पहिरोले एक घर बगायो, ११ उच्च जोखिममा

बिहिबार, साउन १७, २०८१
पहिराेले जाेखिमा परेकाे सिङ्ला स्थित घर ।

१७ साउन, गोरखा । बुधवार राती परेको वर्षातका कारण धार्चे गाउँपालिका वडा नम्बर ५ सिङला स्थित पुरन गाउँमा एउटा घर बगाएको छ । गाउँका ११ घर उच्च जोखिममा परेको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।
घर माथिबाट आएको लेदो सहितको बाढी र पहिरोले तेज बहादुर गुरुङको घर बगाएको हो । गुरुङको घरमा भएका खाद्यान्न, लत्ताकपडा र केही नगद रकम पहिरोमा पुरिएर लाखौँ रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

माथिबाट लेदो झर्न थालेपछि घर भित्र सुतिरहेका तीन जना बालबालिकाको सकुशल उद्धार गरिएको तेज बहादुर गुरुङले बताउनुभयो ।

पहिरोमा परी लक्ष्मण गुरुङ, खुम बहादुर गुरुङ, इन्द्र बहादुर गुरुङ, मान बहादुर गुरुङ र सुन्दारम गुरुङ लगायतका ११ घरमा लेदो सहितको पहिरोले पुरिएर उच्च जोखिममा परेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
रुकांङ डाँडाको आसपासबाट झरेको पहिरोका कारण सिङलाको पुरन गाउँमा पूणर् रूपमा क्षति पुर्याएको हो ।

पानी पर्ने बित्तिकै घर माथिबाट आएको पहिरो गाउँ बस्ती तिर छिर्ने गरेकाले बाढी पहिरो नियन्त्रण गरी जोखिम कम गराउन स्थानीय सरकारको पटक पटकको प्रयास सफल नभएको पालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

पहिरो जान सक्ने भन्दै गाउँका स्थानीयहरू सुरक्षित ठाउँमा गएर बसेकाले पनि मानवीय क्षति भएको छैन । आकाशमा वादल देखिएसँगै गाउँलेहरु घरबाहिर सुरक्षित स्थानमा बस्ने गरेका सिङलाका स्थानीय सोम बहादुर गुरुङले बताउनुभयो ।