प्रकृति र समाजमा द्वन्द्ववादको प्रयोग

आइतवार, भदौ २१, २०७७

विश्वेश्वर कट्टेल

कुनै पनि पदार्थ वा घटना निष्क्रिय रहँदैन। पदार्थ वा घटना सक्रिय रहनुको मूल कारण पदार्थभित्र रहेका आन्तरिक तत्वबिच चल्ने शक्तिसंघर्ष नै हो। शक्ति पदार्थको आन्तरिक उर्जा हो। त्यो उर्जा पदार्थभित्र नै उत्पन्न हुन्छ। अनुकुल वातावरण पाउनासाथ शक्तिसंघर्ष तेज हुन थाल्दछ। त्यस्तो शक्तिसंघर्ष पक्ष र विपक्ष, सक्रियता र निष्क्रियताबिच चल्ने गर्दछ। पदार्थमा पर्ने दवावको भारअनुसार शक्ति उत्पादन हुन थाल्दछ। जति दवाव बढ्दै जान्छ, त्यति नै अन्तरसंघर्ष सक्रिय बन्दै जान्छ।

दवाव विना पदार्थमा रुपान्तरणको प्रक्रियाले गति लिँदैन। वस्तुगत परिस्थितिले पदार्थमा दवाको सिर्जना गर्दछ। घटना वा पदार्थ माथि परेको दवावले भारजन्य परिस्थिति सिर्जना गर्दछ। भारको चाप थेग्न नसकेपछि पदार्थले विस्थापन र रुपान्तरणको ढोका खोल्दछ। जसका कारण पदार्थमा अन्तरसंघर्ष बृद्धि हुन थाल्दछ। अन्तरसंघर्षले पदार्थभित्र लुकेर रहेका शक्तिहरु वा अस्तित्वलाई बाहिरी सतहमा ल्याउन सहयोग गर्दछ। त्यस समयमा पदार्थले मौजुदा अवस्थालाई निषेध गरेर नयाँ अवस्थाको सिर्जना गर्न पुग्छ। हामी यसलाई रुपान्तरण वा विकास भन्दछौं। यसरी पदार्थ वा घटनाभित्र सिर्जना भइरहने अन्तरनिहित संघर्ष र त्यसले सिर्जना गरेको सक्रियता नै अन्तरसंघर्षको मूल कारण हो।

पद्धतिको निरन्तरता

पूर्ण र अंशबिचको सम्बन्धले जसरी कुनै पनि चिज वा विषयवस्तुको अस्थित्व बोध गराउँछ, त्यसैगरि एकता र अन्तरसंघर्षले पदार्थ र चेतनाको वास्तिवकता बोध गराउँछ। आफू विनाश नहुनु, रुपान्तरण र परिवर्तनका लागि सधैं सक्रिय रहनु नै पदार्थको मूल सिद्धान्त हो। जसका कारण यो चराचर जगत सिर्जना, विनाश र विकासको आरोह अवरोह पार गर्दै आजको अवस्थमा आइपुगेको छ।

द्वन्दको प्रथम तत्व पदार्थ हो। किनकि पदार्थ द्वन्दमय छ। यो सक्रिय तत्व हो। पदार्थ निस्क्रिय रहन नै सक्दैन। हाम्रो यो चराचर जगत पदार्थबाटै निर्माण हुन पुगेको छ। त्यसैले चराचर जगत पनि द्वन्दमय र सक्रिय छ। सक्रियता नै द्वन्दको आधार र नवनिर्माणको जग हो। कुनै पनि वस्तु निरन्तर सक्रिय रहन, निश्चित सन्तुलनमा आधारित र स्वचालित नियम पद्धतिको आवश्यकता पर्दछ । त्यस्तो क्रियालाई हामी पद्धतिको निरन्तरता पनि भन्न सक्छौं।

रुपान्तरण विकास

निश्चित पद्धतिले निरन्तर सक्रिय रहन सक्ने आधार तयार गर्दछ। निरन्तर सक्रियताले अवच्छिन्न अस्तित्वको जन्म दिन्छ। अस्तित्व पहिचान हो। पहिचान उपस्थिति हो। उपस्थिति संघर्षको मूल आधार हो। संघर्ष आफैमा सक्रिय रहन्छ र विकासको जननी बन्न पुगेको छ। यसर्थ संघर्षको विकास नै संघर्षको उपलब्धि र आधार बन्न पुगेको हुन्छ। हामी यसलाई रुपान्तरण र विकास भन्दछौं।

विकासले नै सिर्जनाको जन्म दिएको हुन्छ। सिर्जना आवश्यकताले जन्माउछ भने सिर्जनाले थप आवश्यकताको बोध गराउँछ। आवश्यकताको बोधले पदार्थ वा घटनामाथि दवाव सिर्जना हुन पुग्दछ। दवालले अन्तरसंघर्षलाई बढवा दिन्छ र तेज बनाउँछ। यसरी निरन्तर चल्ने अन्तरसंघर्षको क्रियाप्रतिक्रियाको चक्कर(चक्र)मा आज हाम्रो समाजको अस्थित्व कायम भएको छ। विकास र प्रगतिका ढोका खुलिरहेका हुन्छन्। यसरी निरन्तर रुपमा एकअर्का बिच परिपुरक सम्बन्धका आधारमा चल्ने अन्तरसंघर्षलाई हामी विकासको मूल सिद्धान्तको रुपमा लिन्छौं।

