मनास्लु घुम्ने पर्यटकहरु बढे

आइतवार, कार्तिक १९, २०८०

गोरखा । गोरखाको प्रमुख पर्यटकिय गन्तव्यको रुपमा चिनिने मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकको संख्यामा बृद्धि भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु संरक्षण क्षेत्रमा यसबर्षको अक्टोवरसम्ममा ७ हजार ८ सय ६२ जना बिदेशी पर्यटकहरुले मनास्लु संरक्षण क्षेत्रको भ्रमण गरिसकेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

यसबर्षको अक्टोवर महिनासम्ममा नै मनास्लु क्षेत्रमा अघिल्लो बर्षभन्दा बढी पर्यटक भ्रमणका लागि पुगिसकेको उहाँले बताउनुभयो । ‘‘सन २०२२ मा एक बर्षमा ६ हजार १ सय २ जना पर्यटक मनास्लु क्षेत्रमा पुगेका थिए, उनले भने, ‘‘यो बर्ष सकिन अझै दुई महिना बाँकी छदैँमा मनास्लु घुम्न ७ हजार ८ सयभन्दा बढी पर्यटक पुगीसकेका छन् ।’’

मनास्लु क्षेत्र घुम्न जानेहरुमा यसबर्ष सार्क राष्ट्रका एकसय ७८ जना, रहेका छन् भने त्यस वाहेकका अन्य देशका ७ हजार ६ सय ८४ जना रहेको उहाँले बताउनुभयो । मनास्लु क्षेत्र पुग्ने पर्यटकहरुमा ४ हजार ५१९ जना पुरुष र ३ हजार ३३८ जना महिला पर्यटक रहेका छन् । कोराना संक्रमणका कारण सुस्ताउदै गएको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कन थालेको कार्यालय प्रमुख शेरचनको भनाई छ ।

कार्यालयको तथ्याङक अनुसार मनास्लु क्षेत्रमा सन् २०२१ मा ९ सय २५ जना बिदेशी पर्यटक मात्र मनास्लु क्षेत्रको भ्रमण गर्न पुगेका थिए । अघिल्ला बर्षको तुलनामा यसबर्ष अत्याधिक पर्यटक मनास्लु घुम्न पुगेको उनले बताए ।
‘यसबर्ष करिब १२ हजारभन्दा बढी पर्यटक मनास्लु पुग्ने अपेक्षा गरिएको छ, प्रमुख शेरचनले भन्नुभयो, ‘साउन महिना यतादेखि असोज अन्तिमसम्म मात्र २ हजार ९०३ जना बिदेशी पर्यटक मनास्लु पुगेका छन् ।’’

साउन महिना ८० जना, भदौमा ३२ जना सार्क राष्ट्रका सहित ५ सय ४७ जना र असोजमा ६५ जना सार्क राष्ट्रका सहित २ हजार २७६ जना विदेशी पर्यटकहरुले मनास्लु क्षेत्रको भ्रमण गरेका उनले बताए । निषेधित क्षेत्रको रुपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकहरुका लागि खुल्ला गरेको थियो ।