चुमनुब्री गाउँपालिकामा पहिलो पटक मनास्लु हिमाल आरोहण दिवस मनाइने

बिहिबार, बैशाख २०, २०८१

गाेरखा ।  उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पहिलो पटक मनास्लु हिमाल आरोहण दिवस मनाइने भएको छ।

सन् १९५६ मे ९ तारेखका दिन जापानका पर्वतारोही तोसिओ इमानिसी र नेपालका पर्वतारोही ग्याल्जेन नोर्वु शेर्पाले पहिलोपटक मनास्लु हिमालको सफल आरोहण गरेको दिन पारेर ६८औँ मनास्लु हिमाल आरोहण दिवस मनाउन लागिएको हो।

सोही समयदेखि अन्तर्राष्ट्रिय साहासिक पर्यटन क्षेत्रमा मनास्लु हिमालको चर्चा चुलिएको पाइन्छ।

गोरखामा धार्चे मनास्लु पर्यटन विकास समितिले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै गाउँपालिकाका अध्यक्ष निमा लामाले यसअघि काठमाडंमा मनास्लु हिमाल आरोहण दिवस मनाउने गरिए पनि गाउँपालिकाले भने पहिलोपटक दिवस मनाउन लागेको जानकारी दिए।

दिवसको अवसरमा मनास्लु पदमार्ग हुँदै मनास्लु क्षेत्रमा पुग्ने पर्यटकलाई सम्मान गर्ने, प्रकृति पूजा गर्नेलगायत अन्य स्थानीय संस्कृतिको उजागर गर्ने गरी सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने पालिकाले जनाएकाे छ।

‘सोही अवसरमा पर्वतारोहण सङ्घको झण्डा र ब्यानरसहित ¥याली निकाल्ने कार्यक्रम पनि रहेको छ’, उनले भने, ‘त्यसबाहेक अन्य थुप्रै कार्यक्रमको आयोजना गरिएको छ।’

मनाास्लु हिमाल आरोहणका लागि जापानसहित नर्वे, संयुक्त राज्य अमेरिका, डेनर्माक, क्यानडा, चेक रिपब्लिकलगायतका थुप्रै विदेशी पर्वतारोहीको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । याे हिमाल विश्वको आठौँ अग्लो हिमशृङ्खला हो ।