समाचार

देशमा बाढीपहिरोबाट भएको क्षतिप्रति उपराष्ट्रति पुनद्वारा दुःख व्यक्त

By मनासलु

September 04, 2020

काठमाडौं : उपराष्ट्रति नन्दबहादुर पुन ‘पासाङ’ले बुधबार राति बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ३ मोबाङमा आएको बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले शुक्रबार वक्तव्य जारी गरेर बाढीपहिरोले बागलुङको मोबाङ, अछामको सैनीबजारलगायत विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

उपराष्ट्रपति पुनले बाढीपहिरोका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । “बाढीपहिरोका कारण ज्यान गुमाउनुभएका दिदीबहिनी तथा दाजुभाइप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु”, उनले वक्तव्यमा भनेका छन्, “उहाँहरुका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु ।”

उपराष्ट्रपति पुनले बागलुङको ढोरपाटनमा बाढीपहिरोमा परी बेपत्ता भएकाको अवस्थाका बारेमा चिन्ता व्यक्त गर्दै बेपत्ताहरुको खोजमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले गरिरहेका प्रयासलाई अझै प्रभावकारी बनाउन आग्रह गरेका छन् । उनले बाढीपहिरोबाट विस्थापितहरुका लागि प्रयाप्त राहत र घाइतेहरुको उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले वर्षायाममा बाढीपहिरो र डुबानका कारण ज्यान गुमाएकाका परिवारजनलाई आर्थिक सहायता दिन र घरविहीन भएकाको घर निर्माणमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । “यस वर्षको वर्षायाममा बाढीपहिरो, डुबानका कारण सयौं नेपाली दिदीबहिनी तथा दाजुभाइहरुले जीवन गुमाउनुभएको छ । सयौँ परिवारले आफ्नो घर, जग्गा गुमाउनुभएको छ र विस्थापित हुनुभएको छ”, वक्तव्यमा भनिएको छ, “म बाढीपहिरोका कारण जीवन गुमाउनु भएका परिवारका लागि उचित सहायताको व्यवस्था गर्न, अभिभावक गुमाएका बालबालिकाको शिक्षा लगायतको जिम्मेवारी लिन, घरविहीन भएकाहरुको घर निर्माणमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

उपराष्ट्रपतिले भौगर्भिक अवस्थिति, भूकम्प तथा अव्यवस्थित विकास निर्माणको कार्यले देशभर दर्जनौँ मानव बस्तीहरु बाढीहिरोको जोखिममा रहेको उल्लेख गर्दै बाढीपहिरोबाट हुने क्षति न्यूनीकरण गर्न जोखिममा रहेका मावन बस्तीको सुरक्षित स्थानमा स्थानान्तरण र व्यवस्थित बस्ती विकास एकमात्र विकल्प भएको बताएका छन्। उनले जोखिममा रहेका बस्तीहरुको सुरक्षित स्थानमा स्थानान्तरण र व्यवस्थित बस्ती निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै जोखिमपूर्ण बस्तीमा रहेका परिवारलाई पनि सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।

“विभिन्न अध्ययनका आधारमा जोखिममा देखिएका बस्तीलाई यथाशक्य चाँडो सुरक्षित स्थानमा स्थानान्तरण गर्न र व्यवस्थिति बस्तीको विकास गर्न म सबै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु”, उपराष्ट्रपतिले आफ्नो वक्तव्यमा भनेका छन्, “साथै जोखिमपूर्ण बस्तीमा रहनुभएका परिवारजनलाई आफ्नो पूख्र्यौली थातथलो छोड्न अप्ठ्यारो महसुस भए पनि सुरक्षित स्थानमा स्थानान्तरण गर्ने सरकारको प्रयासमा साथ दिन आग्रह गर्दछु ।”