
काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
गोरखकाली मन्दिरस्थित दशैंघरबाट काठमाण्डौंको हनुमानढोकास्थित दशैं घरमा फूलपाति लैजाने गरिनछ । गोरखामा विधिपूर्वक शुक्रबार राति संंकलन गरिएको फूलपाति बिहान मोटरमा राखेर हनुमानढोका पठाइन्छ ।
गोरखकाली मन्दिरका पुजारी र सुसारेले अघिल्लो दिन गोरखा नगरपालिका वडा नम्वर ८ को पिप्लेफाँटमा विधिपूर्वक संकलन गरेको फूलपाती काठमाण्डौं पठाउने गरिन्छ ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाण्डौं राज्य जितेपछि गोरखाबाट फूलपाति हनुमानढोका दशैंघरमा लैजाने परम्परा बसेको हो । उनले विसं १८२५ सालमा काठमाण्डौंमा विजय प्राप्त गरेका थिए ।
गोरखा, धादिङ हुँदै हनुमानढोकामा फूलपाति लैजाने परम्परा रहेको थियो । राणाकाल शुरुभएसँगै उक्त परम्परा अवरुद्ध भएको थियो । जंगबहादुर राणाको उदयपछि फूलपातीको परम्परा अवरुद्ध भएको गाेरखा दरबार हेरचाह अड्डाका प्रमुख हरी प्रसाद भुषालले बताए ।
काठमाण्डौं र गोरखालाई पृथ्वीराजमार्गले जोडेपछि भने मोटरमार्फत फूलपाती काठमाण्डौं पठाउने चलन शुरु भएको उनकाे भनाई छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।
केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।
फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।
फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ । यस अवसरमा चङ्गा उडाएर रमाइलो गर्ने सांस्कृतिक परम्परा पनि छ । पछिल्लो समय पिङ र चङ्गाको परम्परामा कमी आएकाले पनि दसैँको मौलिकता गुम्न थालेको बूढापाका बताउँछन् ।