गोरखाबाट हनुमान ढोका फुलपाती पठाइयो

शनिबार, कार्तिक ४, २०८०

गोरखा ४ कार्तिक । गोरखकाली मन्दिरस्थित दशैंघरबाट काठमाण्डौंको हनुमानढोका स्थित दशैं घरमा फूलपाति पठाइएकाे छ । गोरखामा विधिपूर्वक शुक्रबार राति संंकलन गरिएको फूलपाति आज बिहान मोटरमा राखेर हनुमानढोका पठाइएको हो ।


गोरखकाली मन्दिरका पुजारी र सुसारेले अघिल्लो दिन गोरखा नगरपालिका वडा नम्वर ८ को पिप्लेफाँटमा विधिपूर्वक संकलन गरेको फूलपाती काठमाण्डौं पठाइएको गोरखा दरवार हेरचाह अड्काका प्रमुख हरिप्रसाद भुषालले जानकारी दिए ।

दरवार परिसरका चण्डिस्थानका पूजारी कुलबहादुर थापा र नेपाल प्रहरीका सिपाही गुर्जु पल्टन गणेश खडका चालक राम कार्की सहितको टोलीले बा २ झ २१२८ नम्वरको सरकारी गाडीमा फूलपाती लिएर काठमाण्डौं गएका हुन । फूलपाती पठाउने क्रममा बाजागाजा सहित हर्षोल्लास मनाइएको थियो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाण्डौं राज्य जितेपछि गोरखाबाट फूलपाति हनुमानढोका दशैंघरमा लैजाने परम्परा बसेको हो । उनले विसं १८२५ सालमा काठमाण्डौंमा विजय प्राप्त गरेका थिए ।

गोरखा, धादिङ हुँदै हनुमानढोकामा फूलपाति लैजाने परम्परा रहेको थियो । राणाकाल शुरुभएसँगै उक्त परम्परा अवरुद्ध भएको थियो । जंगबहादुर राणाको उदयपछि फूलपातीको परम्परा अवरुद्ध भएको भुषालले बताए ।

काठमाण्डौं र गोरखालाई पृथ्वीराजमार्गले जोडेपछि भने मोटरमार्फत फूलपाती काठमाण्डौं पठाउने चलन शुरु भएको उनकाे भनाई छ । सोही परम्पराको निरन्तरता दिँदै यो वर्षपनि मोटर मार्फत फूलपाती काठमाण्डौं पठाइएको गोरखा दरवार हेरचाह अड्डाका प्रमुख भुषालले बताए ।