१६ साउन, गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ स्थित रेसेफाँट भिरमा गएको पहिरोमा परी घाइते भएका दिलिप गुरुङको होस खुलेको छ । राष्ट्रिय ट्रमा सेन्टरको १४ नम्बर आइसियुमा राखेर उपचार गराईरहेका गुरुङ आज विहान ८ बजे होसमा आएका उनका दाजु सोम बहादुर गुरुङले जानकारी दिनुभयो ।
उद्धार गरेर ल्याउँदा ग्राण्डि अस्पतालमा लगेको र ग्राण्डिले रिफर गरेपछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
रेसेफाँटको भीरमा पहिरो जाँदा ५ जना बेपत्ता भएका थिए । पाँच जना मध्ये ४ जनाको शव पत्ता लागेर सनाखत भइरसकेको छ र एकजना रमेश परियारको खोजी भइरहेको छ । पहिरोमा परेका मानिसहरु वाटर इनर्जीका विभिन्न तहका कर्मचारी थिए ।
घाइते मध्ये छाम बहादुर गुरुङ उपचार पछि घर फर्केका छन् । पहिरोमा घाइते भएकाहरुलाई हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । हाल सम्म उपचार खर्च र हेलिकप्टर खर्च विरामीका आफन्तले नै गरिरहेका धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।