
गोरखा । गोरखाको आरुघाट गाउँपालिकामा पर्ने स्तुल खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल तीन करोड ८० लाख रुपैयाको लागतमा बेलीब्रिज निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए ।
उक्त सडक खण्ड अन्तर्गत आरुघाट गाउँपालिकाको वडा नम्बर ८ र ९ जोड्ने स्तुल खोलामा पुल निर्माण नहुँदा बर्खाका बेला सवारी साधान आवातजावतमा अत्याधिक कठिनाई हुने गरेको थियो । बेलीब्रिज निर्माणका लागि आयोजना कार्यालयले जलप होम जेवीसंग ठेक्का सम्झौता गरेको थियो ।
पुल निर्माणको काम एक बर्ष भित्रमा सक्नुपर्ने गरी ठेक्का सम्झौता गरिएको भएपनि ठेकेदार कम्पनीले निर्धारित समय अघि नै काम सम्पन गरेको कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो । बेलीब्रिज निर्माण सम्पन्न भएसंगै आरुघाट बजारहुँदै सवारी साधान मार्फत ओहोरदोहोरका लागि आरुपोखरीका बासिन्दाहरुलाई अहिले सजिलो भएको छ ।
पुल नबन्दा हिउँदका बेला जसोतसो सवारी साधन वारपार गराएपनि बर्खामा भने सवारी सञ्चालन गर्न नसक्ने अबस्था रहेको थियो । पुल निर्माण सम्पन्न भएसंगै आरुघाट गाउँपालिका–७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा गैरीछाप लगायतका क्षेत्रका स्थानीय बासिन्दाहरु बिशेष लाभान्विदत भएका छन् ।