Breaking News

संविधान दिवस २०७७ को अवसरमा सभामुखद्वारा जारी शुभकामना सन्देश

By मनासलु

September 19, 2020

सँविधान दिवसकाे अवसर पारेर प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकाेटाले एक शुभकामना सन्देश जारी गरेका छन् । हेराैँ शुभकामना सन्देश ।

सँविधान दिवस, २०७७ को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवम् दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । संविधान सभामार्फत् संविधान जारी भई लागू भएको पाँच बर्ष पूरा भएको छ । विभिन्न सशस्त्र संघर्ष र जनआन्दोलनहरुको परिणामस्वरुप गठन भएको संविधान सभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गरिएको थियो ।

संविधान दिवसको अवसरमा म महान जनयुद्ध, १९ दिने जनआन्दोलन एवम् विभिन्न संघर्षका क्रममा जीवन आहूति दिनु भएका सम्पूर्ण महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते तथा अपाङ्ग हुनुभएका एवम् तत्कालीन राज्यसत्ताबाट बेपत्ता पारिनुभएका योद्धाहरुको उच्च बलिदानी भावको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । उहाँहरुको साहस, अग्रगामी परिवर्तनको तीव्र इच्छाशक्ति एवम् बलिदानीपूर्ण संघर्षका कारण नेपालको संविधान निर्माण सम्भव भएको हो । यो संविधान नेपालका अग्रगामी परिवर्तन पक्षधर जनताहरुको संघर्ष र महान सहिदहरुका बलिदानको प्रतिफल हो । यस अवसरमा संविधान निर्माण प्रक्रियामा सामेल हुनुभएका महानुभावहरुको योगदानकोे स्मरण गर्दै सम्पूर्णमा उच्च सम्मान व्यक्त गर्दछु ।

संविधान एउटा गतिशील दस्तावेज हो । यही संविधान अनुसार देश संघीय प्रणालीमा गएको हो र यसले स्थानीय तह र प्रदेश तहको संवैधानिक व्यवस्था भएको हो । २०७४ सालमा भएका तीन तहका निर्वाचनपश्चात् मुलुकभर ७ सय ६१ सरकार निर्माणसँगै संविधानको कार्यान्वयनले गति लिएको छ । संघ, प्रदेश र स्थानीय तहमा कानुन निर्माण भई लागु भएका छन् । संविधानको भाग ३ मा ३१ वटा मौलिक हकको व्यवस्था छ । मौलिक हक कार्यान्वयनका लागि धारा ४७ अनुसार कानुनहरु निर्माण भएका छन् । नीति निर्माण तथा राज्यका विभिन्न संयन्त्रमा समावेशिताको व्यवस्था गरिएको छ । १३ वटा संवैधानिक निकाय गठन भएका छन् । संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) कानुन बनेको छ । संविधानसँग बाझिएका कानुनहरु संशोधन भइसकेका छन् । प्रदेश र स्थानीय तहहरुले आफ्ना एकल अधिकार अन्तर्गतका कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएका छन् ।

नेपालको संविधानको धारा १०९ मा संघीय संसदको व्यवस्थापिकीय अधिकार, धारा १९७ मा प्रदेश सभाको व्यवस्थापिकीय अधिकार र धारा २२१ मा स्थानीय तहको व्यवस्थापिकीय अधिकारको व्यवस्था गरिएका कारण तीनवटै तहले कानुनको निर्माण गर्ने अधिकार राख्दछन् र आवश्यकताअनुसार कानुनको निर्माण र कार्यान्वयन गरिरहेका छन् । संविधानमा भएका व्यवस्था कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएकोले त्यसमा प्रभावकारी ढंगले लाग्नुपर्ने आवश्यकता छ । संघ, प्रदेश र स्थानीय तह बीचका साझा अधिकारका क्षेत्राधिकार र प्रतिफलको हिस्साका सम्बन्धमा विवादहरु सृजना हुन नदिन सचेत बन्नुपर्ने छ । संविधानअनुरुप निर्माण भएका ऐनका नियमावली निर्माणमा ढिलाई भएको गुनासा सम्बोधन गर्नुपर्ने छ । कानुन बन्ने तर नागरिकले प्रतिफल प्राप्त गर्न नसक्ने अवस्था आउन नदिनेतर्फ सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छु । अन्त्यमा, यस विशेष दिनमा हामी सबैलाई संविधानको मर्म र भावनाअनुसार काम गर्न प्रेरणा मिल्नेछ भन्ने शुभकामना दिन चाहन्छु ।

अग्नि प्रसाद सापकाेटा

सभामुख