गाेरखा । पहाडी क्षेत्रमा मानिसहरु विस्थापित गर्ने एउटा मुख्य कारण बाँदर बनेकाे छ । शहिदलखन गाउँपालिका वडा नम्बर १ का जितेन्द्र न्याैपानेका अनुसार खेती लगायाे पाक्ने बेला बाँदर बारीमा आइपुग्छ, जसरी पनि छलेर बालि विगार्छ, बाँदरकाे कारण अव खेती गरेर खान सकिदैन भनेपछि आफू वैदेसिक राेजगारतिर लागेकाे बताए ।
बाँदरले सताएर खेतीयोग्य जमिन बाँझो हुने जोखिम बढेपछि कतिपय स्थानीय तहले बाँदर नियन्त्रणलाई नीति तथा कार्यक्रममा समेटेका छन् गत वर्ष ५ रोपनीमा मकै खेती गरेका सहिद लखन गाउँपालिका–४ ताक्लुङका सुदीप खनालले एउटै घोगो भित्र्याउन पाएनन् । बाँदरको ‘ड्युटी’ बस्दा पनि उनको जोर चलेन । यस वर्ष मकै लगाएदेखि नै बाँदर ढुकेरै खनालको दिन बित्ने गरेको छ ।
बाँदर तर्साउन ‘गुलेली’
‘बाँदरको ड्युटी नबसे त खान पाइँदैन,’ खनालले भने, ‘मकै उम्रिएदेखि बाँदर बारी पस्छ, टुसा तानेर खाइदिन्छ, अलि ठूलो भयो गुबो, जुँगा, चमेरा केही छाड्दैन ।’ खेती जोगाउन जेठयता दिनभर बारीमै बस्ने गरेको उनले सुनाए । ‘बाँदरले कति दुःख दिन्छ, भनिसाध्य छैन, अहिले पाक्ने बेला भएको छ, दुई महिना भयो खेत छाडेको छैन,’ खनालले भने, ‘बाँदर लखेट्दा पनि नटेर्ने ज्याद्रो खालको छ ।’
बाँदरबाट बाली जोगाउन बिहानैदेखि साँझसम्म किसान बारीमै बस्ने गरेको उनले सुनाए । ‘यो बाँदरको एउटै गुन भनेको राति बारीमा पस्दैन,’ खनालले भने, ‘दिउँसो त नकुरी सुखै छैन ।’ ताक्लुङको चालिसे, बाझोगरा, भुमेथान, पुलामी गाउँमा बाँदरले धेरै सताउने गरेको उनले सुनाए । ७ वर्षयता बाँदरले धेरै दुःख दिन थालेकाले कतिपयले खेतीमा मन लगाउन छाडेका पनि छन् ।
सहिद लखन–४ बाँझोगराका देवप्रसाद तिवारीलाई यस वर्ष ५ रोपनीको मकै भित्र्याउन सकस छ । ‘चारतिर चार जना बस्छौं, कुन साइटमा पस्यो फोन गरेर सबै जम्मा भएर लखेट्नुपरेको छ,’ तिवारीले भने । भुमेथान, बाँझोगरा, चालिसे, तेर्सेलगायत क्षेत्रमा बाँदरले दुःख दिएर किसान विस्थापित हुने अवस्थामा पुगेको सहिद लखन–४ का वडाध्यक्ष यमबहादुर थापा बताउँछन् ।
बाँदरले बालीनाली सखाप पारेपछि वडा कार्यालयले विगतका वर्ष वैकल्पिक रूपमा घाँस खेती, बाख्र्रापालन, खुर्सानी, अदुवा खेतीका लागि वडाले स्थानीयलाई तालिम पनि उपलब्ध गरायो । ‘वैकल्पिक खेती भनेर किसानलाई तालिम दियौं, लगानी गर्यौं । तर, किसान परम्परागत खेती नछाड्ने देखेपछि यस वर्ष नयाँ प्रयोग थालेका छौं,’ थापाले भने । यो वर्ष बाँदर नियन्त्रणका लागि वडा कार्यालयको अगुवाइमा ‘आधुनिक गुलेली’ निर्माण गरिएको छ ।
‘पहिले पनि कार्बन राखेर पड्किएर आवाज आउनेखाले ल्याएका थियौं, सुरुसुरुमा आवाजले डराए पनि पछि आवाजले मात्र नभाग्ने भयो,’ थापाले भने, ‘कसो गरे होला त भनेर नयाँ प्रयोग सुरु गरेका हौं ।’ वडा कार्यालयले पहिलो चरणमा ५० वटा आधुनिक गुलेली निर्माण भएको छ ।
‘चार फिटको फलाम, स्प्रिङ, ट्रिगर, लक र रबर भएपछि आधुनिक गुलेली बन्छ,’ थापाले भने, ‘गुलेलीमा ढुंगा राखेजस्तै बीचमा राखेर निसाना लिएर टिगर दबाएपछि ढुंगा फाल्छ ।’ साधारण गुलेलीको तुलनामा ‘आधुनिक गुलेली’ ले तीन गुणा टाढा ढुंगा फाल्ने उनले सुनाए । आधुनिक गुलेली बनाउन युट्युबबाट सिकेको वडाध्यक्ष थापाले सुनाए ।
