
१७ कात्तिक, काठमाडौं । एक दशकको प्रतिक्षा, अनि यूएईसँग एक वर्षअघिको मिठो बदला लिँदै नेपाल अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ ।
टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई ८ विकेटले सहजै पराजित गर्दै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको हो ।
नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । त्यसयता तीन (२०१६, २०२१ र २०२२) विश्वकपमा पुग्न चुकेको थियो ।
पछिल्लो विश्वकप छनोटमा त यूएई नै नेपालको बाधक बनेको थियो । तर शुक्रबार यूएईलाई रोकेर नेपाल टी–२० विश्वकपमा पुगेको छ ।
क्रिकेटर शरद भेषावकरले नेपालको लागि २०१४ को विश्वकपपछि यो ठूलो सफलता रहेको बताए ।
‘विश्वकपमा पुग्दा अहिले सबै इमोसनल बनेका छन्, यसलाई शब्दमा व्यक्त गर्न सकिरहेका छैनन्’, अनलाइनखबरका क्रिकेट एक्सपर्ट भेषावकर भन्छन्, ‘अब नेपालले विश्वका ठूलो टिमसँग कसरी खेल्छ भन्दा पनि ठूलो टिम नेपालसँग खेल्नुपर्छ भनेर सजग हुनुपर्ने अवस्था आएको छ ।’
सोमपालको सुरुवात, कुशलको फिनिस
कप्तान रोहितकुमार पौडेलका अनुसार शुक्रबार मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेको भए ब्याटिङ गर्ने थियो । ‘विकेट हेर्दा मोस्चर देखिराथ्यो । सुरुमा रिस्क लिएर सेकेण्ड इनिङ्समा यूएई अन्डर प्रेसर हुन्छ भन्ने थट प्रोसेस थियो’, खेल जितेपछि रोहितले सुनाए ।
यूएईले टस जित्यो र ब्याटिङ रोज्यो । ‘म टस हारेर आएँ । पारस दाइ (पूर्व कप्तान एवं क्रिकेट संघका सचिव पारस खड्का)ले ‘ए गुड टस टु लस भन्नुभयो मलाई पनि त्यस्तै लाग्यो’ पोष्ट म्याच कन्फ्रेन्समा रोहितले सुनाए ।
यूएईका कप्तान मोहम्मद वसिमले सुरुको तीन ओभरमा चौका र छक्का हान्दै राम्रो सुरुवात दिलाउन खोजेका थिए । तर चौथो ओभर नेपालको पक्षमा आयो ।
पहिलो बलमै सोमपाल कामीले खालिद शाहलाई नन स्ट्राइक एन्डमा दौडेर गएर फ्लाइङ स्टाइलमा उत्कृष्ट रनआउट गरे । त्यही ओभरको चौथो बलमा सोमपालले कप्तान वासिमलाई करण केसीलाई क्याचआउट गराए । वासिमले १६ बलमा २६ रन बनाए ।
‘विकेट हेर्दा १४०–१५० भन्दा तल रोक्न सके सजिलो हुन्छ भन्ने सोच थियो । वासिमको विकेट लिए सजिलो हुन्छ भन्ने थियो र सोम दाइले विकेट पनि लिनुभयो’ रोहितले भने ।
त्यसपछि वृत्य अरविन्दले एक छेउबाट इनिङ्स सम्हालेका थिए, तर अर्को छेउबाट विकेट जाँदा यूएई ठूलो स्कोरसम्म पुग्न सकेन । मिडल ओभरमा यूएईको ब्याटिङ धरासायी भयो । अलिशान सराफूले साझेदारी गर्न खोजे पनि सकेनन् । उनी १६ रनमा आउट भए ।
नेपालका मिडर पेसरहरु राम्रो नचेले पनि स्पीनरहरु चलेका थिए । सन्दीप लामिछाने र कुशल मल्लको २/२ ओभर स्पेश पनि थियो, तर १६औं ओभरमा कप्तान रोहितकुमार पौडेल आफैं बलिङमा आए । यदि केही बाउन्ड्री गएको भए मोमेन्टम सिफ्ट हुनसक्थ्यो, तर विकेट लिएकाले उनले खेलेको ग्याम्बल नेपालको पक्षमा आयो ।
१८औं ओभरमा सन्दीपले उत्कृष्ट बलिङ गरे । पहिलो बलमै बासिल हमिदको महत्वपूर्ण विकेट लिएका उनले बाँकी बलमा रन दिएनन् ।
अन्तिम ओभरमा कुशल मल्लले उत्कृष्ट बलिङ गरे । उनले तीन विकेट लिएर ५ रन दिएका लिएपछि यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३५ रन बनायो । उसका लागि वृत्य अरविन्दले ८ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६४ रन बनाए ।
कुशल मल्लले ३ ओभरमा ११ रन मात्र खर्चेर ३ विकेट लिए । सन्दीपले ४ ओभरमा १ मेडन राख्दै १४ रन मात्र खर्चेर २ विकेट लिए । ३ ओभर बलिङ गरेका सोमपालले १५ रन खर्चेर १ विकेट लिए । उनले एक क्याच लिनुका साथै एक रनआउट पनि गरे । एक ओभर बलिङ गरेका रोहितले पनि १ विकेट लिए ।
आसिफको स्मरणीय इनिङ्स
