जिल्लाकाे आवश्यकता अनुसार गाेरखामा बजेट आएन, निरन्तरका याेजनामा मात्रै सामान्य बजेट

बुधबार, जेष्ठ ३०, २०८१

गाेरखा । जिल्लाकाे आवश्यकता अनुसार जिल्लामा याे वर्ष पनि बजेट आउन सकेकाे छैन ।  प्रधानमन्त्री समेत रहेका जिल्लाकाे विकास निर्माणमा पर्याप्त बजेट आउने अपेक्षा गाेरखाली नागरिकहरूले गरेका थिए । गाेरखाकाे निर्वाचन क्षेत्र नम्बर १ मा ठूलाे आकारकाे बजेटकाे आवश्यकता भएपनि साना याेजनामा मात्रै सरकार केन्द्रीत भएकाे देखिएकाे हाे ।

विभिन्न स्वास्थ्य संस्थाहरुको स्तरोन्नतीका लागि १० करोड २० लाख रुपैयाँ विनियोजन भएको छ । तारानगर, श्रीनाथकोट, खरिबोट, स्वाँरा, सौरपानी, छोप्राक, मुचोक, आँपपीपल, हर्मी, पाँचखुवा देउराली, बक्राङ, आरुपोखरी, मान्बु र मनकामना, काशीगाउँ, केराबारी र गाँखु स्वास्थ्य चौकी भवन निर्माणका लागि बजेट छुट्याइएको छ । सौरपानी र घैरुङ आयुर्वेद औषधालयसहित ताकुकोट, धुवाकोट, देउराली बडडाँडा, नाम्जुङ, ताक्लुङ, घैरुङ स्वास्थ्य चौकीका भवन निर्माणका लागि पनि बजेट राखिएको छ ।

लाप्राकको एकीकृत वस्ती विकास, केरौजा बस्ती विकास कार्यक्रम, बगुवा मिलन वस्ती, बारपाकको भूकम्प स्मृति पार्क निर्माण र गोरखा नगरपालिकामा एकीकृत शहरी विकास कार्यक्रमको डिटेल इन्जिनियरिङ लगायतका कामका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ ।

पालुङटारमा एकीकृत शहरी विकास कार्यक्रमका लागि ८ करोड ६५ लाख र सघन शहरी कार्यक्रमका लागि ३ करोड ८० लाख बजेट छुट्याइएको छ । गोरखा नगरपालिकामा एकीकत शहरी पूर्वाधार विकास कार्यक्रमका लागि १ करोड बजेट राखिएको छ भने पालुङटारको जनता मावि र अमरज्योति माविको खेल मैदान निर्माणका लागि १–१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

पालुङटार नगरपालिकाभिका सडक स्तरोन्नतिका लागि १३ करोड ३० लाख बजेट एकमुष्ट विनियोजन गरिएको छ । पालुङटारमा बसपार्क निर्माणसहित विभिन्न चालु आयोजनाका लागि अपुग बजेटमा थप विनियोजन पनि भएको छ ।

गोरखा सभाहल निर्माणका लागि ४ करोड र गोरखा सांग्रहालय भवन निर्माणका लागि १ करोड बजेट हालिएको छ । बुढीगण्डकी आयोजना क्षेत्रको पूर्वाधार निर्माण १ करोड, गोरखाको चुमनुब्री, गण्डकी, सिरानचोक र अजिरकोट गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न १–१ करोड बजेट राखिएको छ ।

बारपाक सुलिकोट, अजिरकोट, सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिकामा खेल मैदान निर्माण गर्न एकमुष्ट २ करोड ८७ लाख रुपैयाँ छुट्याइएको छ । सिर्दिखोला–बराईगाउँ–घुरेडिही सडक स्तरोन्नतीका लागि १ करोड १५ लाख, शहीद लखनथापा गाउँपालिकामा बाउनबेसी–आमडाँडा सडक स्तरोन्नतीका लागि १ करोड, गोरखा नगरपालिकाको बिन्ध्यबासिनी–पन्थेस्वारा–डेरागाउँ सडक स्तरोन्नति गर्न १ करोड बजेट राखिएको छ ।

