लमजुङ मनाङ सडकमा बाँसका भर्याङ

शनिबार, साउन ३१, २०७७
काठ र बाँसको प्रयोग गरेर बनाइएको घोप्टे खोला माथिको फड्के ।

बेलिना थापा

साउन ३१ लमजुङ । लमजुङको मस्र्याङदी गाउँपालिका ४ ताघ्रिङको घोप्टेखोलामा आएको बाढीपहिरोले सडक बगाउँदा यात्रु ‘फड्के’ वा भर्याङ बनाएर वारपार गर्न बाध्य छन् ।

जसोतसो काठको फड्के बनाएको दिनमा वारपार गर्न सकिएपनि भोलिपल्ट फड्ने बगाउने गरेको छ । दिनैजसो घोप्टेखोला माथि फड्के बनाएर आउजाउ गर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् । रामबजारका जितबहादुर गुरुङका अनुसार विहान फड्के बनाएर घर जाने र भोलिपल्ट आउँदा फड्के बगाएको हुन्छ । फड्के र बाँसका भर्याङ बनाएर आउजाउ गर्ने गरिएको छ ।

बेंसीसहर–चामे सडकमा पर्ने घोप्टेभिरकै बाटो भएर मस्र्याङ्दी गाउँपालिकाको माथिल्लो क्षेत्र र सिंगो मनाङ जिल्लाका नागरिक हिँड्ने गर्छन् । बेंसीसहरबाट करीब १९ किलोमिटरको दुरीमा रहेको घोप्टेखोलासम्म जसोतसो मानिस पुगेपनि त्यसभन्दा माथि फड्के वा भर्याङबाट वारपार गर्नुपर्छ ।

‘सडक नै बगाएपछि खोलामा फड्के हालिएको छ । फड्के बगाएपछि भर्याङ राख्ने गरिएको छ । कहिले फड्के र कहिले भर्याङ बनाएर डराई डराई हिँडेका छौं’ उनले भने, ‘फड्के नहाली खोला पार गर्न सकिँदैन । कतिदिनसम्म यसरी दुःख पाउने हो, थाह छैन ।’रामबजारकै रामबहादुर गुरुङका अनुसार घोप्टेखोलाको वारीसम्म जसोतसो जीप आउने गर्छ ।

सवारी वारपार गर्न सक्ने अवस्थ छैन । सवारी साधनमा आएका रामबजार, स्याँगे, च्याम्चे र मनाङका नागरिक घोप्टेखोला आउने वित्तिकै सवारीबाट उर्लने गर्छन् । आफुले ल्याएको सामान फड्केको बाटो हुँदै भरिया लगाएर पारी लैजान्छन् । फड्के पार गर्न नसक्नेलाई स्थानीयले हात समाउँदै डोर्याएर पारी लगिदिने गरेका छन् । दैनिक जसो फड्ने बनाउनु पर्ने भएकाले १०/१२ जना स्थानीय दैनिक खटिएर फड्के र भर्याङ बनाउन खटिएका छन् । महिला, बृद्बधालाई फड्के पार्न गर्न समस्या हुने भएकाले उनीहरुलाई सहयोग गर्ने गरेका छन् ।

स्थानीय धनबहादर गुरुङले करिव एक हप्तादेखि दैनिकजसो फड्के बनाउँदै आवातजावत गर्ने गरिएको बताए । ‘ठूला मान्छे मात्र नभएर बच्चाहरु, महिला दिदीबहिनी, बुढा बाआमालाई निकै समस्या छ । यहाँबाट खस्यो भने खोलाले बगाएर मस्याङ्दीमा पुगिन्छ । बाँच्ने, नबाँच्ने हेक्का हुँदैन । यस्तो जोखिममा आउजाउ गर्नुपर्ने अवस्था छ ।’

स्थानीय बलबहादुर गुरुङका अनुसार बाढीपहिरोले ढुंगाको चिप्लेटीमात्रै बाँकी राखेर सबै रुखविरुवा र स–साना ढुंगामाटो बगाएको छ । हिमाली जिल्ला मनाङ जाने एक मात्रै बेंसीसहर–चामे सडकको लमजुङ खण्डमा पर्ने घोप्टेखोलाको बाढीपहिरोले दायाँबायाँको ढुंगा मात्र बाँकी राखेको छ । सडक बगाएपछि उत्तरी लमजुङ र सिंगो मनाङ जिल्लाका बासिन्दालाई गन्तब्यमा पुग्न कठिन भएपछि उत्तीसको काठ तेस्र्याई फड्के बनाइएको उनले बताए ।

बेंसीसहर–चामे सडकको अन्य खण्डमा केही सहज भएपनि घोप्टेभीरमा ठूलो बाढी जाँदा सडक बगाएपछि जोखिम मोलेर हिँडनुपर्ने अवस्था रहेको छ । नागरिकका समस्या र गुनासालाई मध्यनजर गरी बेलिब्रिज हाल्ने योजना बनाएको उनले बताए ।

घोप्टेभीर निरीक्षण गर्न पुगेका गण्डकी प्रदेश विकास समितिका सभापति दीपक कोइरालाले खोलामा छिटो भन्दा छिटो पुल राख्नका लागि निर्देशन दिने बताए । लमजुङ र मनाङका नागरिकलाई सुविधा दिनु गण्डकी प्रदेश सरकारको पनि दायित्व भएकाले यसमा आफ्नो चासो रहेको उनको भनाई छ ।

बेंसीसहर–चामे सडक बर्खायाममा बाढीपहिरो हुँदा हरेक बर्ष बन्द हुने गरेको छ । सडक बाढीपहिरोले बगाउँदा स्थानीयले निकै जोखिम मोलेर वारपार गरिरहेका छन् । बेंसीसहरदेखि म्यार्दीसम्म लमजुङ खण्ड ३५ किलोमिटर र म्यार्दीदेखि चामेसम्म मनाङ खण्ड ३० किलोमिटर रहेको छ ।