‘पुरानो लडाकु (माओवादी लडाकु) पनि हुँ, यसको क्रिएसन म आफैंको हो, केही ज्ञान त पहिले पनि थियो, युट्युब हेरेर पनि केही सिकें,’ उनले भने, ‘वैदेशिक रोजगारबाट फर्किएका साथीहरूले पनि बनाउन सहयोग गर्नुभएको छ ।’ स्थानीय तिलबहादुर थापा, उत्तम थापालगायतको सहयोगमा आधुनिक गुलेली निर्माण भएको थापाले बताए । वडा कार्यालयले पहिलो चरणमा बनाएको ५० वटा आधुनिक गुलेली वडा क्षेत्रकै बाँदर प्रभावित क्षेत्रमा वितरण गर्ने योजना बनाइएको छ ।
वडाभित्र रहेका ६ सय ७५ घरधुरीमध्ये तीन सयभन्दा बढी घर बाँदरबाट प्रभावित बनेको थापाले सुनाए । ‘बाँदरले अति गरेको छ, बारीको अनाज मात्र होइन, घरभित्र पकाइरहेको खाना फालिदिन्छ, भित्रबाटै मकैको झुत्ता तान्छ, महिलासँग अझै डराउँदैन, आक्रमण नै गरूँजस्तो गर्छ,’ उनले भने
वडाको आयआर्जन कोषबाट बचेको रकम र बिदेसिएका स्थानीयको सहयोगबाट आधुनिक गुलेली निर्माण गरिएको हो । निर्माण भएको गुलेली सोमबारबाट वडा क्षेत्रका किसानलाई ७० प्रतिशत अनुदानमा उपलब्ध गराउने वडा कार्यालयको तयारी छ । सहिद लखन गाउँपालिकाका किसानलाई प्रतिगुलेली १८ सय र अन्य पालिकाबाट माग भए दुई हजार रुपैयाँमा बिक्री गर्ने तयारी गरिएको छ । गुलेली निर्माणका लािग १८ सयदेखि २ हजार रुपैयाँसम्म खर्च लागेको थापाले जनाए । वन क्षेत्र नजिकै बस्ती रहेको क्षेत्रमा पहिलो चरणमा बनेका आधुनिक गुलेली वितरण गर्ने कार्यालयको योजना छ ।
ताक्लुङमा मात्र होइन, जिल्लाका अन्य गाउँमा पनि बाँदर आतंकले स्थानीयले सास्ती भोगेका छन् । बाँदरले सताएर खेतीयोग्य जमिन बाँझो हुने जोखिम बढेपछि स्थानीय तहले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बाँदर नियन्त्रणलाई प्राथमिकता दिएका छन् । पालुङटार नगरपालिकाले ‘वनको बाँदर वनैमा’ कार्यक्रम कार्यान्वयनका लागि नगर क्षेत्रमा शनिबार ६ हजार बिरुवा रोपेको छ । वन उपभोक्ता समिति तथा टोल सुधार संस्थासँगको समन्वयमा नगरपालिकाका १० वटै वडामा सामूहिक वृक्षरोपण गरिएको हो ।
घर वरपर नै उपलब्ध हुने केरा, आँप, कटहर, वर, पीपल, स्वामी, किम्बु, मेवा, अम्बा, लिची, भुइँकटहर, लप्सीलगायत बिरुवा सामुदायिक वनको खाली स्थान तथा खोलाखोल्सी किनारमा रोपेको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।
पालुङटार नगरपालिकाले चालु आर्थिक वर्ष ०८१/०८२ मा ‘वनको बाँदर वनैमा’ भन्ने नीति ल्याएको थियो । बाँदर, दुम्सी, मृगलगायतका वन्यजन्तुबाट बालीनाली संरक्षण गर्न आवश्यक प्राकृतिक उपाय अवलम्बन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘किसानको मागअनुसार नै असार ३ को नीति तथा कार्यक्रममा बाँदरको व्यवस्थापनका लागि जंगलमा फलफूल रोप्ने विषय समेटेका थियौं,’ भण्डारीले भने, ‘बाँदर नियन्त्रणका लागि यो नै अन्तिम उपाय त होइन । सम्भाव्य उपायको प्रयोग पनि हो, केही न केही सघाउ पुर्याउँछ कि भन्ने छ ।’