गोरखामा बहुप्राविधिक शिक्षालय पूर्वाधार निर्माणका लागि १ करोड ७२ लाख, गोरखाको नमोबुद्ध बौद्ध ध्यान केन्द्र भवन निर्माण गर्न १ करोड ५० लाख बजेट छुट्याइएको छ ।

फिनाम बस्ती संरक्षण गर्न र जेर्बुखोलामाथि लाप्राक–सिङ्ला जोड्ने पुल, आर्खेतखोला झोलुंगे पुलसहित एक दर्जनभन्दा बढी झोलुंगे पुल बनाउन पनि बजेट हालिएको छ । करिब एक दर्जन साना सडक पुलका लागि पनि बजेट छुट्याइएको छ ।

गोरखाको अँबुवा–बिर्दी–सेराबजार–पौवाटार सडक कालोपत्रे गर्न ९ करोड २६ लाख, माछीखोला–रेसेखोला–लाप्राक सडक, भीमसेन थापा चक्रपथ सडक, खप्टे–छक्रे–टोड्के–चिप्लेटी सडक, घ्याम्पेसाल–सौरपानी–भण्डारीगाउँ–बारपाक सडक स्तरोन्नति गर्न १–१ करोड, गण्डकी र शहीद लखन थापा गाउँपालिकाका विभिन्न सडक स्तरोन्नति गर्न १ करोड २८ लाख बराईगाउँ–बायापानी गाउँ हुँदै घुरेडिकी सडक स्तरोन्नति गर्न १ करोड २८ लाख बजेट विनियोजन गरिएको छ ।

चापाभञ्ज्याङ, आँपपिपल, भोटेकोटे, कालामाटा, चाराकुने र ठाटीपोखरीमा सडक स्तरोन्नति गर्न १ लाख २८ लाख, पल्लो हटिया, मुन्डकडाँडा, पिलिदटारी लगायतका क्षेत्रका सडक र केराबारी–गोहोरे–डाँडागाउँ–बतासे सडक स्तरोन्नति गर्न पनि १–१ करोड बजेट हालिएको छ ।

हात्तीगौंडा–करसरे घिमिरेथोक–बेतीनी भोटेकोटेसम्म ७ किलोमिटर सडक स्तरोन्नति गर्न ४ करोड २५ लाख, पालुङटार–१ का विभिन्न सडक स्तरोन्नति गर्न २ करोड १३ लाख र मनकामना जाने सडक र बतासे भञ्ज्याङबाट फुजेलको पौवा डाँडासम्म जाने दुबै सडकका लागि १ करोड ८ लाख रुपैयाँ बजेट छ ।

फिस्लिङबाट गण्डकी गाउँपालिकाको केन्द्र जोड्ने दुबै सडकका लागि १ करोड ४५ लाख, मझुवा–बैटारी–हटिया सडक, अजिरकोटको ४ र १ नम्बर वडा जोड्ने सडक, मादीखोला–अर्चले–ताराखसे–रघुचौर सडक, गौरीचौतारा–मास्कीछाप–चारघरे हुँदै गोरखा नगरपालिका जोड्ने सडकका लागि १–१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

गोरखा–आरुघाट–चनौटे–फूलपातीभञ्ज्याङ–आरुआर्बाङ–थुमी लापु सडक, नयाँसाँघु,–रिजेटार–गाईखुर–बेलीस्वारा सडक, सिउरोनीटार–रामपुर–दलभञ्जाङ–रानीस्वारा–भैरवीथान–याङदी–कुवापानी–बतासेभञ्ज्याङ सडक र चुमनुब्रीको मोचेदेखि प्रोकसम्म सडकका लागि १–१ करोड रुपैयाँ बजेट शहरी विकास मन्त्रालयबाटै राखिएको छ ।

गोरखा नगरपालिकाको नारेश्वर–थापागाउँ–जोगीआहाल–डेरागाउँ सडक, गोरखकाली मन्दिर–छेबेटार भुलभुले खर–लिगलिगकोट–बिरिञ्चोक–बक्राङ–मनकामना मन्दिर सडक, बेनिघाट–लार्के सडक र खहरे–सिम्ले–ठाँटी चिप्लेटी सडकमा १–१ करोड बजेट हालिएको छ ।