अस्थित्वका लागि काम

काम नै अस्थित्वका लागि गरिने संघर्ष हो। कामको स्वरुप र प्रकृति मौजुदा आवश्यकताले तयार गर्दछ । योजना काम (संघर्ष) शुरु गर्नका लागि बनाइएको एउटा प्रस्तान विन्दू मात्र हो। कार्यक्षेत्रसम्म पुग्दा त्यो धेरै सुधारिएको हुन्छ। योजना सिद्धान्त र व्यवहारबाट प्राप्त ज्ञानको आधारमा तयार गरिएको हुन्छ। काम भनेको योजनालाई कम लागत (क्षति) र बढी उपलब्धिका आधारमा सफल बनाउन गरिएको संघर्ष हो।

व्यवहार ज्ञानको मुख्य स्रोत पनि हो। काम गर्न शुरु गरेपछि कार्य क्षेत्रमा अत्पकालिक र आकस्मिक समस्याहरु देखापर्न थाल्दछन्। त्यस्तो अवस्थामा समस्या समाधान गरी काम (संघर्ष) लाई नयाँ गति र उर्जा प्रदान गर्नुपर्दछ। मानिसको क्षमता पहिचान त्यसवेला थाहा हुन्छ, जुनवेला समस्या परेको हुन्छ। जो सँग क्षमता छ, आफ्नो अस्तित्व रक्षमा उ नै अब्बल बन्न पुग्दछ।

वातावरण पेचिलो विशाल

मानिस चेतनशील प्राणी हो। उसले आवश्यकताका विशाल क्षेत्र देख्न र सोच्न सक्छ। त्यसलाई मानवताको हितमा उतार्न सक्छ। मानवले अनुभूत गर्न सक्ने वातावरण मात्र मानिसको वातावरण हो। उसले अनुभूत गर्न नसकेको वातावरण त्यो भन्दा पेचिलो र विशाल छ। यो संसारमा रहेका जीवजन्तु तथा प्राणी वनस्पतिले अनुभूत गर्ने आवश्यकताले नै यो पृथ्वीमा आफ्ना आफ्नै हैसियत कायम हुन पुगेको हुन्छ। यो समाज वा चराचर जगतका कुनै पनि पद्धति प्रक्रिया र नियमहरुममा कुनै तत्व वा पदार्थले आफ्नो पहिचान दिन गरिने काम भने कै अस्थित्वको लागि गरिएको संघर्ष हो।

जुन दिन अस्थित्व रक्षाको यो संघर्षमा संघर्षरत पक्ष आफ्नो विरोधी शक्तिमाथि हावी हुन पुग्छ, त्यहाँ परिवर्तन भइ नै हाल्छ। पुरानो सत्ताको गर्भबाटै जन्मिएको नयाँ सत्ताले आफ्नो किसिमको सत्ता कायम गर्न पुग्दछ। संघर्षमा पराजित भएछ भने पनि ढिलो चाँडाे जित भने उसकै हुन्छ। किनकि, जब सम्म सम्भावना रहन्छ, तब सम्म क्रान्तिको ढोका खुला नै रहेको हुन्छ यो भनाई मार्क्सको हो।

अन्तरनिर्भरताको चक्र

अन्तरनिर्भरता सत्यको चक्र हो। सत्यको चक्र घुमिरहन्छ। यो एकनाश एकै स्थानमा रहँदैन। सत्यको चक्र प्रकृतिको पद्धतिमा आधारित समाज विज्ञानको चक्र पनि हो। विज्ञानको चक्र भनेको चराचर जगतको पद्धति हो। मानिसले यो पद्धतिलाई अनुबन्धित गरेर समाज विज्ञानको रुपमा अगाडि बढाएको छ। समाज विज्ञानको चक्र भने कै मानव विज्ञानको चक्र हो। मानव विज्ञानलाई खगोल विज्ञानसँग पनि जोडेर हेर्न काम पूर्वीय सभ्यताले शुरु गरेको हो।

पृथ्वी र चन्द्रमाको दूरी भनौं वा सूर्य (सौर्य परिवारका सदस्यहरु) को वा अन्य ग्रह र पीण्डको दूरी किन समान छैन ? पृथ्वी लगायत आकाशीय पीण्डहरुको कक्ष गोल नभएर किन अण्डा आकारको छ ? तर यिनीहरु आफू घुम्दा भने किन गोलगोल घुम्छन् ? यी सब अन्तरनिर्भरताको चक्रका कारण सिर्जित आवश्यकताको उपज हुन्। जुन विन्दूमा पुगेर आफूतिर तान्ने खिचातानी भारको (तराजुको कमानी) तुलना तुल्यतुल्य हुन पुग्यो, दूरी त्यसैले कायम गर्‍याे। कक्ष (Orbit) त्यसरी नै तय भयो। आफ्नो गुरुत्वाकर्षणको क्षमता र आकाशगंगाका पीण्डहरुको भार र अवस्थितिको आवश्यकताले निर्धारण गरेको विन्दू नै दूरी हो।

