कट्टेलले ट्रयाक खोलेको २५ वर्ष पछि रानाले कालोपत्रे गराए

शुक्रबार, जेष्ठ ४, २०८१

राजेन्द्र न्यौपाने
गोरखा, ४ जेठ । वि. सं. २०५४ सालमा विशेश्वर कट्टेल गोरखा नगरपालिकाको मेयरमा निर्वाचित भएपछि २०५६ सालमा खोलखोले देखि कट्टेल डाँडासम्म सडकको ट्रयाक खुलेको थियो । कट्टेल डाँडा, आम डाँडा लगायतका क्षेत्रमा जाने नागरिकहरुले २५ वर्ष सम्म कष्टपूर्ण सडकको यात्रा गरिरहे ।

सडक कालोपत्रे गर्न तत्कालिन अवस्थामा प्रयाप्त बजेट थिएन । कतिपय गाउँमा ट्रयाक समेत नभएको अवस्थामा कट्टेल डाँडा जाने बाटो मात्रै कालोपत्रे गर्न सम्भव नभएको तत्कालिन मेयर विशेश्वर कट्टेलले बताए ।

कट्टेल डाँडा जाने सडक स्तरोन्नति र कालोपत्रे गर्नका लागि पटक पटक आफ्नो नेतृत्वमा केन्द्र देखि प्रदेश सरकार डेलिगेशन गएको हालका मेयर कृष्ण राना मगर बताउँछन् ।

म आफै मेयरमा निर्वाचित भएपछि कम्युनिष्टहरुको इतिहास समेत जोडिएको कट्टेल डाँडा क्षेत्र पुग्ने बाटो सहज बनाउन लागि परेकै हुँ, मेयर रानाले भने। प्रदेश सरकारले गोरखा नगरपालिकाको कुरा सुनेर चालु आर्थिक वर्षका बजेट विनियोजन गरिदिएको र त्यसपछि बाटो स्तरोन्नतिको प्रक्रिया सुरु भएको उनले बताए ।

गण्डकी प्रदेश सरकारको पाँच करोड बजेटबाट ठेक्का प्रक्रिया गरी एक हजार चारसय ४४ मिटर बाटो कालोपत्रे गरिएको पूर्वाधार तथा यातायात विकास कार्यालय गोरखाका प्राविधिक कपिल काप्रीले बताए ।

ए वन कन्स्ट्रक्सन गोरखाले चार करोड ११ लाखमा टेण्डर पारेर काम सम्पन्न गरेको छ । कट्टेल गाउँकाे वीच  सम्म बाटो कालोपत्रे भएको छ । केही ठाउँहरुमा यस अघि नै ढलान गरिएका भागहरु रहेका छन् ।

कम्युनिष्टका सँस्थापक नेता पुष्पलाल श्रेष्ठ समेत आएर प्रशिक्षण गरेको गाउँको रुपमा चिनिएको कट्टेल डाँडामा बाटो निर्माणसँगै यहाँका गाउँलेहरु खुशी भएका छन् ।

यस अघि खाेलखाेले रहेकाे नाकाकाे नाम कट्टेल डाँडा तर्फ बाटाे जाने भएपछि कट्टेल चाेक रहन गएकाे छ ।