हिट फिल्मको खडेरी, दुई महिनामा निर्माताले डुबाए १० करोड

मङ्लबार, जेष्ठ २९, २०७५


गत बर्ष पहिलो हिट चलचित्रका लागि असारको अन्तिम दिनसम्म पर्खनुपरेको थियो । असार ३० गतेबाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ ले लगानी उठाएर हिट नाफा कमाएको थियो ।
यो बर्षको अवस्था झनै नाजुक देखिएको छ । यो बर्षको सुरुवाती २ महिनामा १३ वटा चलचित्र रिलिज भएका छन् । तर, कुनै पनि चलचित्रले नेपालबाट लगानी उठाएनन् ।
बैशाख ७ गते ‘स्वर्ग मेरो गाउँ’, वैशाख १४ गते ‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’, वैशाख २१ गते ‘डमरुको डन्डिबियो’ र वैशाख २८ गते ‘लम्फू’ र ‘हिरोज’ रिलिज भएका थिए । यी ६ चलचित्रको व्यापारको अवस्था हेर्दा ५ करोडभन्दा बढी लगानी डुबेको छ ।
हुनत, अहिले केही निर्माताले नेपालबाट लगानी उठाउन नसके पनि ओभरसिज र डिजिटल राइट्सबाट आफूलाई सुरक्षित राखेका छन् । तर, नेपालको बक्स अफिसमा वैशाखमा रिलिज भएका सबै चलचित्र असफल भए । ‘कोहलपुर एक्सप्रेस’ले १ करोड ग्रस कलेक्सन गरेको भन्दै केक काटे पनि नेपालबाट लगानी उठाउन चुक्यो ।
जेठको अवस्था झनै दयनीय छ । जेठ ४ गते ‘हैरान’, जेठ ११ गते ‘सुनकेशरी’, जेठ १८ गते ‘अमेरिका बोइज’, ‘बेबी आइ लभ यू’ र ‘हरी’ रिलिज भए । यी ३ वटै चलचित्र पूर्णरुपमा असफल भए । ‘हरी’ र ‘बेबी आइ लभ यू’को अवस्था नाजुक रह्यो भने ‘अमेरिका बोइज’ पनि आशातित चलेन । जेठ ११ मा रिलिज भएको नायिका ऋचा शर्माको चलचित्र ‘सुनकेशरी’ युनिटले पनि १ करोड ग्रस गरेको भन्दै केक काट्यो । तर, यो झुट खेति मात्र सावित भएको छ ।
जेठको २५ गतेबाट रिलिज भएको कलाकार बुद्दि तामाङ अभिनित चलचित्रहरु ‘मट्टमिाला’ र ‘चंगा’ दुबै असफल भइसकेका छन् । यी दुई चलचित्रको असफलतासँगै जेठ महिना पनि हिट चलचित्र बिहिन बन्यो । ७ वटा चलचित्रको औषत लगानी ५ करोड रहेको अनुमान लगाउन सकिन्छ । यसरी हेर्दा २ महिनामै १० करोड लगानी बालुवामा पानीसरह भएको छ ।