दुई ठूला दल मिल्दा देशमा निरँकुश शासनकाे आशँका भएकाे छ : काेइराला

बिहिबार, असार २१, २०८१

 असार २०, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रमा दुई ठूला दल मिलेर सरकार बनाउँदा निरंकुश हुने आशंका पनि उत्पन्न हुने बताएका छन् ।

लोकतन्त्रमा दुई ठूला दल मिलेर सरकार बनाउँदा देश निरंकुशतातिर र अराजकतातिर जान्छ भन्ने चिन्ता छ । बिहीबार वीरगञ्जमा बोल्ने क्रममा कोइरालाले भने, ‘त्यसको पहरेदारी कांग्रेसले गर्नुपर्छ । त्यतातिर जान दिन हुँदैन ।’

राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्नुपरेको सुनाउँदै कोइरालाले त्यसका लागि एमालेसँग सरकार बनाउनु परेको सुनाए । यो गठबन्धन के, कसरी र किन भन्ने आफ्नो ठाउँमा भए पनि संविधान संशोधनका लागि बनेकाले स्वाभाविक लिनुपर्ने बताए ।

 

प्रत्यक्ष निर्वाचनबाट एउटा दलले बहुमत ल्याउन सकिने अवस्था बन्ने गरी संविधान संशोधन गर्नुपर्ने उनले बताए । दुई ठूला दलले अन्य दलसँग चुनावी तालमेल नगर्न प्रतिवद्ध हुनुपर्ने कोइरालाले बताए । चुनावी तालमेल नगर्ने दुई ठूला दलको निर्णय भएमा साना दलहरू विस्तारै विलय हुँदै जाने परिस्थिति बन्ने कोइरालाले बताए । राष्ट्रिय सभामा समानुपातिक तर्फबाट चुनिने गरी संविधान संशोधन गर्न सकिने उनले तर्क गरे ।