समाचार

बङ्लादेशका पूर्वप्रधानमन्त्री जिया ढाका जेलमा स्थानान्तरण

By pnthari

September 06, 2018

ढाका : बङ्गलादेशका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधबार राजधानी ढाकाको अर्को जेलमा स्थानान्तरण गरिएको छ । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनुभएकी जियालाई सरकारले ढाका केन्द्रीय जेलमा स्थानान्तरण गरेको हो । ७३ वर्षकी उहाँले पाँचवर्षे जेल सजाय भोगिसक्नु भएको छ । उहाँलाई जेल सार्ने बेलामा ह्लिचियरबाट लगिएको थियो । राम्रोसँग सुन्नसमेत नसक्ने नेत्री जियाले आफू अत्यन्त बिरामी भएको अदालतसमक्ष बताउनुभएको थियो । उहाँले भन्नुभयो, “मैले न्याय पाउदिन भन्ने मलाई थाहा छ, मेरो हात खुट्टामा पक्षाघात भएको छ, मलाई जहाँ राखेर शासन गर्ने हो गर ।” बङ्गलादेशको एनटीभीबीडी डट कमले सम्प्रेषण गरेको समाचारमा बङ्गलादेश नेशनलिष्ट पार्टीका प्रमुख जियाले थप्नुभयो, “तिमिहरूले जस्तो चाहन्छौँ, त्यस्तैगरी मलाई कारवाही गर्न सक्छौँ, तर राम्रोसँग बस्न र उपचार गर्न देऊ ।” आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको उहाँले बताउँदै आउनु भएको छ । बच्चाहरूका लागि विश्वभरबाट सङ्कलन गरिएको बाल विकाससम्बन्धी एक कोषको एक करोड ६१ लाख रकम दुरूपयोगको अभियोगमा उहाँलाई अदालतले दोषी ठहर गरेको हो । अदालतले नेत्री जियाका चार जना सहयोगीलाई भने १० वर्षको जेल सजाय सुनाएको थियो ।