समाचार

करदाता सेवा कार्यालय छ, कर्मचारी छैनन

By मनासलु

September 04, 2020

 भदौ १९, गाेरखा ।

गोरखामा यहि भाद्र १५ गतेदेखि शुरु भएको करदाता सेवा कार्यालयमा कर्मचारीको अभाव हुदा सेवाग्राहीलाई सेवा प्रदान गर्न समस्या भएको छ । कार्यालय शुरु भए लगत्तै सेवाग्राही चाप बढी नै रहेको कर कार्यालयमा अहिले ६ जना कर्मचारीको दरबन्दी भएपनि अहिले २ जना कर्मचारीले मात्र सेवा दिनुपर्ने बाध्यता रहेको कार्यालयका प्रमुख करअधिकृत रमेश खड्काले जानकारी दिए ।

कार्यालयबाट करचुक्ता प्रमाण पत्र, नयाँ स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र, पान नम्बरमा व्यवसायीको नाम परिवर्तनदेखि करदाताका सबै काम हुने उहाँले बताउनुभयो । प्रमुख खड्काले कर्मचारीको अभावका ठूला करदाताहरुको करचुक्ता प्रमाणपत्र दिनुपर्ने अहिले पनि दमौली कार्यालयको भर पर्नुपर्ने बाध्यता रहेको उनकाे भनाइ छ ।

‘ठूला करदाताको कर चुक्ता प्रमाण पत्र त उपलब्ध गराउनु पर्दा दमौली शाखाबाट इमेल मार्फत मगाएर प्रिन्ट गरेर दिने गरेका छौ, उहाँले भन्नुभयो, यहीँबाट तयार पारेर उपलब्ध गराउन कर्मचारी छैन ।’ प्रमुख खड्काले एक जनासम्म नायब सुब्बा भए ति सेवा पनि उपलब्ध गराउन सक्ने अबस्थामा रहेको बताए ।