पारिवारिक संयोग

खगोलमा तारा र ग्रहहरुको दुरी र सिमाना न कुनै मानिसले बनायो न कुनै दैविक शक्तिले तय गरको हो। यो त ग्रह र पीण्डका आ–आफ्नो शक्ति र आफ्नो गतिको आधारमा तय हुन पुगेको हो। गुरुत्वाकर्षणको आकर्षण र विकर्षणको नियम कै कारण जसरी शौर्य परिवार बन्न पुग्यो। सूर्य, तारा वा अन्य ग्रह र पीण्ड आ–आफ्ना परिवार वा अन्तरपरिवार निर्भरताका कारण आकाशमा रहन पुगेका छन्।

यिनीहरु कुनैमा पनि एक तलवितल परेमा त्यसको प्रभाव सबैमा पर्ने निश्चत छ। त्यसैले ग्रह ताराहरु हरेक पल आफ्नो दूरी कायम गर्न र अस्तित्व रक्षका लागि संघर्षरत छन्। आफ्नो शक्ति संघर्षमा टिकिरहेका छन्। परस्पर निर्भरता र सक्रियताका आधारमा। एकको आधारमा अर्को चल्ने। दुवैको आधारमा दुवै चल्ने प्रक्रिया नै परनिर्भरता (परस्पर निर्भरता) हो। यो परनिर्भरता कायम (सन्तुलन) गराउने सम्बोधन गरिनु नै प्रकृति हो। यसरी खगोल पनि प्रकृति हो र भूगोल पनि।

प्रकृति वातावरण

प्रकृतिको सम्बन्ध भनेकै वातावरण हो। वातावरण अर्थात प्रकृतिको बारेमा साङ्ख्य दर्शनले भनेको छ–“विश्व ब्रह्माण्ड कार्य शृङ्खलाको देन हो। कार्यकारण सिद्धान्तअनुसार प्रकृति पुरुषको उत्पादन होइन, बरु स्थूल र सूक्ष्म रुपमा रहने पदार्थको गुण हो, जो व्याख्या गर्न सकिने तत्त्वका रुपमा रहेको छ। प्रकृति कारणहीन छ। यो स्वयं विकसित हुन्छ। व्यक्त अव्यक्त दुवै रुपमा रहन्छ।

प्रकृति ज्ञानको सीमा बाहिर छ। प्रकृति कारण हो भने वस्तुहरु कार्य हुन्। कारणले कार्यलाई सधै संकुचित पार्दछ। प्रकृति भनेकै यो चराचर जगतमा जीवको उत्पति गर्ने मूल आधार हो। प्रकृति शक्ति पनि हो। प्रकृतिका गतिहरु शाश्वत र निरन्तर छन्। प्रत्येक वस्तु प्रकृतिमा आधारित छन्। मानव समुदाय, समाजिक विज्ञान र प्रकृति एक अर्कामा अनुबन्धित हुने अवास्था वातावरणले सिर्जना गरेको हो। प्रकृति भनेकै वातावरण हो। वातावरण भनेकै जीवन हो र जीवका लागि हो।

प्रकृतिमा जीवन

वातावरण र प्रकृतिको अनुभूति जीवित प्राणी मात्रले गर्न सक्छ। किनकि जीव प्रकृतिको उत्पादन हो र जीव नै जीवन हो। मानिस सचेत प्राणी भएकाले प्रकृतिको वातावरणलाई ऋतुअनुरुप आफ्नो जीवन शैलीमा सजाएका छन्। वातावरण प्रकृतिको अनुबन्धित रुप रहेकाले यहाँ हरेक ऋतु आफ्नो निश्चित समयका लागि सक्रिय रहन्छ र परिरवर्तनको माग गरिरहेको हुन्छ। यो चक्र हरेक वर्ष चली नै रहेको हुन्छ। यो नै प्रकृतिको नियम हो। प्रकृतिमा कुनै फेरवदलाव नआएसम्म नियममा पनि फेरवदल आउने छैन।

मानिस ऋतु

मानिसको ज्ञान, सोच्ने क्षमताको विकास र वस्तुगत परिवेशलाई आफ्नो अनुकुल बनाउने कुरामा ऋतुको महत्वपूर्ण भूमिका हुन्छ। ऋतु प्रकृतिको अंश र वातावरणको उपस्थिति हो। ऋतुलाई प्रत्येक महिनामा देखापर्ने वातावरणीय गुणको आधारमा छुट्याइएको पाइन्छ। जसलाई चार वा छ ऋतुको रुपमा छुट्याइएको छ। ऋतुलाई आधार मानेर मानवले प्रकृतिलाई समयअनुकुल सजाउन सकेका हुन्।

प्रकृतिमा सत्व, रज र तमस् तीन किसिमका गुण भएको कुरा शाख्य दर्शनले बताएको छ। यी गुणहरु मानिसले अनुभूति गरेका सुख–दुःखको अनुभूतिबाट प्राप्त भएको बताइएको छ। सत्वलाई ज्ञानको गुण मानेको छ। रज’लाई प्रेरक गुण (जसले मानिसमा उत्साह, हौसला थपिदिने) को रुपमा मानेको छ भने तमस्लाई अज्ञान गुण मानिएको छ।

