हात्तिसुँडे गुफाकाे व्यापक प्रचार गरिने

आइतवार, बैशाख २३, २०८१
0
85

गोरखा । : गोरखा अजिरकोट गाउँ कार्यपालिकाको ११५ औं बैठक हात्ती सुँडे गुफामा बस्ने भएको छ । अजिरकोट गाउँपालिका–५ मुच्चोकस्थित साउने गाउँमा रहेको पुरातात्विक महत्व वोकेको हात्ती सुँडे गुफाको प्रचारप्रसार, संरक्षण र सम्बद्र्धनका लागि गुफामा शनिबार कार्यपालिकाको बैठक बस्न लागिएको गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले बताइन् ।

‘‘कार्यपालिकाका सवै सदस्यलाई गुफाको बारेमा जानकारी दिन र अध्ययन अवलोकनको अवसरसंगै बैठकको माध्यमबाट गुफाको व्यापक प्रचारप्रसार गर्नका लागि गाउँ कार्यपालिकाको बैठक पनि गुफामा बस्न लागिएको हो, उनले भनिन, ‘‘यसबाट पुरातात्विक महत्व बोकेको हात्ती सुँडे गुफालाई परिचित बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।’’

पालिका भित्रका ऐतिहासिक, पुरातात्विक, पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसारका लागि अजिरकोट गाउँपालिकाले बिभिन्न रणनीति अपाउदै आएको छ । जसअन्र्तगत हात्ती सुँडे गुफामा गाउँ कार्यपालिकाको बैठक गरेर गुफाको प्रचार गर्न लागिएको उपाध्यक्ष भुजेलको भनाई छ ।

हात्ती सुँडे गुफा बि.स २०६० कात्तिकमा लक्ष्मीपूजाका दिन पत्ता लागेको हो । स्थानीय बाबुराम देवकोटा र शैलेन्द्र गुरुङले ओडार देखेपछि भित्रछिर्दै जाँदा साउने गाउँमा आर्कषक गुफा पत्ता लागेको स्थानीयको भनाई छ । ‘‘अन्यत्त्र रहेका गुफाहरुभन्दा फरक चित्राकृति रहेको उक्त गुफामा दुई तला रहेको छ, बाहिरबाट गुफा प्रवेश गरेपछि तल्लो तलाबाट चढेर माथिबाटै निस्कन मिल्ने खालको छ,’’ उनले भने ।

गुफाको पर्याप्त प्रचार गर्नसके अजिरकोटमा आन्तरिक तथा बाह्यपर्यटक भित्र्याउन सकिने गाउँपालिकाले विश्वास लिएको छ । अजिरकोट गाउँपालिकाले हात्ती सुँडेको गुफालाई स्थानीय पाठ्यक्रममा समेत समेटेको छ । पर्यकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको उक्त गुफा संरक्षण र सम्बद्र्धनका लागि गाउँपालिकाले बजेट बिनियोजन गर्दै आएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here