राजेन्द्र न्यौपाने भदौ ७ गोरखा ।
जिल्लाको गण्डकी गाउँपालिका सभा प्रक्रिया अघि बढेको गाउँपालिकाले जनाएको छ । यस अघि वडाबाट योजनाहरु प्राप्त नभएको र अहिले आउने क्रम जारी रहेकाले केही दिन भित्रै गाउँपालिका सभा हुने गाउँपालिका अध्यक्ष होम बहादुर रानाले बताए ।
गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने एकीन नहुँदा पालिका भित्रका बहुमत सदस्यहरुले पहिले पालिकाको केन्द्र निर्धारण गर्न माग राख्दै आएका थिए ।
पालिका भित्रका अधिकाँश नागरिकहरुले राजमार्ग आसपास पर्ने गरी पालिकाको केन्द्र तोक्नुपर्ने माग राख्दै आएका छन् । अहिले पालिकाको केन्द्र रहेको भैरवीथान अपायक रहेकाले फिस्लिङ, बनटार, बुटार, ज्यामिरेघाट, सिउरेनीटार लगायतका मध्ये एक स्थानलाई पालिकाको केन्द्र तोक्न पालिका भित्रका ९९ प्रतिशत जनता र कार्यपालिका बहुमत सदस्यहरुको माग रहेको कार्यपालिका सदस्य तुलसी रेग्मीले बताए ।
केन्द्र कहाँ राख्ने भन्ने विषयमा सहमति जुट्न नसकेका कारण मात्रै पालिका सभा हुन नसकेको कुरा सत्य नभएको र बहुमत कार्यपालिका सदस्यहरुले स्थानीय तह ऐन अनुसार गाउँसभा माग गर्दै साउन २६ गते पालिका अध्यक्षलाई निवेदन दिएको कार्यपालिका सदस्य जीवन गुरुङले बताए ।
सभा बोलाउने नबोलाउने विषयको निर्णय अध्यक्षको भएको उनको भनाई छ । पालिकाको केन्द्र सबै जनतालाई पायक पर्ने स्थानमा राख्नुपर्ने बहुमत सदस्यहरुको माग रहेको उनले जानकारी दिए । पालिका सभा नहुँदा विकास निर्माणमा असर परेको हुँदा जनताका पक्षमा निर्णय लिन गाउँपालिका अध्यक्ष जिम्मेवार हुनुपर्ने गुरुङले बताए ।