विश्वका सबै वस्तुहरुमा यी तीनवटै गुण निस्रित भएको पाइन्छ। यी गुणहरु पनि पदार्थको अंश भएका कारण संघर्षरत छन्, सक्रिय र निरन्तर छन्। त्यसैले सत्य, रज र तमस् गुण यी तीनवटै गुण एकै वस्तुमा पनि कहिले सत्य हावी भइरहेको हुन्छ भने उही वस्तुमा कुनै समय रजत त कुनै समय तमस् हावी हुन पुगेको हुन्छ। यस्तो परिवर्तन प्रकृतिको पद्धति, वस्तुको प्रकृति, गुण र स्वभाव अनुरुप परिवर्तित रुपमा देखा परिरहेको हुन्छ। मानिस पनि वस्तुबाट विकास भएकाले उसमा पनि यी तीनवटै गुण हुन्छ। वस्तुगत परिस्थिति र वातावरण अनरुप यिनीहरुको गुणमा पनि परिवर्तन भइरहेको हुन्छ।

अस्तित्व भविष्य    

मानिसले जीवनलाई सुख र सुविधायुक्त तुल्याएको छ। यस क्रममा प्रकृति दोहन अस्वभाविक रुपमा गरेको छ। जसले गर्दा आज हामी बसेको वातावरण दिन प्रतिदिन आफ्नै लागि पनि अनुकुल छैन। यसले अस्थित्वको संकट पैदा गरेको छ र भविष्यलाई अन्धारतर्फको दिशामा मोडिदिएको छ। अस्तित्व र भविष्य भन्ने कुरा वातावरण, प्रकृति र मानवबिच हुने घटना र त्यसको प्रभावको आधारमा तय हुने विषय हो। कुनै पनि पक्षलाई हामी अनुकुलता प्रदान गर्दछौं भने अस्तित्वको लडाइमा पनि अनुकुलताले विजय हासिल गर्दछौं।

प्रतिकूल वातावरणको लागि हामी अग्रसर छौं भने अस्तित्वको लडाइ प्रतिकूलताको संघर्षको पक्षमा रहन पुग्दछ। वातावरणले आफ्नो अस्तित्व कायम गर्न गरिरहेको संघर्षलाई मानव समाजले साथ दिने वा नदिने भन्ने कुराले नै पृथ्वीको भविष्य, अस्तित्व वा पहिचान तय हुन्छ। पृथ्वीको वातावरण शुद्ध र श्वच्छ नभए सम्म सूर्य श्वच्छ हुन सक्दैन। सूर्य श्वच्छ नहुनु भनेको शौर्यमण्डल नै प्रदूषित हुनु हो। हामीले जति सूर्यबाट श्वच्छताको आशा गरेका छौं, सूर्यले पनि हामीबाट त्यही आशा गरेको छ भन्ने कुरा भूल्न हुँदैन।

मानव कोरोना

आवश्यकता र संघर्षको टकरावमा प्रकिृति जति सक्रिय छ मानव त्योभन्दा बढी छ। हुन त मानव पनि प्रकृति र वातावरणकै उपज हो। तर पनि मानिसले प्रकृतिलाई दोहन गरेर त्यसबाट आफूलाई श्रेष्ठता हासिल गरिरहेछ। हामीले यसलाई विकास भनेका छौं। विकास आवश्यकता र संघर्षको उपज हो। आवश्यकताले समयको प्रतिनिधित्व गर्दछ। प्रकृतिको ठेकेदार ठानेको मानवसभ्यता, आज प्रकृतिको सानो उत्पादन कोरोनाको कारण गृहबन्दीको अवस्थामा रहन बाध्य भयो। विश्वमा चक्काजाम भयो। आकास, शौर्य–चन्द्र, र अन्य ग्रहका खोज अभियान स्थगित भयो। रङ्गरस, मोजमस्ती सारा सारा छिनछिनमा गायव भयो।

खै त ! यसले न बिभेद गर्‍याे, न भूगोल हेर्‍याे। आखिर प्रकृति के रहेछ ? यसलाई कसरी सजाउन र सधाउन पर्दोरहेछ भन्ने कुरा विकसित मुलुकमा हजारौं संख्यामा मानिस मरिरहदा पनि विज्ञान जगत भागाभाग गर्नुपर्‍याे। कोरोना जस्ता जीववाणु पनि यो धर्तीमा रहेछन्। त्यसबाट लड्ने शक्ति मानिसभित्रै रहेछ। मानिसले विकासको नामा आफैंसँग भएको सम्पति गुमाएको रहेछ। जसका कारण ऊ बन्दी भएर बस्नुपर्‍याे। उसका कुनै आविस्कार काम लागेन। प्रकृतिको कला र संयोजन क्षमता चिन्न यसले मानिसलाई निर्देश गरेको छ। र, प्रकृतिसँग लिन मात्र हाेइन, हामीले दिन पनि जान्नुपर्दछ भन्ने शिक्षा दिएको छ।

