
सँगिता राना
गोरखा ३० जेठ । जिल्लाको शहिदलखन गाउँपालिका वडा नम्बर १ स्थित शेरावेशीमा रहेको लुदीखोला फाँटमा पतेराको विषादी छर्ने क्रममा सबै प्रकारका झार मार्ने औषधी छर्दा पाँच रोपनी क्षेत्रफलमा लगाएको धानवाली नष्ट भएको छ ।
सबै प्रकारका झार मार्ने विषादी प्याराक्वाट छर्दा धान मरेको किसान नानीमाया विश्वकर्माले बताइन् ।
कुनै रोग लागेर धान मरेको हो की भनेर प्राविधिक सहितको वडाका जनप्रतिनिधिहरुलाई समेत आफूले देखाएको उनले बताइन् । गलत विषादी छरेको भनेमा क्षतिपुर्ती दावी गर्न नपाईने हुनसक्छ यसलाई डडुवा, खैरो थोप्लो भनेर मुचुल्का उठाउँदा किसानले क्षतीपुर्ती पाउलान् भनेर किसानले राेग लागेकाे टिप्पणी उठाउन दवाव दिएका छन् ।

रोग नै लागेको त होइन तर पतेरो मार्ने विषादीमा झार मार्ने विषादी पनि मिसाएर छर्ने क्रममा किसानको क्षती भएको कृषि प्राविधिक विर्सना तिवारीले बताईन । रोग नै लागेको भए सँगै रहेका अरु किसानहरुको बालीमा पनि देखिनु पथ्र्यो, त्यस क्षेत्रमा उहाँको धानमा मात्रै समस्या देखिएको तिवारीको भनाई छ । विषादी विक्री गर्ने भेटेरेनरीलाई कारवाही गर्नुपर्ने र किसानलाई क्षतीपुर्ती दिनुपर्ने उनको भनाई छ । धानमा विषादी राख्नु अघि वडाका कृषि प्राविधिकसँग आफूले कुनै सल्लाह नलिएकाे किसान बिकले बताइन ।
जैविक विषादीको प्रयोग गर्न आफुहरुले किसानलाई सल्लाह दिने गरेको भएपनि किसानहरुले बजारमा पाइने विषादीकै धेरै प्रयोग गर्ने गरेको उनको भनाई छ । वडामा कृषि प्राविधिक हुँदा पनि किसानहरुले सल्लाह नगरी औषधी र विषादीकाे प्रयाेग गर्दा बालीनाली क्षेती हुने गरेकाे छ ।