पार्टी अराजकहरुको अखडा हुनुहुँदैन

शनिबार, भदौ २०, २०७७

हुतमणि अधिकारी

कहिले हुने हो , निर्धारित समयमा नहुने हो  कि भन्ने आशंका र अन्योल बीच पनि काङ्ग्रेसमा महाधिवेशनको राप र ताप बढ्दै गएको छ। अहिले रेडियो , टिभी , पत्रपत्रिका , अनलाइन मिडिया , विभिन्न सामाजिक सन्जालका भित्ता यसैसंग सम्बन्धित समाचार , बिचार र टिप्पणीले प्राथमिकता पाइरहेका छन् । काङ्ग्रेस नेता कार्यकर्ता महाधिवेशन लाई लक्षित गरेर राजनीतिक तथा अराजनीतिक गतिविधि समेत बढाउँदै लागेका छन् । अराजनीतिक यस अर्थमा कि राजनीतिक संस्कार , मर्यादा, अनुशासन , विधि , पद्धतिका सीमा नाघेर आफ्नै पार्टीका शीर्ष नेता , सहकर्मीहरु बिरुद्ध व्यक्तिगत आलोचना , लान्छना र गाली गलौजमा उत्रिएर बदनाम गर्ने, अपमानित र तेजोबध गर्ने , बहिष्कार गर्ने सम्मका गतिविधि सुनिन, देखिन थालेको छ। यस्तो गतिविधिमा राजनीतिमा नाम चलेका नेता देखि राजनीति संग साइनो नभएका , मात्र नेताको घाँस चर्ने टोले दादा केटा सम्म संलग्न रहेको पाइन्छ ।

लोकतान्त्रिक राजनीतिक पार्टीमा नेता कार्यकर्ताहरु बीच कुनै बिषयमा बिबाद र मतभिन्नता हुनु ,बिभिन्न गुट र लबी हुनु , बहुमत, अल्पमत , फरकफरक मत हुनु स्वभाविक मानिन्छ । यसको व्यवस्थापन कसरी हुन्छ र गरिन्छ त्यो चाहिँ महत्त्वपूर्ण हो । बैधानिक तथा कानुन सम्मत बिधि र पद्धतिको प्रभावकारी व्यवस्था र बाध्यकारी पालनाबाट संगठनलाई सुदृढीकरण र शुद्धीकरण गर्ने प्रणाली बलियो बनाउनुपर्छ। यस्तो हुन सकेन भने पार्टी स्वार्थ समूह र अराजकहरुको अखाडा बन्न सक्ने र लक्ष्य प्राप्तिमा असफल हुँदै गएर कार्यकर्तामा निराशा बढ्ने , छिन्नभिन्न हुन सक्ने र अन्ततोगत्वा पार्टी नै धराशायी बन्न जाने सम्मको खतरा रहन्छ । यसैले पार्टी सन्चालनमा बिधिसम्मत प्रकृयालाइ स्वभाविक रुपमा सन्चालन हुन दिनुपर्छ। पार्टी जीवनमा आवधिक अधिवेशन , नयाँ नेतृत्व चयन जस्ता अनिवार्य र स्वभाविक प्रकृयालाइ अवाञ्छित रुपले प्रभावित गर्ने , आफु अनुकुल नतिजा निकाल्न अनैतिक, अशोभनीय रुपले बल प्रयोग , हस्तक्षेप , अवरोध गर्ने, आश र त्रासमा पार्ने जस्ता क्रियाकलाप गर्न गराउन हुँदैन । यस प्रकारको कामबाट कसैलाई क्षणिक लाभ र बिजय हासिल भए जस्तो लाग्ला तर पार्टीको आन्तरिक चुनावमा पनि बिपक्षी पार्टी संगको जस्तै प्रतिद्वन्द्विता, बलजफ्ती , द्वन्द्व र बैमनस्यता बढाउन थाल्यौं भने आपसी सद्भाव , सहयोग , मित्रता र भाइचारा संकटमा पर्छ , बिभाजनको घाउ गहिरिएर अाक्रोश , शत्रुता र बदलामा परिणत हुन जान्छ । बिगतमा धेरै पटक यस्तो भएको छ, यसको परिणाम र पिडा अहिले आँसु चुहाउँदै व्यहोर्नुपरेको यथार्थ हामी सामु छर्लङ्ग छ । यसबाट अहिले देखि नै पाठ सिक्नु पर्छ, सजग सचेत हुनुपर्छ , भोलि फेरि पछुतो मानेर पुर्पुरोमा हात लाउन नपरोस्।

पार्टी एउटा ठूलो परिवार हो , यहाँका सबै मेरा हुन् , नेतृत्वमा जो आए पनि ,जो भए पनि हुन्छ । अब नेतृत्वमा आउनेहरु योग्य आउन् , सक्षम आउन् , राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बुझेर नयाँ परिपाटीमा चल्न र चलाउन सक्ने अाउन्। संगठनलाई अघि बढाउने , नयाँ गति र पद्धतिमा लैजाने, पार्टीलाई नयाँ बिचार,दृष्टिकोण दिइ दोस्रो बाट फेरि पहिलो बनाउन सक्ने गरि आउन्।बिपिको प्रजातान्त्रिक समाजवादको नयाँ भाष्य लेखियोस्, सैद्धान्तिक बिचलन सच्चियोस्, कार्यक्रम र कार्य दिशा प्रष्टियोस् । अलमल , खलबल टुङि्ङयोस् । तेरो मेरोको घेरो भत्कियोस् ।

जो सुकै आउन् , सबै हाम्रा हुन्, हाम्रा खराब नहोउन् चाम्रा नहोउन्, राम्रा बनुन् । हामी सबैका , सबै हाम्रा भन्ने भावना जगाउन् । फराकिलो सोँच राखुन् , सबैलाई समेटुन् । नेतृत्वमा , शक्तिमा पुगेर एकलौटी र गुटबन्दी नगरीकन सामुहिक भावनाले काम गरुन् । आफु आफुमा सल्लाह , सहमति समन्वय र सहकार्य गरेर चलुन्, देश र जनतालाई केन्द्रमा राखेर काम गरून् , देशमा बिधिको शाशन चलोस् । आम कार्यकर्ता , काङ्ग्रेसका मतदाता , शुभचिन्तकको कामना यही छ, चाहना यही छ।

(लेखक नेपाली काङ्ग्रेस केन्द्रीय संघीय मामिला तथा प्रदेश समन्वय बिभाग सदस्य हुनुहुन्छ ।)