मनासलु सम्वाददाता
भदौ १० दैलेख ।
कर्णाली प्रदेशको दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल गर्ने काम छ महिनापछि हुने भएको छ । बन्दाबन्दी भएका कारण चीनबाट उपकरण ल्याउन नसकिएकोले अन्वेषणके काम पछि सरेको ह
खानी तथा भूगर्भ विभागले छ महिनापछि फागुनतिर ड्रिल गर्ने कार्यतालिका अघि सारेको छ । विभागका उपनिर्देशक सुधीर रजौरेका अनुसार, “बन्दाबन्दी नभएको भए ड्रिल गर्ने औजार चीनबाट आइसक्थ्यो तर बन्दाबन्दीले हवाई सेवासमेत बन्द भएकाले ड्रिल औजार ल्याउन सकिएको छैन । अब सन् २०२० मा काम होलाजस्तो छैन, २०२१ को सुरुबाट ड्रिल गर्ने सोच छ । ” ड्रिल औजार चीनको कम्पनीले आफैँ ल्याउँछ ।
वर्ष गरिएको अध्ययनले ड्रिल गर्ने स्थानको पहिचान गरेको छ तर त्यसको प्रतिवेदन भने आइसकेको छैन । कुन स्थानबाट ड्रिल गर्ने भन्ने पहिचान गर्न गरिएको अध्ययनको प्रतिवेदन निर्माण अन्तिम अवस्थामा रहेको रजौरेले बताए ।
चीनको अध्ययन समूहले प्रतिवेदन अध्ययन गरिरहको र उनीहरूले छिट्टै निष्कर्ष दिने विभागले जनाएको छ । अबको काम ड्रिल गर्ने प्रक्रिया भएको उनले बताए।
विभागका अनुसार विगतका अध्ययनले दैलेखमा कच्चा तेल र ग्यास छ भन्ने कुरा देखाएको छ । रजौरेले भने, “हामीले अध्ययन गरेकामा पेट्रोलियम पदार्थ छ भन्ने त पक्का भयो तर कति र कस्तो छ भनेर पत्ता लगाउने काम भने ड्रिलबाट मात्र हुन्छ । ”
गत वर्ष ‘सेस्मिक रेफ्लेक्सन सर्भे’ र ‘म्याग्नेटोटेलुरिक सर्भे’ गरेको थियो । सोही सर्भेका आधारमा ड्रिलको काम गर्न लागिएको हो । ४.५ किलोमिटर गहिराइमा ड्रिल गरिनेछ । ड्रिल एक स्थानबाट मात्र नभई विभिन्न स्थानबाट गरिने योजना छ । जसका लागि सम्भावित स्थानहरूको पहिचान हुँदै छ ।
दैलेख सदरमुकामदेखि पाँच किलोमिटर पश्चिममा २० किलोमिटर क्षेत्रको तीन स्थानबाट अन्वेषणको काम हुँदै आएको छ । चिनियाँ सहयोगअन्तर्गत गर्नुपर्ने काम सम्पन्न भएका छन् । उपनिर्देशक रजौरेका अनुसार ड्रिल गर्नुअघि ‘जियोलोजिकल म्यापको अपडेट’ र ‘सेक्सन मेजरमेन्ट’अन्तर्गत खोलामा गएर चट्टान कति गहिराइमा छ पत्ता लगाउने काम हुनेछ ।
सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्यलाई तीव्रता दिने व्यवस्था गरेको छ ।