१२ भदौ, काठमाडौं । राजधानीबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकहरुको प्राथमिकतामा आज पनि काठमाडौंमा हुन गइरहेको बिम्स्टेक सम्मेलन परेको छ । पत्रपत्रिकाहरुले बिम्स्टेकमा नेपालको एजेण्डादेखि यसको सुरक्षा तयारीलगायत विषय उठान गर्दै त्यसको चर्चा परिचर्चा गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रमुख सञ्चार माध्यमका प्रधानसम्पादक तथा समाचारप्रमुखसँगको भेटमा प्रधानमन्त्री केपी ओलीले प्रष्ट्याएका विषयलाई पनि आजका पत्रपत्रिकाहरुले उच्च महत्त्व दिएका छन् । प्रधानमन्त्री ओलीले सञ्चार माध्यमका सम्पादक तथा समाचार प्रमुखहरुलाई बिम्स्टेक, सरकारका काम कारबाही र अबका प्राथमिकतालगायत विषयमा जानकारी गराएका थिए ।
आमाको कोखबाट चोरिएकी आठ महिने शिशुको महोत्तरीमा हत्या भएको छ । यो विषयलाई पनि आजका सबैजसो दैनिक पत्रिकाहरुले नछुटाइकन कभरेज गरेका छन् ।
पत्रपत्रिकहरुको पहिलो पृष्ठमै व्यंग्यात्मक कार्यक्रम नहुँदा गाईजात्रा खल्लो भएको, पप्पु कन्ष्ट्रक्सनका अधिकांश योजना अलपत्र परेको, पश्चिम सेती विवाद टुंग्याउन चिनियाँ प्रतिनिधि काठमाडौं आइपुगेको, आफन्त जोगाउन कञ्चनपुर हत्या तोडमोड गरिएको लगायत खबर पनि छन् ।
‘बिम्स्टेक सम्मेलनमा १७ हजार सुरक्षाकर्मी’ शीर्षक दिएर नयाँ पत्रिकाले बिम्स्टेक सम्मेलनको सुरक्षाबारे मुख्य समाचार लेखेको छ । समाचार अनुसार सुरक्षाका लागि १७ हजार सुरक्षाकर्मी परिचालन गरेको सरकारले हेलिकोप्टरबाट समेत निगरानी गर्नेछ । ‘सम्मेलन अवधिभर सम्मेलनस्थल तथा भीभीआईपी आवागमन क्षेत्रमा सेनाले हवाई गस्ती गर्नेछ’, नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।
बिम्स्टेकका १४ एजेन्डा आज परराष्ट्र सचिवस्तरीय बैठकबाट सार्वजनिक हँदैछ भने ओली–मोदी भेटवार्ता १५ भदौका लागि तय गरिएको छ ।
महोत्तरीमा आमाको काखबाट खोसेर आठमहिने शिशुको हत्या भएकोलाई नागरिकले मुख्य समाचार बनाएको छ । ‘निराश जनता खतरनाक’ भनेर प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ ।
नेपाल वायु सेवा निगमको वाइडबडी खरिदबारे छानबिन शुरु भएकोलाई मुख्य समाचार बनाएको अन्नपूर्णले विदेशी लगानीका कम्पनीमाथि सरकारले निगरानी बढाएको लेखेको छ । विदेशी लगानीमा सञ्चालित कतिपय कम्पनीले उद्देश्यअनुसार काम नगरेको र व्यापारिक प्रवेशाज्ञा लिएर इसाई धर्म प्रचार गरेको भेटिएपछि सरकारले त्यस्ता उद्योग र तिनका सञ्चालकप्रति कडाइ गर्ने भएको हो ।
कान्तिपुरले पप्पु कन्ष्ट्रक्सनका अधिकांश काम अलपत्र परेको लेखेको छ । कान्तिपुरमै संस्कृत सिक्दै मुस्लिम बालबालिका शीर्षकको अर्को खबर पनि छ । विराटनगरको गायत्री संस्कृत विद्यालयमा यसरी मुस्लिम बालबालिकाहरुले संस्कृत अध्ययन गरिरहेका हुन् । समाचार अनुसार यो विद्यालयमा अध्ययनरत ३ सय बालबालिकामध्ये ४६ मुस्लिम छन् ।
राजधानीमा नेकपाको जिल्ला एकता भद्रागोल भएको, कांग्रेसले जनप्रतिनिधिलाई कर कक्षा दिएको लगायत समाचार छन् भने गोरखापत्रले व्यंग्यात्मक कार्यक्रम नहुँदा गाईजात्रा खल्लो भएकोलाई एंकर बनाएको छ ।