फणीन्द्र फुयाल (ज्वाला)

Breaking News

सूचना, सञ्चार, र पत्रकार संहिता

By pnthari

September 17, 2018

फणीन्द्र फुयाल ज्वाला सञ्चार भन्ने बित्तिकै एक व्यक्ति वा समूहसम्म बोली, शब्द, संकेत, चिन्ह, लिपि, अंक, इशारा वा अन्य कुनै प्रकारले विचार, धारणा एवम् जानकारी आदान प्रदान गरिने प्रक्रिया भन्ने बुझिन्छ । प्रष्ट रुपमा भन्नु पर्दा सामाजिक परिवर्तन सञ्चारकै कारण सम्भव हुन्छ भन्ने बुझिन्छ । पुरातन युगबाट आधुनिक सूचनाको युगम्मको सामाजिक परिवर्तनको मुख्य कारण भनेकै सञ्चार हो । निरन्तर रुपमा सञ्चार प्रक्रियाको विकास भएको कारणले नै आजको अवस्थामा मानव समाज यो अवस्था सम्म आइपुगेको हो । सामाजिक परिवर्तन तथ्य, विचार, धारणा र सूचनाको बिनिमय बिना असम्भव हुन्छ । सञ्चारलाई बिभिन्न दृष्टिबाट हेरिएको छ । यी सबै दृष्टिकोण कुनै न कुनै रुपमा सामाजिक परिवर्तनसँग सम्बन्धित छन् । सूचना साझेदारी वा सन्देश आदान प्रदान प्रक्रिया, मानव क्रियाकलाप, ज्ञानको एक विधा, एक पेशा, एक उद्योग आदि दृष्टिकोणहरु हुन् । सञ्चार एउटा प्रक्रिया हो । यो प्रक्रिया पूर्णतया समाजिक परिवर्तनसँग सम्बन्धित छ । जसका आफ्नै पूर्वसर्तहरु बिद्यमान् छन् । साझा सञ्चार वातावरण, प्रेषक र प्रापकबिच सहकार्य, माध्यमको चयन, संदेश वा सूचनाको उपयुक्त संकेत वा अभिव्यञ्जन र प्रतिसंकेतन वा बोध, अपेक्षित प्रतिक्रियाको प्राप्ति यी आदि कारणले नै सामाजिक परिवर्तन हुन पुग्छ । एक ठाउँको खबर अर्को ठाउँमा पु¥याउन तथा जनसमुदायलाई कुनै सूचना दिनका लागि प्राचिन कालमा कुनै व्यक्ति विशेषलाई जिम्मा दिइने कटुवालप्रथा रहेको थियो । साथै मानिसहरुको ध्यानाकर्षण गर्नका लागि ढोल, दमाहा, नगरा, झ्याली बजाउने प्रचलन रहेको थियो । परेवा तथा घोडालाई तालिम दिई एक ठाउँको खबर अर्को ठाउँमा पुर्याउने कार्यमा तिनीहरुको प्रयोग समेत गरिन्थ्यो । हाम्रो देशमा पृथ्वीनारायण शाहले नेपालको एकीकरणको बेलामा गन्धर्व (गाइने) हरुको माध्यमबाट राष्ट्रिय एकताको सन्देश प्रभावकारी तवरले प्रवाह गरेका थिए । लोक सञ्चार माध्यम अन्तर्गत अझै पनि गित संगितमार्फत, सत्यनारायणको पूजा, तीज, आदि पर्वहरुमा गित तथा स्लोक मार्फत सन्देश प्रवाह गरिँदै आएको छ । सूचना लेखि सार्वजनिक स्थालमा टाँसेर पनि जनसमुदायलाई सूचित गर्ने प्रयास गरिन्थ्यो । यसैगरी मठ मन्दीरहरुमा काष्ठ कलाको प्रयोग गरी, ढुंगामा शिलालेख लेखि सन्देश दिने हाम्रो पुरानै सञ्चार शैली हो । यी सबै सञ्चारका परम्परागत वा पुराना तरिकाहरु हुन् । आधुनिक मानव समाजमा नयाँ नयाँ प्रविधिसँगै सञ्चारका साधनहरु पनि विकसित हुँदै गए । आज हामीसँग सञ्चारका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन, समाजिक सञ्जाल जस्ता साधन रहेका छन् । भू उपग्रह, उपग्रह, कम्प्युटर, अप्टिकल फाइबर, आदिले गर्दा सञ्चार सुविधा पहिले भन्दा अझ बढी छिटो छरितो र सहज समेत बनेको छ । वास्तवमा मानिसले समय र दूरीको अवरोधलाई प्रविधिको उपयोगबाट जित्ने प्रयास गरिरहेको छ । विश्वभरका घटना विवरण तत्काल घरमै बसी बसी हेर्न र सुन्न सकिएको छ । यसरी आपसी सम्पर्क व्यापक मात्रामा हुन सकेकाले बिश्वबन्धुत्व भावनामा समेत बृद्धि भई विश्वग्राम (ग्लोबल भिलेज) को अवधारणालाई बल पुगेको छ र सार्थकता पनि भएको छ । सञ्चार क्षेत्रमा भएका नयाँ नयाँ परिवर्तनले हरेक देशको संस्कृतिमाथि प्रभाव पारिरहेको छ । सञ्चार साधनको उपलब्धताले मानिसको दिनचर्या नै बदलिएको छ । आजभन्दा