भदाै २० बाग्लुङ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वाढीपीडितको सहयोगको लागि प्रदेश सरकार सँधै सँगै रहेको बताएका छन् ।
यही भदौ १७ गते राति आएको बाढीले उजाड बनाएको ढोरपाटन नगरपालिकाको बोबाङ गाउँमा राहत सहित स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री गुरुङले भने- प्रदेश सरकार घरविहीनहरुलाई एकीकृत बस्ती निर्माण गर्ने तयारीमा छौ, नगरपालिकाले जग्गा उपलब्ध गराइदिनुपर्यो ।
बाढी पीडितको समस्या सुन्दै मुख्यमन्त्री गुरुङले पीडित परिवारले चाहे अनुसारको घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “पीडितले चाहेअनुसारको घर निर्माणमा सङ्घ सरकारले प्रदान गर्ने रकममा प्रदेश सरकारले थप्नेछ”, मुख्यमन्त्री गुरुङले भने– एकीकृत बस्ती निर्माण गर्यौ भने सदाका लागि सुरक्षित हुन सकिन्छ
वाढीले क्षति पुगेको विद्यालय, जलविद्युत् आयोजना, स्वास्थ्य एकाइ तथा सडक निर्माणमा जिल्लामा हालै स्थापना गरेको पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिने बताए । “प्रदेश सरकार तपाईंको दुःखमा साथ दिन यहाँ आएको हो, सक्दो सहयोग गर्छौं, बस्ती पुनःनिर्माण गर्ने गरी तत्कालै क्षतिपूर्तिको व्यवस्था हुन्छ”, गुरुङले भने ।
स्थलगत निरीक्षणमा गुरुङसहित आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, बागलुङबाट निर्वाचित गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा, खिमविक्रम शाहीलगायत बाढीग्रस्त क्षेत्रमा पुगेका थिए । अत्यावश्यक राहत सामग्रीसहित सनाखत भएका मृतकका १३ परिवारलाई प्रतिपरिवार ५० हजार नगदका दरले राहतसमेत प्रदान गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार हेलिकप्टरमार्फत बाढीग्रस्त क्षेत्रमा पुगेका मुख्यमन्त्री गुरुङले ४० परिवारलाई भाँडाकुँडा, टेन्ट, म्याटेस्ट सहितका अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेका थिए । अन्य पीडितहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत राहत उपलब्ध गराइने छ । हालसम्म भुजीखोलाको बाढीमा परी १५ जनाको मृत्यु भइसकेको छ भने अझै २३ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । घटनास्थलको निरीक्षण र राहात सामग्री लिएर शुक्रवार संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा समेत पुगेका थिए ।