मानवको भविष्य

विश्व आज कोरोनाको कारणभित्र थुनिनुपर्दा मात्र मानिसले आफूलाई चिन्न बाध्य बन्यो। आफ्नो सभ्यताको कमजोरी पत्ता लगाउन पुग्यो। ठूला बंगलाहरु आफुलाई थुन्न बनाइएको जेलजस्तो बन्यो। ठूला होटल रेष्टुराँ सुनसान भए। विश्व मानवको आतेजाते ठप्प भयो। जंगी वोइङहरु थन्किए। समुद् र जंगीबेडाहरु बोकेर मानिसको प्रतिक्षामा बस्न बाध्य भयो।

यो संसारमा कुनै पनि चिज वा वस्तु एकै रुपमा कहिल्यै पनि टिकिरहन सक्दैन। परिवर्तित संसारमा यसको पनि निश्चित समय सीमा हुन्छ। मानव प्रकृतिको निम्सरो उत्पादन हो। मानव पनि पदार्थबाट नै र प्रकृतिको तत्वले बनेको हुन्छ। यो पनि कुनै बेला नष्ट हुन सक्छ। प्रकृतिमा चल्ने हरेक अन्तरसंघर्षमा रहेका हरेक तत्व वा पदार्थसँग यसको सम्बन्ध रहिरहेको हुन्छ।

मानिसमा अझ जटिलता के छ भने यसले दुईतिरको संघर्षमा भाग लिइरहेको हुन्छ। एक त उसको सोचाइका कारण पैदा भएका भावनायुक्त, संवेदनायुक्त, आन्तरिक द्वन्द र अर्को प्रकृतिप्रद्धत्त पदार्थरुपी द्वन्द। प्रकृतिमा पैदा हुने ससाना प्रभावले पनि मानिसलाई असर पारिरहेको हुन्छ। प्रकृतिसँग मानवको सबैभन्दा नजिको नाता छ। प्रकृतिको श्वच्छता र सुन्दरतामा नै मानवको भविष्य उज्वल छ।

बन्ने विच्छेद हुने

सामान्य रुपमा बुझ्दा विकास निरन्तर बन्ने र बिच्छेद हुने क्रमको निरन्तरता हो। बन्नु विकास हो, विच्छेद हुनु थप विकासको प्रयास हो। विकास, विनाश भन्दा एक कदम अगाडि रहन्छ भन्ने ज्ञान हामीमा रहनु पर्दछ। विकास सिर्जना हो, विनाश सिर्जनाको रुपान्तरण हो। विकासको गर्भबाटै विनाशको प्रकृया शुरु भएको हुन्छ। विनास बिना विकासको परिकल्पना गर्न सकिँदैन। विनाश र विकासको अन्तरसंघर्षले नै आजको यो संसार यति शुन्दर बनेको छ। भोलिको शुन्दर संसारको लागि पनि यो अन्तरसंघर्षको क्रम निरन्तर चलि नै रहन्छ र रहनुपर्दछ।

समाज विकासका शुष्मतम आधारहरु खोजी गरी समाज विकासको प्रकृयालाई प्रकृतिको नियम र मानव जीवनको अनुकुल विकास गर्नु आजको आवश्यकता हो। मानिसले प्रकृतिलाई आफ्नो बकौति ठानेकै कारण यसो भएको हो। पुर्खाका नासो प्रकृति हो। पुर्खाका थुप्रै सन्ततिलाई समुन्नत र सम्यता प्रदान गर्न प्रकृतिको संरक्षण र सदुपयोग हाम्रो कर्तब्य बनेको छ। यो ज्ञान चेतना बनी  सबैमा जाग्रत भया।

निरन्तरताको पाटो

विकास रुपान्तरणको परिणाम हो। विनाश रुपान्तरणको तयारी हो। जुन पदार्थ लोप हुन्छ, त्यसैको गर्भमा विकास र सिर्जना हुर्केको हुन्छ। विकास सिर्जना हो। सिर्जना विनाशबाट शुरु हुन्छ र विनाशको अभियानबाटै रुपान्तर र रुपान्तरणबाट सिर्जना हुन पुग्छ। अन्तरसंघर्षमा चल्ने यो चक्रले नै आजको यो अस्तित्व कायम हुन पुगेको छ। मकैको बीऊभित्र रहेको तत्वबाट नै मकैको बोट बन्दछ। मकै लोप हुनु बोट बन्नु। बोट लोप हुनु र मकैका गेडा लाग्नु। विकास र विनाशका प्रवृत्ति र प्रकृति हुन्। यो ऐतिहासिक द्वन्दवादको सैद्धान्तिक मर्म पनि हो।

एउटा बीर्य वा बीज बन्न विभिन्न पदार्थका संघर्ष र रुपान्तरणबाट मात्र संभव हुन्छ। त्यही बीजको अदृष्यावस्थादेखि पूर्ण बन्न आउँदासम्मको अवस्था अध्ययन गर्ने हो भने विकासका सबै तत्वहरु फेला पर्दछन्। विकास निरन्तरताको नाशो हो। यो स्थायी रहँदैन। यसको रुपान्तरण अवश्यम्भावी छ। त्यसैले विकास आज यो आवस्थमा आइपुगेको छ।

