राजेन्द्र न्यौपाने
गोरखा ३१ बैशाख । जिल्लाको गण्डकी गाउँपालिकाले किसानहरुलाई उत्पादनमा आधारित रहेर अनुदान दिन थालेपछि बास्तविक किसानहरु लाभान्वित हुन थालेका छन् । यस अघि मागमा आधारित रहेर राम्रो प्रस्तावना पेश गर्नेलाई अनुदान दिने प्रचलन रोक्दै चालु आर्थिक वर्ष २०८०।०८१ देखि किसानहरुले उत्पादन गर्ने बस्तु र उसले बजारमा विक्री गरेको आधारमा अनुदान दिने गरिएको गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले बताए ।
वडा नं ८ बाट श्री सामुहिक कृषि सहकारी मार्फत सबैभन्दा धेरै तरकारी बिक्री गर्नुहुने श्री लब बहादुर भुजेलले फाल्गुण महिनामा १८७५९ के.जी.तरकारी बिक्री गरी रु.३७,५१८/- रकम प्राप्त गर्नुभएको छ । उक्त रकमको चेक गाउँपालिका अध्यक्ष तिमिल्सिनाले किसान भुजेललाई हस्तान्तरण गरेका छन् ।
गण्डकी गाउँपालिका कृषि विकास शाखाको आ.व. २०८०/०८१ को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत रहेको उत्पादनमा आधारित अनुदान कार्यक्रम २०८० माघ २३ गतेबाट लागु हुने गरी सहकारीहरुसँग सम्झौता गरिएको थियो । जस अन्तर्गत कृषि विकास शाखामा सहकारीहरु मार्फत कृषकहरुको कृषि उत्पादन बिक्री अभिलेख प्राप्त भए अनुसार फागुन महिनामा गण्डकी गा.पा.वडा नं ८ स्थित श्री सामूहिक कृषि उत्पादन सहकारीबाट ६० जना कृषकहरुको विवरण प्राप्त भएको थियो ।
वडा नम्बर ८ का किसानहरुले रु. ३,४८,९४८/- रकम बुझेका छन् । वडा नं ७ स्थित जनकल्याण ताजा तरकारी उत्पादक कृषि सहकारी संस्थाबाट ३७ जना कृषकको विवरण प्राप्त भएअनुसार रु.४६,४५४/- र वडा नं ६ स्थित श्री भैरवी कृषि सहकारी संस्था लि.बाट ३१ जना कृषकको विवरण प्राप्त भएअनुसार रु.५५,९६८/- रकम गरी कुल जम्मा रु.४,५१,३७०/- भुक्तानी लगेका छन् ।
अनुदान रकम वितरणको काम सामूहिक रुपमा गरिदै आएको छ । अनुदान वितरणको क्रममा किसानहरुलाई उत्पादन बढाउन, अर्गानिक खेती गर्न र अन्य प्राविधिक सहयोगका बारेमा थप सल्लाह र सुझाव प्रदान गर्ने गरिएको कृषि अधिकृत सपना थारुले बताइन ।
किसानलाई तरकारीमा प्रति किलोग्राम दुई रुपैयाँ, अण्डा र मासु उत्पादनमा प्रति किलोग्राम पाँच रुपैयाँ अनुदान दिने गरिएको गाउँपालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । किसानहरुले उत्पादन र विक्रि गरेको वस्तुको रेकर्ड सहकारीले राख्नेहरु उनीहरुले पालिकामा पेश गरेको कागज पत्रको आधारमा सहकारी मार्फत अनुदान भुक्तानी दिने गरिएको प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताए । यस कार्यक्रमबाट किसानहरु खुशी भएको उनकोे भनाई छ ।