गाेरखा । शहिदलखन गाउँको १८ औँ गाउँसभा आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा भएको सभामा आज आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२, शहिद लखन गाउँपालिकाको गाउँ सभा सचिवालय स्थापना तथा कार्यसञ्चालन कार्यविधि, २०८२ तथा विनियोजन विधेयक, २०८२ (पहिलो संशोधन) सर्वसम्मत पारित गरेको छ ।
बैठकमा गाउँपालिका उपाध्यक्षज्यूद्वारा न्यायिक समिति सम्बन्धी प्रतिवेदन तथा आन्तरिक राजश्व सम्बन्धी प्रतिवेदन पेश भएको थियो ।
सभामा कोपिला वि.क., झक्कल बहादुर थापा, काशीनाथ अँगाईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
शहिदलखन गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आर्थिक विकास समिति सँयोजक दिपक पाण्डेले प्रस्तुत गर्नु भएको थियो भने वन वातावरण तथा विपद् व्यवस्थापन विकास समिति सँयोजक प्रेम गुरुङले समर्थन गर्नुभएको थियो ।
शहिदलखन गाउँपालिकाको गाउँसभा सचिवालय स्थापना र कार्य सञ्चालन कार्यविधि २०८२ गाउँ कार्यपालिका सदस्य एवँ वडा नम्बर ६ का वडा अध्यक्ष दिलिप नारायण थापाले प्रस्तुत गर्नु भएको थियो र गाउँ कार्यपालिका सदस्य विमला ढुँगानाले समर्थन गर्नुभएको थियो ।
विनियोजन ऐन, २०८२ (पहिलो सँशोधन, २०८२) गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले प्रस्तुत गर्नुभएको थियो र गाउँकार्यपालिका सदस्य शोभा नेपालीले समर्थन गर्नु भएको थियो । साथै गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले न्यायिक समिति र राजश्व परामर्श समितिको अर्ध वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । लेखा परीक्षण प्रतिवेदनहरु माथि छलफल तथा वेरुजु फछर्यौट समस्यामा जानकारी गराउनुभएको थियो ।