प्रभाव सोच

प्रभाव र सोच एकअर्काका परिपुरक छन्। प्रभावले सोचमा परिवर्तन ल्याउँछ र सोचले प्रभावमा परिर्वन ल्याउँछ। जसले गर्दा नयाँनयाँ सिर्जन पैदा गर्दछ। नयाँ नयाँ सिर्जनाले नयाँनयाँ आवस्यकताको  बोध गराउँछ। वस्तुगत स्थिति र मौजुदा वातावरणबाट नै मानवीय सोचमा प्रभाव सिर्जना हुन्छ। वातावरणीय प्रभाव र त्यसले निम्तयाएको पेरिफेरि नै मानवीय सोचको आधार हो। यही सोचबाट नै मानिसले आफ्नो जीवनका आवश्यकता पहिल्याउँछ र पूरा गर्न लागि संघर्षमा भाग लिन्छ।

वस्तुगत अवस्थाको अनुभूतिले पारेको प्रभाव र सिर्जना गरेको सोच, त्यसले तय गरेको कार्यक्रम र उपलब्धि, मानव र प्रकृति बिचका अन्तरसंघर्षका प्रतिफलहरु हुन्। त्यस उपलब्धिको प्रभाव र प्रभाव ग्रहण गर्ने अनुभूति र प्रभावको गोलचक्करबिच चल्ने द्वन्द र संघर्षको नतिजा नै मानिसले खोजेको विकास हो। घटनाको विकासले जहिले पनि परिणामको माग गरिरहेको हुन्छ। परिणाम विकासको द्योतक हो।

प्रभाव सिर्जना

पदार्थमा ठोकिँदा जुन वस्तु देखा पर्दछ, त्यसैको आधारमा प्रभाव सिर्जना हुन पुग्दछ। प्रभाव मानव अनुभूतिको कुरा हो। सामाजिक घटना यसैको प्रतिफल हो। मानिसले पदार्थको प्रभावमा परेको घटनाका कारण थाहा पाउँदैन। किनकि प्रभाव अचेतन मनबाट सुरु हुने यात्रा हो। गन्तव्य चेतनमनसम्म आउँदा म कुन आधारबाट यो गन्तब्य प्राप्त गरें भन्ने कुरा थाहा पाउँदैन। मानिसको चेतन तत्वमा झंकार नभएसम्म उसमा चेतना प्राप्त हुँदैन। जसरी आमाको गर्भबाट बच्चा ननिस्किएसम्म नाङ्गो आँखाले मानिसले बच्चा देख्न सकेको हुँदैन।

गर्भावस्थामा बच्चाको अवस्थिति बुझ्न आज जुन प्रविधि विकास गरेको छ, ज्ञानको त्यही प्रविधिबाट मात्र अचेतन मनबाट शुरु भएको यात्राको दिशा र गति थाहा पाउन सकिन्छ। गर्भ हुन अगाडिको अण्ड र सुक्रकिट, त्यसको उत्पत्ति, मिलन प्रक्रिया र संयोजनको अवस्थाबाट एउटा बच्चा जन्मन पुग्दछ। यो प्रक्रिया थाहा पाउने आधार, प्रभाव र सिर्जनको अवस्थिति नै ज्ञान हो भने यी सबै क्रियाहरु प्रकृति नियमका प्रभाव र सिर्जना हुन्।

कोरोना प्रकृति

प्रकृतिको कला र चाललाई समाज विकासको फ्रेममा राखेर हेर्न सके समाजको वस्तुवादी विकास गर्न सकिन्छ। यो भनेको बच्ने र बचाउने पद्धति हो। समाज सजाउन चाहँदा प्रकृतिलाई जोगाएर मात्र सजाउनुपर्दछ। आज विश्वका विकसित देशहरु बढी मात्रमा किन कोरोना संक्रमणका कारण प्रताडित बन्न पुगे। जहाँ प्रकृतिमाथि बलत्कार भएको थियो। उसको अस्तित्व नै समाप्त पार्ने किसिमले काम भएको थियो। आज त्यहीँका मानिसले अकल्पनीय मृत्युवरण गर्न परिरहेछ।

मानिसका प्रयासहरु सबै विफल भएका छन्। हावा हुरीको बेग समान रोग फैलिँदा रोक्ने क्षमता भएन। विकासका सभ्यता ट्वाँ परेर हेर्न पर्‍याे। ज्ञान, विज्ञान र त्यसका उत्पादनहरु निरिह बन्न पर्‍याे। जहाँ प्रकृतिको अंशहरु बढी छ, माटो हावा पानीको स्वभाविक उपस्थिति छ त्यहाँ संक्रमण र मृत्युदर कम भयो। यसबाट अब मानव सभ्यताले पाठ सिक्ने कि नसिक्ने ?