लक्ष्य १३५ रन भए पनि मुलपानीको विकेट ट्रिकी रहेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा थियो ।
तर ओपनर आसिफ शेखको उत्कृष्ट इनिङ्ससँगै नेपालले एकपक्षीय रुपमै खेल जित्यो । नेपाली ब्याटरहरुले सुरुदेखि नै यूएईका बलरहरु दबावमा राखे ।
पहिलो ओभरमा आसिफ शेखले दुई चौका हाने भने दोस्रो ओभरमा कुशल भुर्तेलले आयान खानको बलमा दुई चौका हाने ।
नेपालको स्कोर २९ रन हुँदा पहिलो विकेटका रुपमा कुशल भुर्तेल ११ रनमा आउट भए । तर पावर प्लेमा थप विकेट लिन नसकेपछि यूएई दबावमा आयो, गुल्सन झा वान डाउनमा ब्याटिङ गर्न गएका थिए ।
नेपाललाई एउटा राम्रो साझेदारी चाहिएको थियो । यूएईविरुद्ध गुल्सनले यसअघि रन बनाएका थिए र लेफ्ट आर्म स्पीनरहरुलाई खेल्न लेफ्ट आर्म ब्याट्सम्यान पठाइएको थियो ।
१०औं ओभरमा आउट हुनुअघि उनले दोस्रो विकेटका लागि आसिफसँग ४१ रनको साझेदारी गरे । त्यसलाई अघि बढाएका आसिफ र कप्तान रोहितले तेस्रो विकेटका लागि अविजित ६८ रनको साझेदारी गर्दै जिताए ।
उनीहरुले जसरी ब्याटिङ गरे, युएईका बलरले खेलमा कमब्याक गर्ने अवसर नै पाएनन् । दुबैको स्ट्राइक रोटेसन निकै राम्रो रह्यो, अड बाउन्ड्रीहरु निकालिरहेका थिए ।
‘विकेट ट्रिक्की र स्लो थियो । त्यसैले मेरो योजना विकेट होल्ड गर्ने र इनिङ्सलाई अन्तिमसम्म लिएर जाने थियो’ आसिफ भन्छन्, ‘बाउन्ड्री बल पाए हान्छु, नभए सिंगल लिएर रोटेट गरेर खेल्छु भन्ने थियो ।’
नेपाललाई टी–२० विश्वकपमा पुर्याउने जितमा उनले अविजित ६४ रन बनाए । नेपालको जितसम्म क्रिजमा रहेका उनले ५१ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे ।
२० बलको सामाना गरेका रोहितले २ चौका र २ छक्का मद्दतमा अविजित ३४ रन योगदान गरे ।
कप्तान रोहितले आसिफको तारिफ गरे । ‘मलाई यो वान अफ दी बेस्ट इनिङ्स लाग्छ अन्डर प्रेसरमा’ ब्याटिङ युनिटले राम्रो गरेको भन्दै रोहितले थपे, ‘भुर्तेलको ओपनिङ स्ट्यान्ड राम्रो थियो, गुल्सनले वान डाउनमा राम्रो खेल्यो ।’
आसिफले भने विकेट बचाएर अन्तिसम्म खेल्ने रणनीति अनुसार खेलेको बताए । हरेक खेलमै राम्रो प्रदर्शन गर्ने कोसिस हुने भन्दै असिफले खेलपछि सञ्चारकर्मीहरुसँग भने, ‘आज ठूलो म्याच थियो र ठूलो म्याचमा प्रदर्शन गर्न मज्जा लाग्छ ।’
चोटका कारण अघिल्लो तीन खेल गुमाएका अलराउण्डर दीपेन्द्र सिंह ऐरी यूएईविरुद्ध प्लेइङ ११ मा फर्किएका थिए । तर उनले बलिङ र ब्याटिङ गर्नुपरेन । दीपेन्द्रको अभाव समूह चरणको अन्तिम खेलमा खड्किएको थियो, विवेक यादवले अन्तिम ओभरमा ३ छक्का हानेको त्यो खेलमा नेपाल ५ रनले पराजित भएको थियो ।
कप्तान रोहितका अनुसार यूएईविरुद्ध दीपेन्द्र आफैंले पनि खेल्छु भनेका थिए । ‘हिजो म्याच हारेर आएपछि दीप्पी दाइले म पनि खेल्छु भनिरहनु भाथ्यो’ रोहितले भने, ‘घाइते हुँदा पनि खेल्छु भनिरहनुभाथ्यो र टिमलाई कसरी जिताउँ भनेर त्यो कन्ट्रिबुसन गर्न खोजिरहनुभाथ्यो । त्यो कन्फिडेन्स हेर्दा खुशी लाग्छ ।’
यूएईसँग बदला
युएई र नेपाल एसोसिएट टिममा कडा प्रतिस्पर्धी हुन् । पछिल्लो समय सिनियर होस् या उमेर समूह नेपाल र युएई नियमित जस्तो खेलिरहेका छन् ।
सन् २०२२ मा ओमानमा भएको विश्वकप छनोटमा नेपाली टिमसँग रहे पनि चोटका कारण खेल्न नपाएका शरद भेषावकर अहिले नेपाल र यूएईको राइभरी विश्व क्रिकेटमा भारत–पाकिस्तान अनि इंग्ल्याण्ड र अष्ट्रेलियाको स्तरमा पुगिसकेको मान्छन् ।
२०२२ को टी–२० विश्वकपको छनोटमा त नेपालको बाधक यूएई नै बनेको थियो । २०२२ फेब्रुअरीमा ओमानमा भएको टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा नेपाललाई ६८ रनले हराएर युएई टी–२० विश्वकप पुगेको थियो ।