म यहाँको चोकमा उभिएर थाकिसकेँ शालिक हुँ परिचय दिएर थाकिसकेँ
आफ्नै बगरको प्यास मेट्न सकिएन समुन्द्र हुँ नदिहरु पिएर थाकिसकेँ
देखिदै हिड्न मन थियो भरी बजारमा झुम्का न हुँ कपालले छोपिएर थाकिसकेँ
उसले टाढाको नजर देख्दै देख्दैन म पावरवाला चश्मा दिएर थाकीसकेँ
बात नै बातमा बात नै भुलिसकेछु बर्षौदेखि बातमै अल्झिएर थाकिसकेँ
उसको अनुहारले मेरो पिच्छा छोडेन अभागी ऐना हुँ टुक्रिएर थाकिसकेँ
अझै भाँचिदैन किन यो पुरानो हाङ्गो धेरै दिन भयो झुन्डिएर थाकिसकेँ
ए जमाना! तेरो जमाना तँ नै सम्हाल मैले वजन काँधमा लिएर थाकिसकेँ
छोड “सलामी” छानोका कुरा के सम्झिनु क-कसले ढुङ्गा हान्यो सम्झिएर थाकिसकेँ
विपिन सलामि