खेती गर्ने असल किसानलाई कृषि उपकरण प्रदान

बुधबार, जेष्ठ १६, २०८१

अभिषेक तामाङ
गोरखा, १६ जेठ । खेती गर्ने असल किसानहरुलाई कृषि उपकरण प्रदान गरिएको छ । कृषि ज्ञान केन्द्र गोरखाको सहयोगमा तारानगर साना किसान कृषि सहकारी सँस्था लि.मा मार्फत असल किसानहरुलाई कृषि औजार वितरण गरिएको अध्यक्ष यदुविलास भट्टाईले बताए ।

छनौटमा परेका किसानहरुलाई वीस थान हातेट्याक्टर, २६ थान धान काट्ने मेसिन प्रदान गरिएको हो ।
समूहका लागि एक थान धान चुट्ने थ्रेसर मेसिन समेत रहेको भट्टाईले जानकारी दिए ।

परम्परागत रुपमा गोरु पालेर खेती गर्दै आएका किसानहरु खेतवारी जोत्न मिटिटेलर पाएपछि खुशी भएका छन् ।
गोरखा नगरपालिका वडा नं. १० कि सरिता भुजेल अब आफूलाई खनजोत गर्न सजिलो हुने बताउछन् ।

साथिहरुसँग सिकेर मेसिन चलाउँछु, अव गोरु नपाले पनि खेती गर्न सकिने अवस्था भयो । गोरु विना खेत जोत्न सकिएला भन्ने आफूले कल्पना पनि नगरेको तर आज आफ्नै हातले मेसिनको प्रयोग गरेर जोत्ने दिन आएको देखेर अचम्ममा परेको किसान रण बहादुर दुवाडीकाे भनाइ छ ।

चैते धान प्रवर्धन कार्यक्रम अन्तर्गत दुइ हजार रोपनीमा धान खेती गर्न यान्त्रिकीकरण गर्ने उदेश्य गण्डकी प्रदेश सरकारले कृषि ज्ञान केन्द्र गोरखा मार्फत कार्यक्रम ल्याएको केन्द्रकी प्रमुख मिरा चौधरीले बताइन ।

तारानगर साना किसान कृषि सहकारी सँस्था लि. का किसानहरुले ८२० रोपनी क्षेत्रफलमा चैते धान खेती गर्नुभएको छ । उहाँहरुका लागि सहकारी मार्फत उपकरण उपलब्ध गराईएको चौधरीले जानकारी दिइन ।