शहिदलखनमा टपरी उद्याेग सञ्चालन

बुधबार, कार्तिक १५, २०८०

गोरखा । ग्रामिण क्षेत्रमा पनि बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाहरुले व्यवसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद लखन गाउँपालिका–७, बुङ्कोट स्थित खाब्दीभन्ज्याङ्मा महिलाहरुले टपरी उद्योग सञ्चालनमा ल्याएका हुन् ।

बुङ्कोट सामुदायिक सेवाकेन्द्रले लगनशिल आयआर्जन महिला समुहमा आबद्ध महिलाहरुको सहभागितामा उद्योग सञ्चालनमा ल्याएर सालको पाटबाट टपरी बोता लगायत उत्पादन गर्न सुरु गरेको केन्द्रकी अध्यक्ष दुर्गा गरन्जा मगरले  बताए । पालिका भित्र अधिकांस भोज भतेरहरुमा प्लास्टिकबाट बनेका सामग्रीहरु प्रयोग हुन थालेपछि त्यसलाई बिस्थापित गर्न टपरी उद्योग सञ्चालनमा ल्याइएको हो ।

‘पछिल्लो समय भोजभतेरहरुमा मात्र होइन हरेकजसो चिया पसल र घरको भान्सामा समेत प्लास्टिकका गिलास, प्लेट चम्चाहरुको प्रयोग बढ्न थाल्यो, उनले भने, ‘प्लाटिकबाट बनेको सामग्री प्रयोग गरिसकेपछि त्यसको व्यवस्थापनमा कठिनाई हुने, वातावरण पनि प्रदुशित हुने भएकाले सालको पातबाट बनेको टपरी र बोता प्रयोगमा प्रोत्साहन गर्न उद्योग सुरु गरिएको छ ।’’

प्लास्टिकका प्लेट, गिलास, चम्चा लगायतका सामान प्रयोग गर्दा मात्र नभई नष्ट गर्दा समेत त्यसको निस्कने प्रदुषणले स्वास्थ्यमा पनि असर पुर्याउने हुँदा सालको पातबाट बनाइएका सामग्री प्रयोग गर्नु राम्रो हुने भएकाले जंगलमा खेर गइरहेको सालको पातबाट गाउँमै दुना टपरी लगायत उत्पादन गर्न थालिएको अध्यक्ष मगरको भनाई छ ।

‘‘हाम्रा सामुदायिक बनमा खेर गइरहेका सालका पातहरु अहिलेसम्म हामीलाई पैसा पर्दैन, उहाँले भन्नभुयो, ‘‘बिरुवाको संरक्षण जर्गेना गरेर पातहरु सहजै ल्याउन सकिन्छ त्यसबाट टपरी र बोता उत्पादन गर्यौ भने दिदी बहिनीहरुको खेर गइरहेको समयको पनि सदुपयोग हुने, आयआर्जन पनि हुने र प्लास्टिकजन्य सामग्रीको गर्न पनि पर्दैन ।’’

उद्योगबाट स्थानीय महिलाहरुको आर्थिक आयआर्जन बृद्धिमा सहयोग पुग्ने केन्द्रकी परिचालक गीता श्रेष्ठले जानकारी दिनुभयो । ‘दुई लाख रुपैयामा मेसिन खरिद गरेर उद्योग सुरु गरिएको होे, उनले भने, ‘‘फुर्सदको समयमा समुहका सदस्यहरुले जंगलबाट पात संकलन गरेर ल्याउने र मेसिनबाट टपरी उत्पादन गर्ने गर्छौ ।’’

महिला समुहमा १४ जना महिलाहरु आबद्ध रहेका छन् । उद्योगबाट अहिले टपरी बोता (दुना) लगायत उत्पादन गर्ने गरिएको छ । उत्पादित टपरी प्रति गोटा ७ रुपैया र बोता प्रति गोटा ५ रुपैयामा बिक्री हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो । उत्पादन गर्नसके बजारको समस्या नरहेको उहाँको भनाई छ ।

‘‘अहिलेसम्म बजारको कुनै समस्या भएको छैन, श्रेष्ठले भन्नुभयो, ‘जति उत्पादन भयो त्यति बिक्री भइरहेको छ ।’’ उद्योगमा उत्पादित सामग्री स्थानीयस्तरमा नै खपत हुने गरेको उहाँले बताउनुभयो । उद्योगमा टपरी र बोता उत्पादन गरेर राख्ने र अर्डर भएपछि बजारमा पठाउने गरिएको छ ।

‘‘महिला समुहका दिदी बहिनीहरु वनमा गएर सालको पात टिपेर ल्याउनुहुन्छ, उनले भने, उत्पादित सामग्री बिक्रीबाट हुने आम्दानी महिला समुह र सिकाइ केन्द्रले लिने गरेको छ ।’’ चाडपर्व, विवाह, ब्रतबन्ध, भोजभतेर लगायत सामुहिक कार्यक्रम गर्दा स्थानीय स्तरमा उद्योगमा उत्पादित सामग्री बिक्री हुँदै आएको छ ।

स्थानीबासीहरु सचेत भएका कारण पनि उत्पादित सामग्रीको बजार समस्या नहुने श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । पर्याप्त प्रचारप्रसार गर्नसके यसको माग अझै बढ्न सक्नेछ । जुनसुकै ठाउँबाट पनि अर्डर सामान उत्पादन गरी पुर्याउन सकिने उद्योगले जनाएको छ ।