६ असार, गोरखा । गाेरखा जिल्लाका तीनवटा पालिकाकाे गाउँसभा सम्पन्न भएकाे छ । अजिरकाेट, बारपाक सुलिकाेट र भिमसेनथापा गाउँपालिकाको सभा सम्पन्न भएकाे छ । भिमसेनथापा गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशन गाउँपालिका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष लोक प्रसाद बञ्जाराको सभाध्यक्षतामा गाउँपालिकाको भिमसेनथापा सभाहलमा सम्पन्न भएको छ । अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अध्यक्ष बञ्जाराद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, रु. ५६ करोड ३८ लाख ४७ हजार ८ सय ३५ रुपैयाँ ६० पैसा बराबरको बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ समेत सर्वसम्मत रूपमा पारित गरिएको छ ।
गाउँसभामा न्यायिक समिति, स्थानीय राजस्व परामर्श समिति, लेखा समिति, सुशासन समिति, विधायन समिति तथा विभिन्न विषयगत समितिहरूका वार्षिक प्रतिवेदन प्रस्तुत गरी अनुमोदन गरिएको थियो ।
अधिवेशनको समापन गर्दै अध्यक्ष बञ्जाराले सुशासन, प्रभावकारी सेवा प्रवाह, पूर्वाधार विकास, आर्थिक समृद्धि र समावेशी विकासलाई केन्द्रमा राखेर आगामी वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै गाउँसभा सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण सदस्य तथा कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
यसैगरी बारपाक सुलिकोट गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन गाउँपालिका अध्यक्ष तथा गाउँसभाको अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अध्यक्ष भट्टद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको छ। साथै, आगामी वर्षका लागि रु. ६६ करोड २८ लाख ६८ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरिएको छ ।
कुल बजेटमध्ये सामाजिक विकासतर्फ ४९.८१ प्रतिशत, सडक पूर्वाधारतर्फ १७.५६ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १९.४३ प्रतिशत, संस्थागत विकास तथा सुशासनतर्फ ७.९० प्रतिशत, आर्थिक विकासतर्फ ४.७८ प्रतिशत तथा वन, वातावरण र विपद् व्यवस्थापनतर्फ ०.५२ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले दिगो, समावेशी र परिणाममुखी विकासलाई केन्द्रमा राख्दै सुशासन, प्रभावकारी सेवा प्रवाह, पूर्वाधार विकास, आर्थिक समृद्धि र सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम अघि सारेको जनाएको छ ।