केही बर्ष अघि र अहिलेको मात्रा तुलना गर्ने हो भने पनि यो परिवर्तन स्पष्टसँग देखिन्छ । सञ्चारमाध्यमको ब्यवसायिक पक्षले पनि आधुनिक मानव समाजमा ठूलो महत्व पाएको छ । सञ्चारकै कारण असिमित रोजगार प्राप्त भएको छ । वर्तमान युगमा सूचना नैं वास्तबिक सम्पत्ति हो । सञ्चारलाई जीवनपद्धती नबनाई सुखै छैन । पत्रकारिता र आमसञ्चार माध्यमको विकासक्रमसँगै विकास पत्रकारिताको पनि सुरुआत भयो । यालन चक्लीलाई विकास पत्रकारितको पिता मानिन्छ । उनले विकास पत्रकारिता सम्वन्धी आफ्नो धारणा यसरी ब्यक्त गरेका छन्, ‘विकासबारे आमसञ्चारका माध्यहरुले लेख्ने प्रक्रिया प्रारम्भिक चरणमा छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि माध्यमले विकास सम्बन्धी गतिविधिले राजनीति, अपराध, र यौनपछिको चौथो स्थान पाएको छ ।’ चक्लीको यो भनाइ नेपालका अधिकांश मिडियामा लागू हुन्छ । विकास सञ्चार नेपाली मिडियाको सबैभन्दा अन्तिम विकल्प भएको छ । ‘विकासका लागि सञ्चार’ भन्ने मूल नाराकासाथ स्थापना भएको नेपाल टेलिभिजनले पनि जो सरकारमा जान्छ उसैको गुणगान गाउन छोडेको छैन । नेपालमा विकास सञ्चार सुरु भएको ठिक मिति यही हो भन्न त गहे छ । तर पनि बि.सं २०४८ सालमा राष्ट्रिय सञ्चार योजना लागू भएपछि विकासको लागि सञ्चार भन्ने नारा घन्कियो । आमसञ्चारका मध्यमद्वारा सरकारका विकास गतिबिधिको प्रचारप्रसार गर्ने उक्त सञ्चार योजनाको उद्देश्य रहेको थियो । भारतदत्त कोइरालाले गोरखापत्रमा आफु सम्पादक रहँदा विकास सञ्चारको अभ्यास गराएका थिए । गोरखापत्रको ‘गाउँघर’ स्तम्भ त्यतिबेला निकै लोकप्रिय र चर्चित बनेको थियो । जसका लागि पत्रकार किशोर नेपाल राजधानी नजिकैको धादिङ जिल्लाका गाउँ गाउँ घुमेर विकास सम्वन्धी समाचार खोजि गर्थे । नेपालमा सञ्चार कसका लागि भन्ने प्रश्न निकै उठ्ने गरेको छ । विकास प्रक्रियामा सञ्चार र सञ्चारकर्मीको भुमिका कस्तो हुने भन्ने स्पष्ट व्यबस्था छैन । प्रायः नेपालका सञ्चार माध्यमहरु सुगम क्षेत्रका शहरी, बुद्धिजिवीहरु, शिक्षित एवम् धनीमानीहरुको पहुँचभित्र छ । अधिकाँश विद्युतीय माध्यम सहर केन्द्रित छन् । काठमाडौंबाट प्रकासन र प्रसारण हुने अधिकांश मिडियाको पहुँच गाउँसम्म छैन । स्थानीय मिडियाले स्थानीयका आवाज बोलिरहेका त छन् तर तिनीहरुपनि न्यून गुणस्तर तथा सामाग्रीमा काठमाडौं केन्द्रित नै छन् । पत्रपत्रिका, रेडियो टिभि र अनलाइन ग्रामिण क्षेत्रको झलक दिने सामग्री अत्यन्त न्यून मात्रमा पाइन्छ । सामुदायीक भावनाबाट खुलेका अधिकांश नेपाली एफएम प्रसारणहरु व्यबसायीक जस्ता देखिन्छन् । तैपनि ग्रामीण सञ्चारलाई थेग्ने काम चाहिँ यिनै स्थानीय मिडिायाले गर्दै आएका छन् । तर यतिबेला संविधानको प्रस्तावनमामै उल्लेख भएको पूर्णं प्रेस स्वतन्त्रता कायम गर्नका लागि र खोसिन लागेको सूचनाको हक जोगाउनका लागि आम नेपाली पत्रकारहरु आन्दोलित छन् । नेपाल पत्रकार महासंघलगायत देश तथा बिदेशमा रहेका पत्रकारका बिभिन्न संघ, संस्था, संगठन र पत्रकारहरु फौजदारी संहिताको स्वतन्त्र प्रेस बिरोधी दफाहरु खारेज गर्नका लागि सरकारलाई ज्ञापन पत्र बुझाउँदै संघर्षका कार्यक्रम घोषणा गरी अघि बढि रहेका छन् । यद्यपी सरकारले संहितामा उल्लेख गरिएका बुँदा सच्याउन र पूर्ण प्रेस स्वतन्त्रता कार्यान्वयन गर्नका लागि पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा एक समिति गठन गरेको छ । उक्त समितिले गर्ने कार्य भने हेर्न बाँकि छ । samabeshi@gmail.com