पक्की पुल माग गरेको ३१ वर्ष पछि बुट्टारमा बेलिब्रिज निर्माण

सोमवार, जेष्ठ २८, २०८१
0
60

राजेन्द्र न्यौपाने
गोरखा,२८ जेठ । त्रिशुली नदि माथि गण्डकी गाउँपालिका वडा नम्बर १ र इञ्छाकामना गाउँपालिका वडा नम्बर ३ जोड्ने बेलीब्रिज गाउँलेहरुले पक्कि पुल  माग गरेको ३१ वर्ष पछि निर्माण सम्पन्न भएको छ । यस क्षेत्रका नागरिकहरुले  २०५० सालदेखि पक्की पुलकाे माग गर्दै आएका थिए ।
काठबाट बनेको झोलुङ्गे पुल तरेर वारिपारी गर्ने गरेको गोरखा बुट्टारका नागरिकहरु पक्कीपुल मागेको लामो समयपछि बेलीव्रिज पुलबाट आउजाउ गर्न पाउने भएका स्थानीय सिताराम रसाइलीले बताए ।

गाउँलेहरु पुल माग्न काठमाण्डौँ जाँदा यतिठूलो खोलामा पुल कसरी सम्भव होला जस्तो लाग्थ्यो तर आफ्नै आँखा अगाडि वर्ष दिन नपुग्दै पुल निर्माण भएको देखेर खुशी लागेको झोलुङ्गे पुल छेउमा भाँडा पसल गर्दै आएकी सरस्वती थापाले बताइन् । हामीहरु यहाँ बसेको आज ३२ वर्ष भयो कति मानिसहरु भारी बोकेर यहि बाटो हिँड्नुभयो अव पुल बनेपछि उतैबाट हिँड्नछन् होला थापाले भने ।

पक्की पुल निर्माणका लागि २०६६ सालमा पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएको भएपनि इञ्छाकामनाको भागमा एउटा पिलर ठड्याएर मात्रै १५ वर्ष वित्यो । पुल निर्माण गर्न पायलिङ मेसिन नदिपारी लैजान नसकेको भन्दै कन्स्ट्रक्सन कामबाट पछि हट्यो ।
हाल वेलिब्रिज निर्माण भएको स्थान नजिकै ब्लु इनर्जी प्रा.लि.ले सुप्पर त्रिशुली नामका हाइड्रोको काम थालनी गरेपछि सामग्री ओसारपसारका लागि उसलाई पनि पुल चाहिने भयो । हाइड्रोको काम सिइ कम्पनीले पाएकामाले उसैले बजेटको व्यवस्थापन भए पुल निर्माण गरिदिने योजना अघि सार्यो, नेपाल सरकार र हाइड्रोको सँयुक्त लगानीमा अहिले वेलिव्रिज तयार भएको छ ।
पक्की पुल निर्माणको काम अघि यस अघिको निर्माण कम्पनीलाई खारेज गरेर नयाँलाई दिने र निर्माण गर्ने तयारी भएको सडक विभागका योजना अनुगमन तथा मूल्याङ्कन शाखा प्रमुख अमित कुमार शर्माले बताए ।


स्थानीय सरोकारवाला नागरिकहरु, स्थानीय सरकारी, सँघीय जनप्रतिनिधिहरुको पहलकदमीमा बेलीब्रिज निर्माण भएको छ । यसबाट गोरखाको गण्डकी गाउँपालिका र शहिदलखन गाउँपालिका, चितवनको इञ्छाकामना गाउँपालिका भित्रका लाख भन्दा धेरै नागरिकहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।

पुल निर्माण कम्पनी सिइका इञ्जिनियर प्रकाश दाहालका अनुसार विकास निर्माणमा स्थानीय जनप्रतिनिधिहरुले गरेको सहयोगका कारण भीमकाय नदि माथि पुल निर्माण गर्न सकिएको हो । २०८० मा नै हामीले पुल निर्माण गरिसक्ने योजना थियो पायलिङ मेसिन भाँचिएर समस्या हुँदा यो साल सफल भएको दाहालले बताए ।

पालिका भित्रका मानिसहरुलाई यसपुलका कारण धेरै लाभ हुने गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले बताए । केही समान पारी लानुपर्यो भने मानिस लगाएर बोकाउनुपर्ने, समय धेरै लाग्ने, बोक्ने मानिस नपाउने, बाटोमा समान हराउने, कहिले नदिमा झर्ने लगायतका धेरै समस्याहरुको समाधान पुलले गरिदिएको उहाँको भनाई छ । पुल निर्माणसँग पालिकाको अन्य विकासमा समेत सुधार हुने तिमिल्सनाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here