ढाँडबारीमा रहेका मगर समुदायले चलाए मगर सामुदायिक होमस्टे, पर्यटककाे आकर्षण बढ्दाे

शुक्रबार, फाल्गुन २५, २०८०

मनकामना । गोरखाको सहिद लखन गाउँपालिका वडा नं २ ढाँडबारीमा रहेका मगरसमुदायले मनकामना मगर सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका छन् ।

मनकामना मगर सामुदायिक होमस्टेका अध्यक्ष शिव रानाले गाउँको उत्पादन गाउँमा नै बेच्नको लागी होमस्टे चलाएको बताए । उनले मनकामना मन्दिरमा दर्शन गर्न आउने पाहुँनाले होमस्टेको सेवा लिनसक्ने बताए । मनकामनाको सुन्तलाबाट बनेको विभिन्न प्रकारका खाद्यन्न, गाउँले परिवारमा रमाउन चाहनेका लागि उत्कृष्ट गन्तव्य रहेको सुनाए । मगर सामुदायिक हाेमस्टेमा पर्यटकहरुकाे आकर्षण बढेकाे छ । मनकामना बजार क्षेत्रका हाेटेलमा भन्दा पर्यटकहरुले हाेमस्टे रुचाउने गरेका छन् ।

आबुखैरेनीबाट १७० रुपैया भाडा तिरेर पुगिने ढाँडवारी गाउँबाट गोरखाको विभिन्न ठाउँ र तनहुँकाे आँबुखैरेनी बजार पनि देखिन्छ । हाल १० घरले स‌ञ्चालन गरेको होमस्टेमा ४० जना पाहुना राख्न सक्ने क्षमता छ । यस होमस्टेले गाउँको विकासको लागि पनि टेवा पुर्याउने अध्यक्ष रानाले धारणा राखे ।

सहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले होम स्टे भनेको बस्न खान मात्र नभई कला संस्कृतिको संरक्षणका लागि पनि सामुदायिक होमस्टे आवश्यकता रहेको बताए । उनले होमस्टेमा आउने पाहुँना गाउँको हावापानी र समाजमा रमाउन सक्ने बताए ।

सहिद लखन गाउँपालिका वडा नं २ वडा अध्यक्ष सकुन थापा मगरले सहिद लखन गाउँपालिका भित्रकै उत्कृष्ट होम स्टे बन्नेमा आफू विश्वस्त रहेको बताइन् ।

गाउँपालिकासङको समन्वयमा सहमति र लुथरन वर्ल्ड रिलिफको साझेदारी कार्यक्रमले सीप विकास र अन्य प्राविधिक सहयोग गरेको थियाे । हाेम स्टे सञ्चालकहरुले ६५ दिन सम्म तालिम लिएका थिए । मगर समुदायले नाच्ने गरेकाे नाच समेत उनीहरुले सिकेका छन् ।

पाहुनाहरुकाे स्वागतमा मनकामनामा उत्पादन भएकाे सुन्तलाकाे जुस प्रयाेग गरिन्छ । यहाँ उत्पादन भएकाे अर्गानिक सुन्तलाकाे जुस र यहाँकाे स्थानीय साँस्कृतिक कार्यक्रममा प्रयाेग हुने अल्काेलह समेत काेशेलीकाे रुपमा लैजान सकिन्छ । चिसाे हावापानीमा फलेका गेडागुडी यहाँ नजिकै रहेकाे काेशेली घरमा पाउन सकिन्छ ।

शान्तसँग बस्न, कुनै याेजना निर्माणकाे कामका लागि एकलब्य स्थानकाे रुपमा महिनाै दिनका लागि समेत ढाँडबारीमा रहेकाे मगर सामुदायिक हाेमस्टे उपयुक्त रहेकाे स्थानीय पत्रकार अभिषेक तामाङ बताउँछन्  । कतिपय हाेमस्टेमा एक पटक बसेका पाहुना फेरी पनि आउन  नपराेस् भन्दै हिड्ने गाेरखाकाे देखिने गरेकाे भएपनि गाेरखाका सामुदायिक हाेमस्टेहरु सेवा, सत्कार र पुन पाहुना आउने लिषटमा  गण्डकी प्रदेशमै उत्कष्ट हुनसक्ने अर्का पत्रकार पुष्पराज दाहालकाे भनाइ छ ।

मनकामना मगर सामुदायिक हाेमस्टेबाट मनकामना मन्दिर पुग्न ८ देखि १० मिनेट पैदल यात्रा गर्नुपर्दछ ।  मन्दिरबाट ३० मिनेटकाे पैदलयात्रामा बक्रेश्वर महादेवकाे मन्दिर र सिद्ध लखन गुफा पुग्न सकिन्छ ।

मनकामना आउने पर्यटकका लागि दुइ दिनकाे समय यहाँ मज्जाले घुम्न पाउने ठाउँहरु रहेका छन्। लालिगुराँसकाे सिजनमा यहाँ गुराँसले राताम्मे देखिन्छ ।

मनकामना छाेडेर सदरमुकाम तर्फ लाग्न प्रथम सहिद लखन थापाकाे किल्ला हुँदै जान सकिन्छ । बास वस्न चाहनेहरु यही ठाउँमा समेत हाेमस्टेकाे सेवा लिएर बस्न सक्नेछन् ।

 

लखनथापा किल्लाबाट गाेरखा सदरमुकाम २० मिनेटमा सवारीमा पुग्न सकिन्छ ।