लटरम्मै पाकेकाे स्याउ माेटरबाटाे नहुँदा ढुवानी समस्या

सोमवार, भदौ २४, २०८१

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङ गाउँमा विभिन्न जातका स्याउ लटरम्मै फलेको छ ।

भदौको पहिलो हप्ताबाट स्याउ खानको लागि तयार भएको स्थानीय वीर बहादुर गुरुङले बताउनुभयो । चुमनुब्रीको प्रोक, नामरुङ, वडा नम्बर ५ को क्य्राक, ल्हो, स्याला लगायतका गाउँमा व्यावसायिक स्याउ खेती भइरहेको छ ।

उत्पादन धेरै भएता पनि बजार अभावका कारण त्यहाँका स्याउहरू गाउँ बस्ती र स्थानीय बजारमै सीमित हुने गरेको स्याउ कृषक एवम् पर्यटन व्यावसायि लाक्पा ढुण्डुप लामाले बताउनुभयो ।

अघिल्लो साल हेलिकप्टरबाट ढुवानी गरेर गोरखा र काठमाडौँमा बिक्री गरेको लामाले बताउनुभयो । खच्चडबाट ढुवानी गर्दा स्याउ बिग्रने भएकाले समस्या भएको लामाकाे भनाई छ ।

नामरुङमा स्याउ फलेको देखेपछि गाउँका अन्यले समेत स्याउ लगाएका छन् । प्राय सबैका घरमा स्याउ खेती हुन थालेको छ ।

स्याउ खेतीका लागि उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको हावापानी उपयुक्त रहेको वडा नम्बर ५ का वडा अध्यक्ष काल्देन छेवाङले बताउनुभयो ।

मोटरबाटो चुमनुब्री गाउँपालिकाको पाङसिङ सम्म पुगेको छ, त्यहाँबाट स्याउ बगैँचा पुग्न दिनभर हिँड्नुपर्दछ ।