विकास संघर्ष

विकासले समय पहिचान गराउँछ। पहिचानले हैसियत दर्शाउँछ। हैसियतले आवश्यकताबोध गराउँछ। आवश्यकता मागमा परिणत हुन्छ। मागले आवश्यकता पूर्तिका लागि संघर्ष गर्न प्रेरित गर्दछ। संघर्षले नयाँ आवश्यकताबोध गराउँछ। बोधले अन्तरसंघर्षको वातावरण तयार गर्दछ। र, सो प्राप्तिका लागि थप संघर्ष सिर्जना गर्दै अगाडि बढ्न निर्देश गर्दछ। घटना निरन्तर निरन्तर चलिरहने र जागिरहने अन्तरविरोधको विकासक्रम हो। विकासले नयाँ सोच र सम्बृद्धिका लागि नयाँ मार्गहरु खोजी गर्न प्रेरित गर्दछ। समय सापेक्ष आवश्यकता पूरा गर्न र अन्तरसंघर्षलाई अझ तेज र उच्च बनाउने वातावरण सिर्जना गर्न सघाउँछ। आवश्यकता र अन्तरसंघर्ष निरन्तरत विकासको अभिन्न अङ्ग हुन्। आवश्यकता नै विकासको कारक तत्व हो। विकास घटना हो र यो परिवर्तन उन्मुख र संघर्ष प्रधान हुन्छ।

अन्तरसंघर्षका पक्ष

अन्तरसंघर्षमा सामान्यः दुई पक्ष देखा पर्दछन्। पहिलो पक्ष पीडित जो माग गर्दछ। आफ्नो उपस्थिति वा अस्थित्व जनाउन र अगाडि बढ्न चाहन्छ। दोस्रो पक्ष पीडक जो उसको माग पूरा गरेर वस्तुगत अवस्थालाई आफ्नो अनुकुल बनाउन चाहन्छ वा उसलाई संघर्ष गरेर निषेध गर्न चाहन्छ। यसमा तेस्रो पक्ष भनेको संघर्षको आधार तयार गर्ने पक्ष हो। जेका लागि संघर्ष गरिन्छ त्यसमा प्रयोग हुने वस्तु भनेको तेस्रो पक्ष हो।

अन्तरसंघर्षमा लिने र दिने वा अगाडि बढ्न चाहने र बढ्न नदिने र नचाहने जस्ता पक्षहरुबिच संघर्ष भएको देखिन्छ। यस्तो अवस्थमा संघर्षको स्वरुप र समय वस्तुगत परिस्थितिले तय गर्दछ। पक्ष विपक्षले आफ्नो भूमिका निर्वाह गर्दाका अवस्थामा गरिने कार्यमा जुन शक्तिको आवश्यकता पर्छ वा जुन साधन प्रयोग गर्नुपर्ने हुन्छ त्यो द्वन्दको तेस्रो पक्ष हुन्छ। तेस्रो पक्ष सघर्षको शुरुवातकर्ता, सञ्चालनकर्ता र मध्यस्थकर्ता पनि हो। तेस्रो पक्ष विना अन्तरविरोध, अन्तरसंघर्षको रुपमा सक्रिय हुन सक्दैन।

आवश्यकता परनिर्भरता

आवश्यकता र परनिर्भरता एक अर्कामा परिपुरक छन्। विरोधको आफ्नै आवश्यकताका क्षेत्र हुन्छ। कुनै तत्व वा विषय वस्तुसँग तुलना नगरी आवश्यकता महशुस गर्न सकिँदैन। तुलना भनेको ऊप्रतिको निर्भरता पनि हो। निर्भरता कम गर्न थालिने अन्तरसंघर्ष भनेको तुलना हो। आवश्यकता पूर्ति गर्न एकसँग अर्कोले आड र भर लिएको अवस्था हुन्छ। जसबाट उसले शक्तिको भरणपोषण गर्दछ। सीप, ज्ञान र साधन प्राप्त गरी द्वन्दलाई आफ्नो पक्षमा सक्रिय बनाउन प्रायसरत रहन्छ । र, त्यो संघर्षको साधनको रुपमा प्रयोग हुन आउँछ।

अन्तरविरोधको अवस्था सम्म पहिलो र दोस्रो पक्ष नै प्रधान हुन आउँछ। जब, अन्तरसंघर्ष सुरु हुन्छ त्यसमा तेस्रो पक्ष प्रधान हुन थाल्दछ। तेस्रो पक्ष शक्ति र सुरक्षाको पक्ष पनि हो। र, यो शुरुवातको पक्ष पनि हो। द्वन्द चल्दा तेस्रो पक्ष प्रधान हुन आउँछ। तेस्रो पक्ष जति मजबुत हुन्छ, द्वन्द त्यति कामयावी हुन पुग्छ।

हामी जे काम गर्दा पनि एक्लै त शुरु गर्न सक्दैनौं। हामी अगाडि बढ्न केही चिजको आड भरोसा त लिनैपर्ने हुन्छ। त्यस्तो वेला आफुसँग जे छ त्यहीको आड भरोसा लिएर अगाडि बढ्न खोज्छ। जसरी हामी पाइला चाल्दा एक पाइलाले जमिन आड लिएपछि मात्र अर्को पाइला चालेर अगाडि बढ्न सक्छौ‌ं।

रकेट प्रक्षेपण गर्न हावामा दिने दवावमा पनि यही अन्तरविरोधको नियम लागु हुन्छ। यसरी अन्तरविरोधले परिवर्तनको सङ्खघाेष गरिरहेको हुन्छ। कतिपय अवस्थामा यस्तो प्रकृया बलात् पनि हुन्छ र कतिपय स्वर्फूत सिर्जित हुन्छ। संघर्षको उठानका दौरान कतिपय अवस्थामा बलात् अवस्था पनि सिर्जना हुन सक्छ। जब आन्दोलनले एउटा गति र दिशा समातिसकेको हुन्छ, यो स्वतस्फूर्त अगाडि बढ्न पुग्छ।

