राजेन्द्र न्यौपाने भदौ ६ गोरखा
वर्षातका गएको विभिन्न स्थानमा गएको पहिरोका कारण उत्तरी गोरखामा पैदल यात्रा अवरुद्द भएको छ । जिल्लाको धार्चे गाउँपालिका स्थित तातोपानी र त्यसभन्दा माथि दर्जनौ स्थानमा पहिरो गएका कारण पैदल यात्रा असम्भव भएको हो ।
पहाडबाट ढुंगा झर्ने क्रम नरोकिएकाले यात्रा गर्ने अवस्था नरहेको स्थानीयहरुले बताएका छन् । चुमनुब्री गाउँपालिका आउजाउ गर्न यतिबेला सम्भव नरहेको चुमनुब्री गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङ बताउँछिन ।
चुम र नुब्री जाने न्याकफेदीमा रहेको पुल नजिकै ठूलो पहिरो गएर खोला समेत थुनिएको छ । खोला थुनिने र खोलिने क्रम जारी रहेको गुरुङको भनाई छ । यसबाट सामागाउँ र छेकम्पार तर्फ जाने नागरिकहरु अफ्ठेरोमा परेका छन् ।
वर्षात रोकिएपछि बाटो निर्माण गर्ने र त्यसपछि मात्रै बाटो सहज हुने उपाध्यक्ष गुरुङले बताइन ।