन तथा उपचारका लागि सिंगिङ बउल अत्यावश्यक बनिरहेको छ । आकाश भन्छन्–‘ नेपालकको हिमालयबाटै शुरु भएको हिलिङ पद्धति पछिल्लो समय पश्चिमेली मुलुकहरुले प्रयोग गर्न थालेका छन् , त्यसैले अहिले मैले योगा र साउण्ड हिलिङलाई विशेष गरेर फोकस गरेको छु । विभिन्न वाद्यवादनहरुको माध्यमबाट साउन्ड हिलिङ गर्ने गरेको छु, जुन निकै प्रभावकारी र महत्वपुर्ण बन्दै गइरहेको छ ।’

उनले दिनदिनै सफलता चुमिरहेका छन् ।अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) हङकङको अध्यक्ष समेत रहेका आकाश युवाहरुलाई उद्यमशिलता विकासमा लाग्नलाई प्रेरित गरिरहेका छन् । हङकङमा रहेका युवा उद्यमीहरुलाई एकिकृत गरेर आकाशले सामुहिकरुपमा उद्यमशिलता विकासमा काम गर्ने र लगानी बढाउने बताएका छन् । नेपाली युवाहरुलाई उद्यमी बनाउने र बनिसकेका उद्यमशिल युवाहरुलाई ब्यापार विस्तारमा सहयोग पु¥याउने फिनेको लक्ष्य रहेको छ । त्यसका लागि आकाशले नेतृत्व गरेर अगाडि बढिरहेका छन् । आकाशले व्यवसायिक सफलता मात्र होइन सामाजिक कार्यलाई पनि उत्तिकै अगाडि बढाएका छन् ।

उनले मातृबिहीन दमौलीकी ९ बर्षिया कृपा थापा र काठमाडौंकी सदिक्षा श्रेष्ठलाई कलेजस्तरसम्म पढाउने जिम्मा लिएका छन् । उनले मानवसेवा आश्रम, चेपाङ संरक्षण केन्द्रमा आश्रय लिइरहेकाहरुलाई निरन्तर आर्थिक सहयोग गर्दै आएका छन् । गाेरखा घर भएका आकाशले दुखमा परेका नागरिकहरुलाइ सहयाेग गर्दै आएका छन् ।