कहिल्यै नटुट्ने प्रक्रिया

अन्तरविरोध चाहँदैमा शुरु हुने र चाहँदैमा हल हुने विषय पनि होइन। एकपटक हल भएपछि अब अन्तरविरोध जाग्दैन भन्ने पनि होइन। यो त समय हो, गति हो वास्तवमा भन्ने हो भने यो नै जीवन हो। जीवनले वस्तुगत परिस्थितिको आवश्यकता माग गर्दछ। आवश्यकताको माग नै विकासको आधार हो। जसरी समय अगाडि निरन्तर बढिरहेको हुन्छ, त्यसैगरी आन्तरविरोधको प्रकृया पनि कहिल्यै नटुटी अवछिन्न अगाडि बढिरहेको हुन्छ। फरक यत्ति हो, अन्तर विरोधमा आरोह अवरोहहरू देखा पर्छन्, सक्रियता र निष्कृयताको अवस्था आउन सक्छ। जस्तो अवस्था भए पनि समय एकनाश गतिमा अगाडि बढिरहेको हुन्छ। समयलाई सीमित गर्न पनि सकिँदैन। अन्तरविरोध कहिलेकाही सीमित हुन सक्छ। तर निमिट्यान्न भने हुँदैन। केवल यसलाई त सजकतापूर्वक अपनाउन सकिन्छ। किनकि यो कहिल्यै नटुट्ने प्रक्रिया हो।

प्रभाव वर्चश्व

प्रभाव र वर्चश्वको लडाइ नै अन्तरविरोध हो। अन्तरविरोध संबद्ध पक्षहरूबिच चल्ने क्रिया प्रतिक्रिया पनि हो। आवश्यकताका लागि नै द्वन्दरत पक्षहरुबिचमा प्रभाव र वर्चश्व गाँसिकएका हुन्छन्। प्रभाव र वर्चश्व कायम गर्न हुने संघर्षले एक अर्काका नजिक तुल्याइरहेको हुन्छ। प्रभाव र वर्चश्वबिचको आवश्यकता पूर्ति गर्ने क्रमले अन्तरद्वन्दको जन्म हुन पुगेको हुन्छ। यो दुवैको आवश्यता भएकाले बाध्यकारी हुन्छ र दुवै पक्षहरूबिच निसर्त स्वीकारिएको हुन्छ। यसमा जुन पक्षले संघर्षलाई तेज रुपमा विकास गरिरहेको हुन्छ, द्वन्दमा सक्रिय पहलकदमी लिइरहेको हुन्छ, त्यसले आफ्नो प्रभाव र वर्चश्व कायम गरी परिवर्तनका नयाँ क्षितिजहरू उघारिरहेको हुन्छ।

र, अन्तमा,

एकको आधार अर्कालाई र अर्काको आधार अर्कोलाई जस्तो गरी एक अर्काको आधार बनी अघि बढ्ने प्रक्रियाले परिणामतः अन्तरद्वन्दमा सहभागी दुवै पक्षलाई विकसित र संमृद्ध तुल्याइरहेको हुन्छ। उनीहरुका नयाँ नयाँ आवश्यकता सिर्जना हुन पुगिरहेको हुन्छ। नयाँ सिर्जनाले नयाँ चेतनाको उजागर गर्दै नयाँ द्वन्दका अन्तरसंघर्षहरु विकसित हुदै गरेको हुन्छन्। जति अन्तरद्वन्द चुलिदै वा विकसित हुँदै गर्दछ, त्यति नै विकास र परिवर्तनको नयाँनयाँ श्र‌ङ्खलाहरू, नयाँ स्वरुपहरू, जन्मर्दै अगाडि बढिरहेका हुन्छन्।

द्वन्द र अन्तसंघर्षका हरेक उपलब्धिहरुले आफ्ना छाप छाडेका हुन्छन्। हामी त्यसको समष्टिलाई विगत र इतिहास भन्छौं। विगतले देखाएको समग्र परिवेशलाई विकास भन्दछौं। विकासले ल्याएका सकारात्मक वा नकारात्मक परिवर्तनलाई त्यसको गुण वा विशेषता भन्दछौं। द्वन्दले ल्याएको विकास, समयको विकास हो। समयको विकास जीवनको समुन्नत पक्ष र लक्ष हो। समयले ल्याएको परिवर्तन, सोच र चिन्तनबाट नै विकास र परिवर्तनका खाका तयार हुने गर्दछन्। समयलाई चिनेर वस्तुगत अवस्थाको आधारमा विज्ञानको उपलब्धीलाई जीवन व्यवहारमा बाध्न सकेमा मानव समुदायले आफ्नो सभ्यतालाई प्रकृतिको पद्धतिमा आबद्ध गरेर युग सजाउने कला सिक्न सक्ने थियो। जहाँ न्याय, समानता, एकता विकास र प्रगतिका हरेक चरणमा, समाजका हरेक पक्ष र पाटामा सिर्जशिल भएर देखा पर्दथे। एउटा नवीन सभ्यताको शुरुवात हुने थियो, अस्तु…।