गोरखा, २३ बैशाख । गोरखा सदरमुकाममा रोट महोत्सव हुने भएको छ । सिद्वाश्रम शक्ति केन्द्र गोरखाको आयोजनामा जेठ १० गतेदेखि रोट महोत्सव हुन लागेको हो ।
केन्द्रका अनुसार यो २१ औं रोट महोत्सव हुने छ । गोरखा नगरपालिका-६ को गोरखनाथ मन्दिरमा हुने महोत्सवमा २० गतेसम्म सञ्चालनमा आउने छ ।
गुरु गोरखनाथको मनपर्ने खाद्य वस्तुका रुपमा रोटलाइ लिइने गरिन्छ । रोट चढाएर गोरखनाथलाई खुशी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ । गहुँ, जौ र धेरैजसो चामलको पिठोलाइ आगोमा पोलेर वा तेलमा तारेर रोट बनाउने गरिन्छ ।
विश्व शान्तिको कामना गर्दै महोत्सव अवधिभरमा १ लाख २५ हजारभन्दा बढी रोट चढाइने साधक रामजी अर्यालले जानकारी दिए ।
साधक अधिकारीका अनुसार महोत्सव स्थल गोरखा दरबार क्षेत्र र गोरखनाथ मन्दिर परिसरलाई विशेष रुपमा सजाउने काम सुरु भएको छ ।
गोरखनाथलाई अर्पण गरीएको रोट स्वदेश तथा विदेशमा प्रसादको रुपमा बितरण गर्ने प्रचलन रहेको छ । महोत्सवमा मेला भर्नका लागि हजारौँको सँख्यामा भक्तजनहरु आउने गर्दछन् । गुरु गोरखनाथ प्रकट भएको दिनको अवसरमा २०६१ सालदेखि हाल सम्म हरेकवर्ष सिद्धाश्रम शक्ति केन्द्रले रोट महोत्सव गर्दै आएको छ ।
सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा कलशसहित गोरखनाथ मन्दिरसम्म रथयात्रा गरिने साधक अर्यालले बताए ।