प्रहरी समायोजन, निजामति ऐन  कार्यान्वयनकाे माग गर्दै मधेश सरकारले पत्रकार सम्मेलन गर्ने

बुधबार, कार्तिक २२, २०८०

जनकपुर । मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्ने भएकाे छ । प्रहरी समायोजन, निजामति ऐन  लगायतको कार्यान्वयनकाे माग गर्दै आन्दोलनको घोषणा गर्न लागेको हो ।आन्दोलनको घोषणा गर्न आज दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय बैठकले प्रहरी समायोजन, निजामति ऐनलगायतको विषयमा संघर्षमा उत्रिनेसम्मको निर्णय नै गरेको थियो । मधेश सरकारका तर्फबाट आज पत्रकार सम्मेलन गरी बिहीबार मुख्यमन्त्री सरोजकुमार यादव आफ्नै नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दहाललाई पन्ध्रदिने अल्टिमेटसहित ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् ।

‘बिहीबार प्रधानमन्त्रीजीलाई मेरै नेतृत्वमा पन्ध्र्रदिने अल्टिमेटसमहित ज्ञापन पत्र बुझाउने कार्यक्रम छ,’ मुख्यमन्त्री यादवले जानकारी दिए ।

अल्टिमेटमको समयसिमा भित्र प्रहरी समायोजनको काम अघि नबढे मुख्यमन्त्रीकै नेतृत्वमा काठमाडौंको माइतिघर मण्डलामा मन्त्रीहरु संघीय सरकार विरुद्ध धर्ना बस्ने सहितको कार्यक्रम छ ।  जिल्लाहरुमा प्रशासन कार्यालयमा सर्वदलीय रुपमा नेताहरुले धर्ना बस्नेसहितको कार्यक्रम हुने मुख्यमन्त्री यादव बताउँछन् ।